चालु आर्थिक वर्षको छैटौं महिना पौष मसान्तसम्म नेपालमा २३ अर्बभन्दा माथिको साढे १२ लाख हाराहारी स्मार्टफोन आयात भएको छ। भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को पौष मसान्तसम्मको वैदेशिक व्यापारको तथ्यांक अनुसार नेपालमा स्मार्टफोन आयात प्रत्येक महिना उल्लेख्य वृद्धि हुँदै गइरहेको छ।
पौष मसान्तसम्म समग्रमा २३ अर्ब २९ करोड ८३ लाख २२ हजार रुपैयाँ बराबरको स्मार्टफोन आयात भएको छ। यस अवधिमा उक्त रकम बराबरको १२ लाख ५२ हजार ६३४ थान स्मार्टफोन नेपाल भित्रिएको विवरणमा उल्लेख छ। मंसिर मसान्तसम्म समग्रमा १९ अर्ब १५ करोड १८ लाख ४० हजार रुपैयाँ बराबरको स्मार्टफोन आयात भएको थियो। मंसिर मसान्तदेखि पौष मसान्तसम्म आइपुग्दा ४ अर्ब २६ करोड १३ लाख ७० हजार बराबरको १ लाख ८१ हजार ९५४ थान थपिएर समग्रमा १२ लाख ५२ हजार ६३४ थान स्मार्टफोन आयात भएको विवरणले देखाएको छ।
यति परिमाणको स्मार्टफोनका लागि यो अवधिसम्म समग्रमा २३ अर्ब १३ करोड ६९ लाख ५२ हजार रुपैयाँ बाहिरिएको छ भने यो आयातबाट सरकारले ४ अर्ब ३४ करोड ५९ लाख ५६ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। नेपालमा सबैभन्दा धेरै स्मार्टफोन चीनबाट आउने गरेको छ। यो अवधिमा पानि चीनबाट १८ अर्ब ५२ करोड २२ लाख ८७ हजार रुपैयाँ बराबरको १० लाख ६१ हजार ४५ थान स्मार्टफोन आयात भएको छ। यसैगरी भारतबाट ४ अर्ब ४५ करोड ९७ लाख ३ हजार रुपैयाँ बराबरको १ लाख ८६ हजार ७०३ थान स्मार्टफोन आएको भन्सार विभागको तथ्यांकमा देखिन्छ।


