Banijya News

१२ करोडको लगानीमा नगर अस्पताल निर्माण

1
1.1K Shares

बर्दियाको ठाकुरबाबा नगरपालिका ३,नेउलापुरमा निर्माण गरिएको अस्पतालमा अब विशेषज्ञ सेवासमेत उपलब्ध हुने व्यवस्था गरिएको छ।

सरकारले केही वर्ष अगाडि हरेक स्थानीय तहमा १५ शय्या सम्मको अस्पताल निर्माण गर्ने योजना ल्याएको थियो । सोही अनुरुप २०७८ जेठदेखि निर्माण सुरु गरिएको थियो । पुस १५ सम्म निर्माण सम्पन्न गर्ने गरी चक्रेश्वरी सनलाइट निर्माण सेवा धनगढीले निर्माणको जिम्मा लिएको थियो । केही समय साइटको समस्याले अस्पताल निर्माणमा अवरोध भएतापनी समय मै निर्माण गर्न सफल भएको निर्माण व्यवसायी चिरञ्जीवी भट्टराईले बताए ।

निर्माण सम्पन्न भएको दुई तलाको भवनमा तीन वटा ब्लक रहेका छन् । बहिरङ्ग सेवा, अन्तरङ्ग सेवा, आकस्मिक कक्ष, शल्यक्रिया कक्षसँगै विशेषज्ञ सेवा समेत दिन सकिने गरी अस्पतालको भवन निर्माण गरिएको छ । भवनभित्र फिजियो थेरापी, एक्स रे, २४ सै घण्टाको आकस्मिक सेवा, सर्पदंश उपचार सेवा समेत दिइने गरि भवन डिजाइन गरिएको सब–इन्जिनियर प्रदीपकुमार शाहले बताए ।

निर्माण सम्झौता अनुरूप भवन निर्माण सम्पन्न भइसकेको छ भने पार्किङ, क्यान्टिन लगाएतका थप निर्माण कार्य समेत सम्पन्न भइसकेको सब इन्जिनियर प्रदीपकुमार शाहले बताए । उनले निर्माण सम्पन्न भएको कामको नापजाँच र बिलिङको काम भइरहेको बताए ।

हाल नेउलापुर स्वास्थ्य चौकीको पुरानो भवनमा नगर अस्पतालको सेवा सुचारु भइरहेकोमा आगामी माघदेखि नयाँ भवनबाट सेवा सुचारु गर्ने योजना रहेको ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलकराम लम्सालले बताए । उनले पुरानो भवन देखि सेवा दिँदा अस्पताल र सेवा ग्राहीलाई समस्या भएको हुनाले छिट्टै नै नयाँ भवनदेखि सेवा सुचारु गर्ने योजना रहेको बताए ।

नगर अस्पतालका लागि एमडिजिपी सहित विशेषज्ञ चिकित्सकको माग गरिएको बताउँदै अस्पताललाई सुविधा सम्पन्न बनाउने योजना रहेको उनले बताए। विभिन्न स्थानमा छरिएर रहेका वर्थिङ सेन्टरलाई एम्बुलेन्स सेवा निःशुल्क गरी नगर अस्पतालमा एकिकृत गर्ने योजना रहेको उनले बताए । अस्पतालको पहुँचमार्गलाई सहज बनाउनका लागि पुल र सडक निर्माण गर्नुका साथै सबैलाई पायक पर्ने अस्पताल बनाउने उनले बताए ।

हाल ठाकुरबाबा नगरअस्पतालमा दैनिक दुई सय जना बिरामीले सेवा लिइरहेको अस्पतालका अध्यक्ष चिरञ्जिवि योगी भावुकले बताए । पछिल्लो समयमा तीन जना मेडिकल अधिकृत सहितको २४ सै घण्टा सेवा अस्पतालले दिइरहेको बताउँदै भविष्यमा आधुनिक र सुविधा सम्पन्न भवनबाट विशेषज्ञ सेवा दिने योजना रहेको उनले बताए । सम्पूर्ण निर्माणको काम सम्पन्न भएर हस्तान्तरणको तयारी भइरहेको अध्यक्ष योगीले बताए । माघको महिना मै अस्पताल भवन हस्तान्तरण भइ सेवा उपलब्ध गराउने उनले बताए।

1

Scroll to Top