पछिल्लो समय इन्धनको मूल्य निरन्तर रूपमा बढ्दै गएको छ । दैनिक जीवनमा गाडी प्रयोग गर्ने सर्वसाधारणदेखि व्यवसायीहरूसम्म सबै यसको प्रत्यक्ष असरमा परिरहेका छन्। यस्तो अवस्थामा धेरै मानिसहरूले वैकल्पिक समाधानको खोजी गर्न थालेका छन् । त्यसमध्ये सबैभन्दा चर्चित र व्यवहारिक विकल्पको रूपमा पुराना कार र मोटरसाइकललाई विद्युतीय -इलेक्ट्रिक) बनाउने प्रवृत्ति बढ्दै गएको छ । विशेषगरी बालेन साह नेतृत्वको सरकार बनेपछि सहरलाई वातावरणमैत्री बनाउने र विद्युतीय रूपान्तरण -इलेक्ट्रिक कन्वर्जन) अभियानले पनि यस्तो प्रवृत्तिलाई थप जोड दिएको छ ।
के हो इलेक्ट्रिक कन्वर्जन ?
इलेक्ट्रिक कन्वर्जन भन्नाले पेट्रोल वा डिजेलबाट चल्ने सवारी साधनलाई विद्युतीय प्रणालीमा परिवर्तन गर्ने प्रक्रिया हो । यस प्रक्रियामा गाडीको पुरानो इन्जिन हटाएर त्यसको सट्टा इलेक्ट्रिक मोटर, ब्याट्री, कन्ट्रोलर र अन्य आवश्यक उपकरणहरू जडान गरिन्छ । यसले सवारी साधनलाई इन्धनको सट्टा बिजुलीबाट सञ्चालन गर्न सक्षम बनाउँछ । दीर्घकालीन रूपमा हेर्दा यो वातावरण र आर्थिक दुवै हिसाबले फाइदाजनक देखिन्छ, तर सुरुवाती लागत भने धेरैलाई चासोको विषय बन्ने गरेको छ ।
कति खर्च लाग्छ ?
कारलाई विद्युतीय बनाउने कुरा गर्दा खर्चको दायरा निकै फराकिलो हुन्छ । साधारणतया एउटा कारलाई इलेक्ट्रिक बनाउन लगभग ६ लाखदेखि १२ लाख रुपैयाँसम्म खर्च लाग्न सक्छ । यसको मुख्य कारण भनेको प्रयोग हुने उपकरणहरूको मूल्य हो । उदाहरणका लागि, एउटा राम्रो गुणस्तरको इलेक्ट्रिक मोटर किन्नका लागि मात्र १ लाखदेखि ३ लाख रुपैयाँसम्म खर्चिनुपर्ने हुन्छ । तर वास्तविक ठूलो खर्च ब्याट्रीमा हुन्छ । लिथियम–आयन ब्याट्री, जुन अहिले सबैभन्दा प्रभावकारी मानिन्छ, त्यसको मूल्य ३ लाखदेखि ८ लाख रुपैयाँसम्म पुग्न सक्छ । यसका अतिरिक्त कन्ट्रोलर, वायरिङ, चार्जिङ प्रणाली लगायतका उपकरणहरूमा थप १ लाखदेखि २ लाख रुपैयाँ खर्च हुन सक्छ। श्रम खर्च पनि कम हुँदैन, जसका लागि ५० हजारदेखि १ लाख रुपैयाँसम्म लाग्न सक्छ । यसरी हेर्दा, एउटा पुरानो कारलाई इलेक्ट्रिक बनाउनु भनेको सानो लगानी होइन ।
यति धेरै खर्च गरेर किन पुरानो गाडी रूपान्तरण गर्ने, नयाँ किन नकिन्ने ?
यसको जवाफ प्रयोगकर्ताको आवश्यकता र बजेटमा निर्भर हुन्छ । यदि कसैसँग पहिले नै राम्रो अवस्थामा रहेको गाडी छ भने त्यसलाई रूपान्तरण गर्नु नयाँ गाडी किन्नुभन्दा सस्तो पर्न सक्छ । अब मोटरसाइकलको कुरा गर्ने हो भन यसलाई इलेक्ट्रिक बनाउने खर्च तुलनात्मक रूपमा धेरै कम हुन्छ । सामान्यतया ८० हजारदेखि २ लाख रुपैयाँभित्र मोटरसाइकललाई विद्युतीय बनाउन सकिन्छ । मोटरको मूल्य २० हजारदेखि ५० हजार रुपैयाँसम्म हुन्छ भने ब्याट्रीका लागि ४० हजारदेखि १ लाख रुपैयाँसम्म खर्चिनुपर्छ । कन्ट्रोलर र अन्य उपकरणहरूमा १० हजारदेखि २५ हजार रुपैयाँसम्म लाग्न सक्छ भने श्रम खर्च १० हजारदेखि २० हजार रुपैयाँसम्म हुन सक्छ ।
मोटरसाइकलको हकमा यो रूपान्तरण अझ व्यवहारिक देखिन्छ, किनकि खर्च कम हुनुका साथै दैनिक प्रयोगमा पनि धेरै सहज हुन्छ । विशेषगरी सहर क्षेत्रमा छोटो दूरीका लागि यो निकै उपयुक्त विकल्प बन्न सक्छ ।
नेपालमा पहिले यस्तो प्रकारको रूपान्तरणका लागि स्पष्ट कानुनी व्यवस्था थिएन र छैन । तर अहिले बालेन सरकारको को पहलमा सहरलाई हरित र दिगो बनाउने उद्देश्यले यस्ता विषयमा नीतिगत छलफलहरू भइरहेका छन् । पुराना सवारी साधनलाई विद्युतीय बनाउने विषयमा नयाँ नियम बनाउने तयारी भइरहेको । यद्यपि, कानुन अझै पूर्ण रूपमा स्पष्ट र कार्यान्वयनमा आएको छैन ।
यस्तो ठूलो लगानी कत्तिको उचित ?
पहिलो कुरा, इन्धन खर्चमा हुने बचत हो । पेट्रोलको मूल्य निरन्तर बढिरहेको अवस्थामा इलेक्ट्रिक सवारी साधन प्रयोग गर्दा मासिक रूपमा ठूलो रकम बचत हुन सक्छ । दोस्रो कुरा, मर्मतसम्भार खर्च कम हुनु हो । इलेक्ट्रिक सवारी साधनमा इन्जिन, गियरबक्स जस्ता जटिल भागहरू नहुने भएकाले मर्मत खर्च पनि कम हुन्छ ।
तर सबैभन्दा ठूलो समस्या भनेको ब्याट्रीको आयु र त्यसको प्रतिस्थापन लागत हो । केही वर्षपछि ब्याट्री फेर्नुपर्ने हुन्छ, जुन फेरि महँगो पर्न सक्छ। साथै, नेपालमा चार्जिङ पूर्वाधार अझै पूर्ण रूपमा विकसित भइसकेको छैन, जसले केही असहजता ल्याउन सक्छ । समग्रमा हेर्दा, पुराना कार र मोटरसाइकललाई विद्युतीय बनाउने अवधारणा नेपालमा विस्तारै लोकप्रिय हुँदै गएको छ । यो केवल खर्चको विषय मात्र नभई भविष्यप्रति गरिएको लगानी पनि हो। यदि सही योजना, बजेट र जानकारीका साथ अघि बढियो भने, यो विकल्प दीर्घकालीन रूपमा लाभदायक बन्न सक्छ ।


