निक्षेप परिचालनको तुलनामा कर्जा लगानी बढ्न नसकेपछि पछिल्ला वर्ष बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजी (तरलता) बढ्दै गएको छ । नेपाल राष्ट्र बैंकले यही साउन १८ गतेसम्म दुई खर्ब ५५ अर्ब रुपैयाँ तरलता प्रशोचन गरेको छ ।
राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत न्यूनतम २८ देखि अधिकतम ५६ दिनसम्मका लागि बैंकिङ प्रणालीबाट पाँचपटक तरलता प्रशोचन गरेको हो ।
राष्ट्र बैंकका अनुसार, प्रणालीमा अहिले निक्षेप परिचालन बढेर ७२ खर्ब २४ अर्ब रुपैयाँ पुगेको छ । हालसम्म ५५ खर्ब ६७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । निक्षेपको तुलनामा कर्जा लगानी विस्तार नभएपछि अहिले बैंकिङ प्रणालीमा झन्डै आठ खर्ब रुपैयाँ अधिक तरलता छ ।
चालु आर्थिक वर्षको मौद्रिक नीतिमा ब्याजदर करिडोरअन्तर्गत माथिल्लो सीमाको रूपमा रहेको बैंकदरलाई ६.५ प्रतिशतबाट घटाई ६ प्रतिशत र ब्याजदर करिडोरको तल्लो सीमाको रूपमा रहेको निक्षेप संकलन दरलाई ३ प्रतिशतबाट घटाई २.७५ प्रतिशत निर्धारण गरिएको छ ।
तरलता बढेपछि बैंकहरूमा कर्जा निक्षेप अुनपात (सीडी रेसियो)को दायरा पनि फराकिलो बन्दै गएको छ । हाल सीडी रेसियो ७६.०६ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले कर्जा निक्षेप अनुपात ९० प्रतिशत कायम गरेको छ । यसलाई हटाएर राष्ट्र बैंक लिक्विडिटी रेसियो र नेट स्टेबल फन्डिङ रेसियोमा जाने तयारीमा छ ।
नीतिगत दरलाई ५ प्रतिशतबाट घटाई ४.५ प्रतिशत कायम गरिएको छ । राष्ट्र बैंकले निक्षेप संकलन उपकरणबाट प्रशोचन गरेको तरलताको ब्याजदर २.७५ प्रतिशत दिने व्यवस्था चालु आर्थिक वर्षको मौद्रिक नीतिले गरेको छ । अहिले अन्तरबैंक ब्याजदर औसत २.७५ प्रतिशत छ ।
चालु आर्थिक वर्षमा निजी क्षेत्रतर्फ जाने कर्जा वृद्धिदर १२ प्रतिशतसम्म रहने प्रक्षेपण गरिएको छ । गत आर्थिक वर्ष निजी क्षेत्रतर्फ कर्जा प्रवाह १२.५ प्रतिशतले वृद्धि गर्ने लक्ष्य लिएको थियो । गत वर्षको लक्ष्य हासिल गर्न राष्ट्र बैंक असफल भएको छ । चालु आर्थिक वर्षमा पनि प्रक्षेपित लक्ष्य पूरा हुने सम्भावना कम छ ।
वार्षिक विन्दुगत आधारमा २०८२ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाको निजी क्षेत्रतर्फको कर्जा प्रवाह ८.७ प्रतिशत बढेको छ । यसले अर्थतन्त्रमा शिथिलता गहिरिँदै गएको देखाउँछ । बजारमा मागको अभावले बैंक तथा वित्तीय संस्थाको ऋण असुली कमजोर भएको भएको छ । यसको असर पुँजीकोष, नाफा र लगानी क्षमतामा देखिएको छ ।
गत आर्थिक वर्षको मौद्रिक नीतिमा समावेश गरिएको यो लक्ष्यअनुसार ६ खर्ब ५० अर्ब रुपैयाँ कर्जा प्रवाह हुनुपर्ने थियो । गत आर्थिक वर्षको ११ महिनामा बैंक तथा वित्तीय संस्थाहरूले निजी क्षेत्रतर्फ चार खर्ब ७ अर्ब ६२ करोड रुपैयाँ कर्जा विस्तार गरेका छन् । गएको असारदेखि बैंक तथा वित्तीय संस्थाहरू नाफा बढाउन कर्जा लगानीभन्दा पनि असुलीतर्फ लागेका छन् । यसबीचमा कर्जा विस्तार सुस्त देखिएको छ ।
जेठ मसान्तमा निक्षेप परिचालन १२ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ । ११ महिनासम्ममा निक्षेप संकलन बोलकबोलमार्फत ८१ पटक गरी २७ खर्ब ८४ अर्ब ८० करोड तथा स्थायी निक्षेप सुविधामार्फत १३५ पटक गरी १८५ खर्ब ५८ अर्ब ७० करोड रुपैयाँ तरलता प्रशोचन भएको छ ।
बैंक तथा वित्तीय संस्थाहरूमा तरलता पर्याप्त रहेकोले निक्षेप र कर्जाको ब्याजदर घट्दो क्रममा रहेका छन् । २०८१ जेठमा वाणिज्य बैंकहरूको औसत आधार दर ८.१७ प्रतिशत रहेकामा २०८२ जेठमा ६.०९ प्रतिशतमा झरेको छ । यसैगरी, २०८१ जेठमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ६.१७ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर १०.१५ प्रतिशत रहेको थियो । तर, गत जेठसम्म घटेर औसत ब्याजदर ४.२९ प्रतिशत र कर्जाको औसत ब्याजदर ७.९९ प्रतिशत कायम भएको छ ।
पछिल्ला दुई वर्ष अर्थतन्त्रमा देखिएको शिथिलताले बैंक तथा वित्तीय संस्थाहरूको कर्जा असुलीसमेत प्रभावित भई २०८१ चैतमा निष्क्रिय कर्जा अनुपात ५.२४ प्रतिशत पुगेको छ ।


