Banijya News

नाफामा फर्कियो गोर्खाज फाइनान्स, ईपीएस ३१ रुपैयाँ ९ पैसा कायम

1
1.0K Shares

गोर्खाज फाइनान्स लिमिटेड चालु आर्थिक वर्षको पहिलो त्रैमासमा वित्तीय सुधार गर्न सफल भएको छ । खुद ब्याज आम्दानीमा भएको वृद्धि, कर्जा नोक्सानी व्यवस्थाको रकम फिर्ता (रिभर्सल) र निष्क्रिय कर्जामा आएको कमीले कम्पनी घाटाबाट नाफामा फर्किन सफल भएको छ । यद्यपि, विगतको सञ्चित घाटाका कारण कम्पनीको कुल वितरणयोग्य नतिजा अझै ऋणात्मक छ ।

कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार असोज मसान्तसम्म ६ करोड ७४ लाख ६९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४ करोड २४ लाख १५ हजार रुपैयाँ खुद घाटा व्यहोरेको थियो । यससँगै कम्पनीको खुद नतिजामा एक वर्षको अवधिमा करिब १० करोड ९८ लाख रुपैयाँको सुधार आएको छ ।

समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी २१.७४ प्रतिशतले बढेर ९ करोड ७४ लाख ७८ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो आम्दानी ८ करोड ७ लाख रुपैयाँ थियो । कुल ब्याज आम्दानी १०.७९ प्रतिशतले घटे पनि ब्याज खर्च ३३.२४ प्रतिशतले घटेकाले खुद ब्याज आम्दानीमा वृद्धि भएको हो ।

कम्पनीको नाफा सुधारमा कर्जा तथा अन्य सम्भावित नोक्सानी व्यवस्थाको रिभर्सलले महत्वपूर्ण भूमिका खेलेको छ । गत वर्ष पहिलो त्रैमासमा यस शीर्षकमा ५ करोड ५२ लाख ४१ हजार रुपैयाँ खर्च लेखेको कम्पनीले चालु आवको सोही अवधिमा ८ करोड २१ लाख १० हजार रुपैयाँ रिभर्सल गरेको छ । यसले करअघिको नाफामा उल्लेख्य सकारात्मक प्रभाव पारेको छ ।

त्यस्तै, शुल्क तथा कमिसनबाट हुने खुद आम्दानी ४३.४० प्रतिशतले बढेर ८९ लाख ६६ हजार रुपैयाँ पुगेको छ । यससँगै प्रोभिजन समायोजनअघिको कुल सञ्चालन आम्दानी २३.६० प्रतिशतले वृद्धि भई १० करोड ७६ लाख ७० हजार रुपैयाँ पुगेको छ । कर्मचारी खर्च ३४.३६ प्रतिशतले बढे पनि अन्य सञ्चालन खर्च २९.५३ प्रतिशतले घट्दा कुल खर्चको वृद्धि ३.१५ प्रतिशतमा सीमित भएको छ । यसले गर्दा गत वर्ष ३ करोड १२ लाख रुपैयाँ ऋणात्मक रहेको सञ्चालन नतिजा यसपटक १२ करोड ४७ लाख रुपैयाँ नाफामा पुगेको छ ।

कम्पनीको खराब कर्जाको अवस्थामा पनि सुधार देखिएको छ । गत वर्ष २०.९४ प्रतिशत रहेको कुल निष्क्रिय कर्जा अनुपात घटेर १३.४५ प्रतिशतमा झरेको छ । त्यस्तै, खुद निष्क्रिय कर्जा अनुपात ५.४४ प्रतिशतबाट घटेर ३.३५ प्रतिशत कायम भएको छ ।

कम्पनीको पुँजी पर्याप्तता अनुपात १०.७८ प्रतिशतबाट बढेर १७.५१ प्रतिशत पुगेको छ । प्राथमिक पुँजी अनुपातसमेत ८.३७ प्रतिशतबाट बढेर १४.२८ प्रतिशत कायम भएको छ । त्यस्तै, कोषको लागत ४.६४ प्रतिशतबाट घटेर ३.२४ प्रतिशत र आधार दर ८.१५ प्रतिशतबाट घटेर ६.१० प्रतिशतमा आएको छ ।

यद्यपि कम्पनीको सञ्चित वितरणयोग्य घाटा अझै ४१ करोड ४४ लाख ९० हजार रुपैयाँ रहेको छ । गत वर्षको सोही अवधिमा यस्तो घाटा ६६ करोड ६ लाख रुपैयाँ थियो । वार्षिक तुलनामा सञ्चित घाटा ३७.२६ प्रतिशतले घटेको हो। चालु त्रैमासमा भने कम्पनीले ३ करोड ३९ लाख ४० हजार रुपैयाँ वितरणयोग्य नाफा कमाएको छ ।

८६ करोड ७९ लाख रुपैयाँ चुक्तापुँजी रहेको कम्पनीको प्रतिसेयर आम्दानी ३१ रुपैयाँ ९ पैसा पुगेको छ । गत वर्षको सोही अवधिमा प्रतिसेयर आम्दानी १९ रुपैयाँ ५५ पैसा ऋणात्मक थियो ।

1

Scroll to Top