Banijya News

काँकडभिट्टा नाकाबाट ५९ करोड १८ लाखको तरकारी आयात

1
1.2K Shares

चालु आर्थिक वर्ष २०८२/८३ को असोज मसान्तसम्ममा काँकडभिट्टाबाट ५९ करोड १८ लाख मूल्य बराबरको तरकारी आयात भएको छ । आन्तरिक उत्पादनले बजार माग पूरा गर्न नसकेपछि उक्त मूल्यका तरकारी आयात भएको हो ।

मेची भन्सार कार्यालय काँकडभिट्टाका सूचना अधिकारी एवम् भन्सार अधिकृत ईश्वरकुमार हुमागाईंले साउनदेखि असोज महिनासम्मको अवधिमा कृषिजन्य वस्तुहरू अलैंची, चिया, अदुवा र अम्रिसोको निर्यात बढिरहेका बेला तरकारी ठूलो मात्रामा आयात भएको बताए ।

चालु आर्थिक वर्षको तीन महिना साउनदेखि असोजसम्म यो नाकाबाट आयत भएका मुख्य १० वस्तुहरूमध्ये तरकारी पाचौँ नम्बरमा रहेको उनले जानकारी दिए । उक्त मूल्यका तरकारी आयात हुँदा मेची भन्सारले ११ करोड ९५ लाख ९१ हजार रुपैयाँ राजस्व संकलन गरेको हुमागाईंले बताए । उक्त तरकारी आयातबाट मेची भन्सारको राजस्वमा योगदान दुई दशमलव ८८ प्रतिशत रहेको उनले जानकारी दिए ।

नेपालले उन्नत बिउ विजन उत्पादन गर्न नसक्दा तरकारीका लागि करोडौं रुपैयाँ बाहिरिने गरेको कृषि विज्ञ टेकेन्द्र प्रधानले बताए । नेपालमा चिली, इटाली, अस्ट्रेलिया, चीन, जापान, दक्षिण कोरिया, भारत, ताइवान, थाइल्यान्ड, अमेरिकाबाट बन्दा, काउली तथा ब्रोकाउली, मुला र गोलभेँडाको बिउ आयात हुने गरेको छ । नेपालमा बिउ उत्पादन गर्ने सम्भावना भए पनि सरकारले हरेक वर्ष तीन खर्बभन्दा बढीको कृषिजन्य वस्तुको आयात गर्दै आएको जानकारी दिए ।

प्रदेश र स्थानीय सरकारले पनि ताजा तरकारी उत्पादन कार्यक्रम प्राथमिकतामा राख्नुपर्ने बताउँदै उनले सरकारले किसानलाई प्राथमिकता दिएर तरकारीको उत्पादन बढाइ तरकारी निर्यात प्रतिस्थापन गर्न सकिनेमा जोड दिए । थाइल्याण्ड, तान्जानिया, लेबनान, मदागास्कर, क्यानडा, रोमानिया, टर्की, ब्रजिल, मोजाम्बिक, दक्षिण अफ्रिका, भेनेजोलिया, इथेयोपिया, मालावीसम्मका तरकारी नेपालमा आयात गरिने उनको भनाइ छ ।

भन्सार अधिकृत हुमागाईंले नेपालमै तरकारी उत्पादन गर्न सकिने भए पनि तरकारी आयात गरेर खानु परेको अवस्था भएको जनाए । कृषिले अर्थतन्त्रमा नेपालमा महत्त्वपूर्ण योगदान राख्ने गरेको भए पनि तरकारीप्रतिको परनिर्भरता घट्नुको साटो झन् बढ्न थाल्नु दुखद भएको उनको भनाइ छ ।

तरकारी आयात नगरी नेपालीको भान्सा तयार नहुने बताउँदै उनले भान्सामा प्रयोग हुने प्राय: सबै प्रकारका तरकारीदेखि प्याज, अदुवा, लसुनजस्ता नेपालमै प्रशस्त उत्पादन हुने मसलाजन्य वस्तुसमेत आयात गर्नु परेको जनाए । तरकारी खेतीमा किसानलाई बढीभन्दा बढी उत्प्रेरित गर्ने र उनीहरूले सही मूल्य पाउने वातावरण तयार नगरुन्जेलसम्म तरकारीमा परनिर्भर बन्नु परेको पूर्व कृषि सचिव कृष्ण आचार्य बताउँछन् ।

किसानलाई बेमौसमी तरकारी खेतीमा प्रोत्साहित गर्ने, त्यसका लागि बजारको समेत प्रत्याभूति गर्ने हो भने निर्भरता धेरै हदसम्म कम गर्न सकिने उनको भनाइ छ । नेपालमा माग अनुसारको तरकारी उत्पादन नहुँदा अर्बाैँ रुपैयाँको ताजा तरकारी आयात हुने गरेको बताउँदै उनले तरकारी जस्ता कृषि वस्तुको उत्पादन कम हुँदा परनिर्भरता बढ्दै गएको जनाए ।

1

Scroll to Top