नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले अटोमोबाइल क्षेत्रलाई विलासिताको वस्तुका रूपमा मात्र हेर्न नहुने बताए ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले स्थापनाको ५०औं वर्ष पूरा गरेको स्वर्ण जयन्तीको अवसरमा आयोजना गरेको ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स १८औँ नाडा अटो शो २०२६’ मा बोल्दै अध्यक्ष उप्रेतीले सावरी साधनलाई विलासिताको वस्तुका रूपमा मात्र हेर्न नहुने बताएका हुन् ।
पछिल्लो समय सवारीसाधन नागरिकको आवागमनको साधन मात्र नभई व्यवसाय सञ्चालन, रोजगारी सिर्जना तथा आर्थिक गतिविधिको महत्वपूर्ण आधार बनिसकेको उनको भनाइ छ । त्यसैले, सवारीसाधनसम्बन्धी कर नीति उपभोक्ता र व्यवसाय दुवैलाई ध्यानमा राखेर व्यावहारिक बनाउनुपर्ने उनले बताए ।
त्यस्तै, नेपालको अटोमोबाइल क्षेत्रको दिगो विकासका लागि सरकारले स्थिर कर नीति लागु गर्नुपर्ने बताएका छन् । पटक–पटक आवाज उठाउँदै आएको कर नीतिमा स्थिरताको माग अब व्यवहारमै कार्यान्वयन हुनुपर्ने उनको माग रहेको छ ।
अध्यक्ष उप्रेतीले अटोमोबाइल क्षेत्रलाई सरकारको राजस्व संकलन गर्ने माध्यमका रूपमा मात्र हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्ने बताए । उनले भने– अटोमोबाइल क्षेत्र उद्योग, व्यापार, बैंकिङ, बिमा, यातायात तथा रोजगारीसँग प्रत्यक्ष रूपमा जोडिएको भएकाले यसको विस्तारले समग्र अर्थतन्त्रमा प्रभाव पार्छ ।
उनका अनुसार अटोमोबाइल क्षेत्रले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा ठूलो संख्यामा रोजगारी सिर्जना गरेको छ । यस क्षेत्रबाट राज्यले राजस्व आर्जन गर्नुका साथै समग्र आर्थिक गतिविधिमा समेत महत्वपूर्ण योगदान पुगिरहेको उनको तर्क छ ।
अध्यक्ष उप्रेतीले अटोमोबाइल क्षेत्रलाई देशको अर्थतन्त्रमा सहयोग गर्ने महत्वपूर्ण क्षेत्रका रूपमा बुझ्नुपर्ने धारणा राखे । निजी क्षेत्रमाथि विश्वासको वातावरण निर्माण गरी लगानी र व्यवसाय विस्तारका लागि सहज वातावरण बनाउनुपर्ने उनको भनाइ थियो ।
यसका साथै, नेपालको पूर्वाधार विकास पर्याप्त रूपमा अघि बढ्न नसकेको उनले बताए । उनले काठमाडौंमा ठूलो सभा हल निर्माण गर्नुपर्ने आवश्यकता औँल्याउँदै निजी क्षेत्रलाई विश्वास गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।
पछिल्लो समयमा विद्युतीय सवारीसाधन (ईभी)को बढ्दो प्रयोगलाई नेपालका लागि नयाँ औद्योगिक अवसरका रूपमा लिनुपर्नेमा उनले जोड दिएका छन् । अध्यक्ष उप्रेतीले नेपालको अटोमोबाइल क्षेत्रलाई आयातमा आधारित व्यापारबाट क्रमशः उत्पादन र औद्योगिकीकरणतर्फ लैजानुपर्ने आवश्यकता औँल्याए । स्थिर कर नीति, लगानीको सुरक्षा र दीर्घकालीन सरकारी प्रतिबद्धता भए नेपालमा एसेम्बलिङसँगै कम्पोनेन्ट उत्पादनको सम्भावना विस्तार गर्न सकिने उनको धारणा छ ।
अध्यक्ष उप्रेतीले देशको आर्थिक गतिविधिलाई थप गतिशील बनाउन निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताए ।


