Banijya News

उखुको मूल्यमा सरकार र किसानबीच विवाद चर्कियो, सहमति नभए आन्दोलन गर्ने चेतावनी

1
1.0K Shares

चालु सिजनका लागि उखुको न्यूनतम खरिद मूल्य निर्धारण गर्ने विषयमा सरकार र किसानबीच सहमति जुट्न सकेको छैन । सरकारले गत वर्षको तुलनामा प्रतिक्विन्टल ३० रुपैयाँ मात्रै मूल्य बढाउने प्रस्ताव अघि सारेपछि किसानले त्यसलाई अस्वीकार गरेका छन् । किसानले चिनीको मूल्य वृद्धिअनुसार उखुको खरिद मूल्य समायोजन गर्नुपर्ने माग राख्दै सहमतिबिना मूल्य निर्धारण गरिए आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

उखु उत्पादक महासंघका अध्यक्ष श्यामबाबु यादवका अनुसार कृषि मन्त्रालयले सरकारी अनुदानसहित प्रतिक्विन्टल ७२० रुपैयाँ मूल्य कायम गर्ने प्रस्ताव गरेको छ । तर किसानले भने अनुदानसहित प्रतिक्विन्टल १ हजार २५ रुपैयाँ हुनुपर्ने माग राखेका छन् । यसअनुसार सरकारको प्रस्ताव र किसानको मागबीच प्रतिक्विन्टल ३०५ रुपैयाँको अन्तर देखिएको छ ।

सरकारी प्रस्तावअनुसार यस वर्ष चिनी उद्योगले किसानलाई प्रतिक्विन्टल ६५० रुपैयाँ भुक्तानी गर्ने र सरकारले दिने ७० रुपैयाँ अनुदान यथावत् राख्ने तयारी छ । यसबाट किसानले प्रतिक्विन्टल कुल ७२० रुपैयाँ प्राप्त गर्नेछन् ।

यादवका अनुसार मूल्य निर्धारणका विषयमा कृषि मन्त्रालयमा दुईदेखि तीन पटकसम्म छलफल भए पनि सहमति जुट्न सकेको छैन । मंसिर ३ र ४ गते मन्त्रालयले देशभरका किसान प्रतिनिधि तथा चिनी उद्योगीहरूसँग छुट्टाछुट्टै छलफल गरेको थियो । उक्त छलफलमा मन्त्रालयका अधिकारीहरूले गत वर्षको तुलनामा प्रतिक्विन्टल ३० रुपैयाँ बढाउने प्रस्ताव राखेका थिए ।

गत सिजनमा चिनी उद्योगले किसानलाई प्रतिक्विन्टल ६२० रुपैयाँ भुक्तानी गरेका थिए । त्यसमा सरकारले उपलब्ध गराएको ७० रुपैयाँ अनुदान जोड्दा उखुको कुल खरिद मूल्य ६९० रुपैयाँ पुगेको थियो ।

किसान प्रतिनिधिहरूले भने चिनीको बजार मूल्य बढेको अवस्थामा उखुको मूल्य पनि सोहीअनुसार वृद्धि हुनुपर्ने अडान राखेका छन् । यादवले वार्तामा अनुदानसहित प्रतिक्विन्टल १ हजार २५ रुपैयाँ कायम गर्नुपर्ने माग स्पष्ट रूपमा राखिएको बताए ।

किसानसँग सहमति नजुटे पनि मन्त्रालयका अधिकारीहरूले आगामी मन्त्रिपरिषद् बैठकबाट मूल्य निर्धारण गर्ने गरी प्रस्ताव तयार पार्ने बताएका छन् । तर किसानको सहमतिबिना एकपक्षीय निर्णय गरिए आन्दोलनमा उत्रिने यादवले चेतावनी दिएका छन् ।

उनका अनुसार किसानको माग सम्बोधन नगरी मूल्य निर्धारण गरिए चिनी उद्योग बन्द गरेर आन्दोलन गरिनेछ । चिनीको बजार मूल्यलाई आधार नबनाई उखुको खरिद मूल्य तोक्ने निर्णय आफूहरूलाई स्वीकार्य नहुने किसानको भनाइ छ ।

1

Scroll to Top