नेपाल फाइनान्स लिमिटेडको खुद नोक्सानी चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा करिब ५० प्रतिशतले घटेको छ । खुद ब्याज आम्दानीमा भएको उल्लेख्य वृद्धि र कर्जा नोक्सानी व्यवस्थाबापतको खर्च घटेपछि कम्पनीको वित्तीय अवस्थामा सुधार देखिएको हो । यद्यपि, नोक्सानी घटे पनि कम्पनी अझै नाफामा फर्किन सकेको छैन ।
कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार असोज मसान्तसम्म खुद नोक्सानी २ करोड ९९ लाख ५२ हजार रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनी ५ करोड ९५ लाख ६० हजार रुपैयाँ घाटामा थियो । यसअनुसार कम्पनीको खुद नोक्सानी ४९.७१ प्रतिशतले घटेको हो ।
कम्पनीको खुद ब्याज आम्दानीमा भने उल्लेख्य सुधार देखिएको छ । अघिल्लो वर्षको पहिलो त्रैमासमा १ करोड ८० लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी ९३.९२ प्रतिशतले बढेर ३ करोड ४९ लाख रुपैयाँ पुगेको छ । कुल ब्याज आम्दानी ७.८५ प्रतिशतले बढ्नु र ब्याज खर्च १५.३१ प्रतिशतले घट्नुले यस्तो आम्दानी बढाउन सहयोग गरेको हो ।
त्यस्तै, कम्पनीको कोषको लागत ६.५० प्रतिशतबाट घटेर ४.७९ प्रतिशतमा झरेको छ । आधारदर पनि अघिल्लो वर्षको ८.९० प्रतिशतबाट घटेर ७.३७ प्रतिशत कायम भएको छ ।
कम्पनीको निष्क्रिय कर्जा अनुपात भने बढेको छ । अघिल्लो वर्षको पहिलो त्रैमासमा १३.१० प्रतिशत रहेको कुल निष्क्रिय कर्जा अनुपात चालु आवको असोज मसान्तसम्म १३.७४ प्रतिशत पुगेको छ ।
त्यसैगरी, कम्पनीको कुल वितरणयोग्य नोक्सानी २२.१६ प्रतिशतले बढेर ४० करोड ६३ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो नोक्सानी ३३ करोड २६ लाख रुपैयाँ थियो ।
यद्यपि, कर्जा तथा अन्य नोक्सानी व्यवस्थाबापतको इम्पेयरमेन्ट खर्च ५५.८६ प्रतिशतले घटेर २ करोड ३७ लाख रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष यस्तो खर्च ५ करोड ३७ लाख रुपैयाँ थियो ।
कम्पनीको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ८५ पैसा ऋणात्मक रहेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ७ रुपैयाँ ८४ पैसा ऋणात्मक थियो । ७७ करोड ८१ लाख रुपैयाँ चुक्तापुँजी रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १२३ रुपैयाँ ४ पैसा छ । पुँजी पर्याप्तता अनुपात भने २८.२७ प्रतिशतबाट घटेर २६.९० प्रतिशत कायम भएको छ ।


