नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले वित्तीय प्रविधिको तीव्र विकासले परम्परागत वित्तीय सेवा प्रवाहको शैलीमा व्यापक परिवर्तन ल्याइरहेको बताएका छन् । उनले नयाँ प्रविधिको प्रयोगले वित्तीय सेवाको पहुँच विस्तार गर्नुका साथै सेवा प्रवाहलाई सहज, सुलभ र प्रभावकारी बनाउने बताएका हुन् ।
नेपाल राष्ट्र बैंकले आयोजना गरेको ‘वित्तीय सेवाबाट वञ्चित तथा न्यून पहुँच भएका समुदायका लागि डिजिटल ऋण तथा कर्जा सेवा’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै गभर्नर पौडेलले कृत्रिम बौद्धिकता (एआई), डिजिटल प्लेटफर्म, क्लाउड कम्प्युटिङ र डेटा एनालिटिक्सजस्ता प्रविधिले वित्तीय क्षेत्रमा नयाँ सम्भावना सिर्जना गरेको बताए ।
उनका अनुसार, यस्ता प्रविधिको प्रयोगले वित्तीय सेवाको पहुँच, गुणस्तर, लागत र प्रभावकारितामा उल्लेखनीय सुधार ल्याउन सक्छ । यसले वित्तीय समावेशिता बढाउनुका साथै वित्तीय क्षेत्रको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि र समग्र आर्थिक विकासमा समेत योगदान पुर्याउने विश्वास उनले व्यक्त गरे ।
नेपाल राष्ट्र बैंकले लामो समयदेखि वित्तीय क्षेत्रमा आधुनिक प्रविधिको प्रयोग र डिजिटल सेवाको विकासलाई प्रोत्साहन गर्दै आएको उनले स्मरण गराए । नेपालको डिजिटल बैंकिङ यात्रा पनि पछिल्लो समय उल्लेखनीय रूपमा विस्तार भएको उनको भनाइ छ । ‘विद्युतीय कार्ड, एटीएम र एसएमएस बैंकिङबाट सुरु भएको नेपालको डिजिटल वित्तीय सेवाको यात्रा आज मोबाइल बैंकिङ, डिजिटल वालेट, क्यूआर कोड तथा अन्य नवीन भुक्तानी प्रणालीसम्म विस्तार भएको छ,’ उनले भने ।
डिजिटल वित्तीय सेवाको विस्तारसँगै सम्भावित जोखिम न्यूनीकरण गरी सेवालाई सुरक्षित र भरपर्दो बनाउन राष्ट्र बैंकले नियामकीय तथा सुपरिवेक्षकीय व्यवस्थालाई निरन्तर सुदृढ गर्दै आएको पनि उनले स्पष्ट पारे ।


