नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नेपालको पुँजी बजारमा लगानीका नयाँ अवसर विस्तार गर्ने उद्देश्यसहित विभिन्न वित्तीय उपकरणको विकास तथा सञ्चालनका लागि अध्ययन प्रक्रिया अघि बढाएको छ । यसका लागि बोर्डले नयाँ वित्तीय उपकरण विकास तथा सञ्चालन व्यवस्थापनसम्बन्धी समिति गठन गरेको छ ।
नेपालको पुँजी बजारलाई थप पारदर्शी, विश्वसनीय र लगानीकर्तामैत्री बनाउँदै बजारको गहिराइ तथा विविधीकरण गर्ने लक्ष्यसहित समिति गठन गरिएको बोर्डले जनाएको छ ।
बोर्डका कामु कार्यकारी निर्देशकको संयोजकत्वमा गठन भएको समितिमा नेपाल राष्ट्र बैंकका निर्देशकस्तरका प्रतिनिधि, नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रतिनिधि, मर्चेन्ट बैंकर्स एसोसिएसन अफ नेपालका प्रतिनिधिसहित सात सदस्य रहेका छन् ।
समितिले नेपालको धितोपत्र बजारलाई परम्परागत सेयर कारोबारमा मात्र सीमित नराखी विभिन्न वित्तीय उपकरणको कारोबार गर्न सक्ने बहुआयामिक बजारका रूपमा विकास गर्न आवश्यक अध्ययन गर्नेछ । यसअन्तर्गत कर्पोरेट ऋणपत्र, सरकारी ऋणपत्र, नगर ऋणपत्र, हरित ऋणपत्र, पूर्वाधार ऋणपत्रलगायतका उपकरणको विकास तथा सञ्चालनका लागि आवश्यक कानुनी, प्राविधिक र संस्थागत संरचनाबारे अध्ययन गरिनेछ ।
त्यसैगरी, सामूहिक लगानी कोष, घरजग्गा लगानी कोष तथा पूर्वाधार लगानी कोषजस्ता वैकल्पिक लगानीका माध्यमलाई समेत बजारमा भित्र्याउने विषय समितिको कार्यक्षेत्रमा समेटिएको छ । यसले सेयर बजारबाहेक अन्य क्षेत्रमा लगानी गर्न चाहने लगानीकर्ताका लागि नयाँ विकल्प सिर्जना गर्ने अपेक्षा गरिएको छ ।
सेबोनले सार्वजनिक गरेको ‘नेपालको पुँजी बजार विकास मार्गचित्र, २०८३’ मा पनि बजारको गहिराइ र विविधीकरणका लागि विभिन्न वित्तीय उपकरण विकास गर्ने लक्ष्य राखिएको छ । सोही मार्गचित्र कार्यान्वयन गर्ने क्रममा नयाँ वित्तीय उपकरणको विकास तथा सञ्चालनका लागि आवश्यक पूर्वाधार तयार पार्न समिति गठन गरिएको हो ।
समितिको पहिलो बैठक आइतबार बसेको छ । बैठकले नयाँ वित्तीय उपकरणको अवधारणा, आवश्यक कानुनी व्यवस्था, बजार संरचना तथा प्राविधिक तयारीसम्बन्धी काम अघि बढाएको बोर्डले जनाएको छ ।
यसका अतिरिक्त वस्तु तथा मुद्रा विनिमयसँग सम्बन्धित भविष्यमा गरिने कारोबारका उपकरण (फ्युचर्स) को विकास र सञ्चालनबारे पनि समितिले अध्ययन गर्नेछ । यस्ता उपकरणलाई चरणबद्ध रूपमा धितोपत्र बजारमा भित्र्याउन आवश्यक कानुनी व्यवस्था र प्राविधिक पूर्वाधार निर्माणलाई प्राथमिकता दिइनेछ ।
नयाँ वित्तीय उपकरणको विकास र कारोबार सञ्चालनमा आएपछि लगानीकर्ताले आफ्नो जोखिम क्षमता र लगानीको उद्देश्यअनुसार विभिन्न क्षेत्रमा लगानी गर्ने अवसर पाउने बोर्डको अपेक्षा छ । साथै, बजारमा नयाँ लगानीकर्ता तथा संस्थागत लगानीकर्ताको सहभागिता बढाउन र नेपालको पुँजी बजारलाई थप विविधतायुक्त बनाउन सहयोग पुग्ने विश्वास बोर्डले लिएको छ ।


