नेपालमा सुर्ती उद्योगले विभिन्न नाममा सुर्तीजन्य पदार्थको बजारीकरण गर्ने र नीति तथा कानुनलाई चुनौति दिंदै हस्तक्षेप गर्ने गरेको पाईएको छ । स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण राष्ट्रिय सञ्जालले गरेको अध्ययनले नेपालमा सामाजिक उत्तरदायित्वको नाममा, राजस्व परामर्शको नाममा र अनेक उपहार तथा प्रायोजन गरी सुर्ती उद्योगहरुले हस्तक्षेप गरिरहेको पाइएको हो ।
नेपालसहित १०० वटा राष्ट्रमा गरिएको सुर्ती नियन्त्रणमा उद्योगीको हस्तक्षेप सम्बन्धी अध्ययन् प्रतिवेदनले नेपाल १४ औं स्थानमा रहेको पाइएको छ । विश्वमा सवैभन्दा वढी डोमिनिकन रिपब्लिक, स्वीजरल्यान्ड, अमेरिका, जर्जिया, जापान, रोमानियामा वढी हस्तक्षेप भएको पाइएको छ । ब्रुनाइ, पलाउ, बोट्सवाना, फिनल्यान्ड, इथोपियामा कममात्रै हस्तक्षेप भएको पाइएको छ । नेपालले ४४ अंक पाएको छ भने बु्रनाइले १४ र डोमिनिकन रिपब्लिकले ९८ अंक प्राप्त गरेको छ । कम अंक पाउने मुलुकमा कम मात्रै हस्तक्षेप भएको मानिन्छ ।
दक्षिण एसियामा माल्दिभ्स ४३ अंकका साथ ८ स्थानमा, श्रीलंका ४५ अंकका साथ १७ औं स्थानमा, पाकिस्तान ५४ अंकका साथ ३३ स्थानमा, भारत ५९ अंकका साथ ४८ औं स्थानमा, बंगलादेश ६६ अंकका साथ ६९ स्थानमा रहेका छन् । सुर्तीको कुनै पनि प्रचारप्रसार र प्रवद्र्धन गर्न नहुने कानूनी व्यवस्था भए पनि सामाजिक उत्तरदायित्वका नाममा सुर्ती उद्योगले सुर्तीको प्रवद्र्धन र प्रचारप्रसार गरिरहेएका छन् ।
स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण सञ्जालले सन् २०२३ अप्रिलदेखि २०२५ मार्चसम्मको अवधिमा विभिन्न देशमा सुर्ती उद्योगले सरकार, नीति निर्माता र सार्वजनिक संस्थामाथि पारेको प्रभावको मूल्याङ्कन गरेको हो ।
नागरिक समाजको भूमिका निर्णायक
अध्ययन प्रतिवेदनले नागरिक समाज, स्वास्थ्य अभियन्ता र सञ्चारमाध्यमको भूमिकालाई विशेष महत्व दिएको छ । नेपालमा पनि गैरसरकारी संस्था र सार्वजनिक स्वास्थ्य अभियानहरूले सुर्ती उद्योगको रणनीति उजागर गर्न महत्वपूर्ण योगदान पु¥याउँदै आएका छन् । अध्ययनले नेपालमा सुर्ती उद्योगले युवालाई लक्षित गरी अपनाउने भ्रामक प्रचार गरिरहेको पनि देखाएकाले नागरिक समाज सचेत र सजह हुनुपर्ने औंल्याइएको छ ।
अध्ययनले सुर्ती उद्योगसँग हुने सबै सरकारी सम्पर्क अनिवार्य रूपमा सार्वजनिक र अभिलेखित हुनुपर्ने औंल्याएको छ । सार्वजनिक पदाधिकारी र नीति निर्माताका लागि कडा आचारसंहिता लागू हुनुपर्ने पनि औंल्याएको छ । सुर्ती उद्योगलाई ब्रान्डको नाममा सामाजिक उत्तरदायित्वको गतिविधि गर्ने स्वीकृति दिने अभ्यास पूर्ण रूपमा बन्द गर्नुपर्ने आवश्यकता पनि औंल्याइएको छ ।
स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण सञ्जालले गरेको अध्ययनमा नेपालमा सुर्ती उद्योगले नीतिगत तहमा नै प्रभाव पारेकै कारण सुर्तीको कर वृद्धि हुन नसकेको उल्लेख छ । प्रतिवेदनअनुसार सुर्ती उद्योगले सुर्तीजन्य पदार्थ नियन्त्रण ऐन र जनस्वास्थ्य ऐनको बर्खिलाप हुने गरि विद्यालयहरूलाई आर्थिक सहयोग दिने, एम्बुलेन्स खरिदलगायतमा सहयोग गरेर सुर्ती उद्योग खराब होइनन् भने भ्रम छर्ने काम गरिरहेका छन् ।
नेपालमा हस्तक्षेप बढ्दो
२०२५ को प्रतिवेदनले सुर्ती उद्योगले आफ्नो प्रभाव कायम राख्न प्रयोग गर्ने रणनीति अझै परिष्कृत र आक्रामक बन्दै गएको देखाएको छ । सुर्ती उद्योगले कर वृद्धि रोक्न, चेतावनी चित्र कमजोर बनाउन, नयाँ उत्पादनलाई नियमन बाहिर राख्न र युवालाई लक्षित अप्रत्यक्ष प्रचारलाई निरन्तरता दिन सरकारी संयन्त्रसम्म पहुँच बनाउने प्रयास गरिरहेको प्रतिवेदनमा उल्लेख छ ।
उद्योगले प्रयोग गर्ने मुख्य उपायमा नीति निर्मातासँग अनावश्यक भेटघाट, सामाजिक उत्तरदायित्वको नाममा सरकारी तथा सामाजिक कार्यक्रममा सहभागिता, कानुनी चुनौतीमार्फत नीति ढिलाइ, र आर्थिक योगदानको बहानामा सकारात्मक छवि निर्माण प्रमुख छन् । प्रतिवेदनका तुलनात्मक तथ्याङ्कले नेपालमा सुर्ती उद्योगसम्बन्धी जोखिम अघिल्लो सूचकाङ्कको तुलनामा केही बढेको देखाउँछ । यसको अर्थ पछिल्ला वर्षहरूमा उद्योगसँगको सरकारी अन्तरक्रिया, पारदर्शिताको कमी वा नीतिगत कमजोर अभ्यासका घटना थप रिपोर्ट भएका छन् ।
नेपालमा सुर्तीजन्य पदार्थ नियन्त्रण ऐन र नियमावली भए पनिे पूर्ण कार्यान्वयन अझै संस्थागत हुन नसकेको प्रतिवेदनको संकेत छ । सरकारी निकायहरूमा उद्योगसँगको सम्पर्क सार्वजनिक गर्ने स्पष्ट मापदण्ड, हितको द्वन्द्वसम्बन्धी कडा व्यवस्था र निगरानी संयन्त्र कमजोर रहेको विश्लेषण गरिन्छ ।
नीति निर्माणमै जोखिम
सार्वजनिक स्वास्थ्य विज्ञहरूका अनुसार सुर्ती उद्योगको हस्तक्षेप केवल स्वास्थ्य मन्त्रालयसम्म सीमित हुँदैन । अर्थ, उद्योग, वाणिज्य र श्रम क्षेत्रमार्फत उद्योगले आफ्नो स्वार्थअनुकूल वातावरण बनाउन खोज्ने गरेको देखिन्छ । कर नीति, व्यापार सहजीकरण, रोजगारीको तर्क र राजस्व योगदानको नाममा उद्योगले स्वास्थ्य नीतिलाई कमजोर पार्ने प्रयास गर्ने जोखिम नेपालमा पनि विद्यमान छ ।


