नेपाल विद्युत प्राधिकरणले भारतमा थप ५९४ मेगावाट विद्युत् बिक्री गर्न अनुमति प्राप्त गरेको छ । भारतको विद्युत मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले द्विपक्षीय मध्यकालीन विद्युत बिक्री सम्झौताअन्तर्गत स्वीकृत आयोजनाको विद्युत भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) को डेअहेड तथा रियल टाइम मार्केटमा बिक्री गर्न अनुमति दिएको हो ।
प्राधिकरणले मंसिर २ गते प्राप्त गरेको अनुमतिअनुसार आगामी १८ नोभेम्बर २०२६ देखि १४ जुन २०२७ (२ मंसिर २०८३ देखि ३१ जेठ २०८४) सम्म ५९४ मेगावाट विद्युत आईएक्समा बिक्री गर्न सक्नेछ ।
अनुमतिप्राप्त परिमाणमध्ये २०५ मेगावाट विद्युत कटैया–कुशाहा, रामनगर–सुरजपुर र रक्सौल–परवानीपुर १३२ केभी प्रसारण लाइनमार्फत निर्यात हुनेछ । त्यस्तै, बाँकी ३८९ मेगावाट विद्युत ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइनमार्फत भारत पठाइनेछ ।
नेपाल विद्युत प्राधिकरण र भारतका एनटीपीसी विद्युत व्यापार निगम (एनभीभीएन) तथा पावर ट्रेडिङ कर्पोरेसन (पीटीसी) बीच भएको द्विपक्षीय मध्यकालीन विद्युत बिक्री सम्झौताअनुसार हरेक वर्ष जुनदेखि अक्टोबरसम्म हरियाणा र बिहार राज्यमा विद्युत निर्यात हुँदै आएको छ । चालु वर्षका लागि सम्झौताअनुसार विद्युत निर्यात गर्ने अवधि गत अक्टोबर ३१ अर्थात् कात्तिक १४ गते समाप्त भएको थियो ।
सम्झौताअन्तर्गत निर्यात हुँदै आएको विद्युतलाई वैकल्पिक बजारका रूपमा आईएक्समा बिक्री गर्न प्राधिकरणले निर्यात अवधि समाप्त हुनुअघि नै आयोजनाहरूको सूची भारतीय सम्बन्धित निकायमा पठाएको थियो । निरन्तरको पहलपछि उक्त अनुमति प्राप्त भएको प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार, एनभीभीएनमार्फत ३८९ मेगावाट र पीटीसीमार्फत २०५ मेगावाट गरी कुल ५९४ मेगावाट विद्युत आईएक्समा बिक्री गर्न स्वीकृति प्राप्त भएको हो ।
यसैबीच, भारतको केन्द्रीय विद्युत प्राधिकरणले थप २१.३४ मेगावाट विद्युत निर्यातका लागि पनि स्वीकृति दिएको छ । सेती खोला जलविद्युत आयोजनाबाट उत्पादित विद्युत आगामी नोभेम्बर १८ देखि अगस्ट ३१, २०२७ (२ मंसिर २०८३ देखि १५ भदौ २०८४) सम्म आईएक्समा बिक्री गर्न अनुमति प्राप्त भएको हो ।
यससँगै भारततर्फ विद्युत निर्यातका लागि नेपालले प्राप्त गरेको कुल स्वीकृत क्षमता १ हजार १९८ मेगावाट पुगेको छ । अर्कोतर्फ आगामी हिउँदयाममा आन्तरिक माग र आपूर्तिबीच सन्तुलन कायम गर्न भारतबाट १ हजार ४ मेगावाट विद्युत आयात गर्नसमेत अनुमति प्राप्त भइसकेको छ ।
प्राधिकरणले आन्तरिक खपतबाट बढी भएको वर्षायामको विद्युत भारतीय बजारमा प्रतिस्पर्धी दरमा बिक्री गर्दै आएको छ । थप निर्यात अनुमति प्राप्त भएसँगै नेपालको अतिरिक्त विद्युत व्यवस्थापन तथा भारतीय बजारमा बिक्रीको अवसर विस्तार हुने देखिएको छ ।


