Banijya News

२० लाखभन्दा कममै ईभीको विकल्प, नाइमा एक्स्पोमा सस्तो गाडीमा बढ्यो आकर्षण

1
1.0K Shares

काठमाडौंको भृकुटीमण्डपमा मंगलबारदेखि सुरु भएको नाइमा मोबिलिटी एक्स्पोमा विद्युतीय सवारीसाधन (ईभी) प्रति उपभोक्ताको आकर्षण बढेको देखिएको छ। एक्स्पोमा महँगा प्रिमियम मोडलदेखि मध्यम तथा कम मूल्यका विद्युतीय कारसम्म प्रदर्शनीमा राखिएका छन्। विशेषगरी २० लाख रुपैयाँभन्दा कम मूल्यमा उपलब्ध ईभीले धेरैको ध्यान खिचेका छन्।

एक्स्पोमा करिब एक दर्जन चारपांग्रे विद्युतीय मोडल ३० लाख रुपैयाँ आसपासको मूल्यमा उपलब्ध छन्। नेपालमा लोकप्रिय मानिएका टाटा र बीवाईडीका विभिन्न मोडलसमेत एक्स्पोमा प्रदर्शनीमा राखिएका छन्। एक्स्पोको अवसरमा विभिन्न कम्पनीले ग्राहक आकर्षित गर्न नगद छुट, शून्य ब्याजदरमा बुकिङ तथा अन्य सुविधा सार्वजनिक गरेका छन्।

कम मूल्यका ईभीमध्ये बीवाईडी अट्टो वान, टाटा टियागो, चेरी क्यू र विलिङ मिनीमा उपभोक्ताको बढी चासो देखिएको छ। गत वर्ष नेपालमा सार्वजनिक भएको बीवाईडी अट्टो वान नयाँ फिचरसहित एक्स्पोमा प्रस्तुत गरिएको छ। यसको मूल्य ३० लाख ७५ हजार रुपैयाँ तोकिएको छ भने एक्स्पो अवधिमा बुकिङ गर्ने ग्राहकले एक लाख रुपैयाँ छुट पाउनेछन्। ३६० डिग्री क्यामेरालगायतका थप सुविधा यसमा समावेश गरिएको कम्पनीले जनाएको छ।

टाटाको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले ३० लाख रुपैयाँभन्दा कम मूल्यमा टियागोका दुई भेरियन्ट उपलब्ध गराएको छ। एक्स्पोमा पहिलोपटक सहभागी टाटाले टियागो पियरको मूल्य २८ लाख ९९ हजार तथा टियागो ईभी क्रिएटिभ प्लसको मूल्य २९ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेको छ। २४ किलोवाट आवर ब्याट्रीमा उपलब्ध टियागोमा एक्स्पो अवधिका लागि ११ वर्ष वा २ लाख २० हजार किलोमिटरको वारेन्टीको अफर दिइएको छ।

नेपालमा पहिलोपटक भित्रिएको चेरी क्यू पनि एक्स्पोको आकर्षण बनेको छ। ४१.२ किलोवाट आवर ब्याट्री रहेको चेरी क्यूको मूल्य ३० लाख ९९ हजार रुपैयाँ छ भने प्रिमियम भेरियन्टको मूल्य ३२ लाख ९९ हजार रुपैयाँ रहेको छ। कम्पनीले यसले करिब ४०० किलोमिटरसम्म रेञ्ज दिने दाबी गरेको छ।

विशाल ग्रुपअन्तर्गतको प्यारामाउन्ट मोटर्सले यो मोडल एक्स्पोमा सार्वजनिक गरेको हो।

एमजी कोमेट ईभी पनि २० लाख रुपैयाँभन्दा कम मूल्यमा उपलब्ध छ। १७.३ किलोवाट आवर ब्याट्री रहेको यो कारको मूल्य १८ लाख ७५ हजार रुपैयाँ तोकिएको छ।

त्यस्तै, बोमा ईभीको २०० किलोमिटर रेञ्ज दिने मोडलको मूल्य २० लाख ९९ हजार रुपैयाँ छ भने ३०० किलोमिटर रेञ्ज दिने मोडलको मूल्य २५ लाख ९९ हजार रुपैयाँ रहेको छ। एक्स्पो अवधिमा बोमाले एक लाख रुपैयाँ नगद छुट दिने जनाएको छ।

यसैगरी लक्ष्मी ग्रुपले बिक्री गर्दै आएको केयी ब्रान्डका क्वाइट ०२ र ई क्वाइट ०४ पनि एक्स्पोमा छन्। क्वाइट ०२ को मूल्य २२ लाख ९६ हजार तथा ई क्वाइट ०४ को मूल्य २५ लाख ९६ हजार रुपैयाँ रहेको छ।

सस्तो ईभी खोज्ने ग्राहकका लागि विलिङ मिनी पनि विकल्प बनेको छ। यसको मूल्य १९ लाख ९९ हजार रुपैयाँ छ। १६.२ किलोवाट आवर र २५.१ किलोवाट आवर ब्याट्री विकल्पमा उपलब्ध यसको लङ रेञ्ज मोडलको मूल्य २१ लाख ९९ हजार रुपैयाँ छ।

२० लाखभन्दा कम मूल्यमा हेनरी भोल्टासका ईभीसमेत उपलब्ध छन्। सन् २०२१ देखि नेपालमा बिक्री हुँदै आएको यसको प्रारम्भिक मूल्य १८ लाख ५० हजार रुपैयाँ छ। यसका दुई भेरियन्टमध्ये बढी फिचरयुक्त मोडलको मूल्य भने २२ लाख ५० हजार रुपैयाँ रहेको छ। समग्रमा नाइमा मोबिलिटी एक्स्पोले महँगा ईभीसँगै सामान्य उपभोक्ताको बजेटलाई लक्षित गरेका विद्युतीय कारका विकल्पसमेत प्रस्तुत गरेको छ। विभिन्न छुट र आकर्षक अफरका कारण एक्स्पो अवधिमा सस्तो मूल्यका ईभीको बुकिङ बढ्ने अपेक्षा व्यवसायीहरूले गरेका छन्।

1

Scroll to Top