नेपाल विद्युत् प्राधिकरणको शेयर सर्वसाधारणमा जारी गरी ६० अर्ब रुपैयाँ सङ्कलन गर्ने योजनामा अर्थ मन्त्रालयले विभिन्न सर्त अघि सारेपछि प्रक्रिया तत्कालका लागि रोकिएको छ । प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङको योजनाअनुसार ऊर्जा मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव लैजान सहमति माग्दा अर्थ मन्त्रालयले पाँच वटा मुख्य प्रक्रिया पूरा गर्नुपर्ने सुझाव दिएको हो ।
ऊर्जा मन्त्रालयले प्राधिकरणको १० प्रतिशत शेयर सर्वसाधारणमा लैजाने प्रस्तावमा राय माग्दै गत कात्तिक २३ गते अर्थ मन्त्रालयलाई पत्राचार गरेको थियो । सो पत्रको जवाफ दिँदै अर्थमन्त्री रामेश्वर खनालले प्राधिकरणको संरचनागत, वित्तीय र कानुनी पक्षहरू स्पष्ट नभई शेयर बिक्री प्रक्रिया अगाडि बढाउन नसकिने स्पष्ट पारेका छन् ।
अर्थ मन्त्रालयले शेयर निष्कासन गर्नुअघि सरकारी लगानी व्यवस्थापन समितिबाट निर्णय हुनुपर्ने, प्राधिकरणको वास्तविक सम्पत्ति र दायित्व यकिन गर्न विस्तृत ड्यु डेलिजेन्स अडिट (डीडीए) गर्नुपर्ने र त्यसकै आधारमा अधिकृत पूँजी कायम गरी राजपत्रमा सूचना प्रकाशित गर्नुपर्ने सर्त राखेको छ ।
त्यस्तै, प्राधिकरणलाई होल्डिङ कम्पनीको रूपमा राख्ने वा उत्पादन, प्रसारण र वितरणका लागि छुट्टाछुट्टै कम्पनी बनाउने भन्ने विषयमा कम्पनी ऐनबमोजिम पुनर्संरचना गरिनुपर्ने र शेयरको प्रिमियम मूल्य तय गर्दा पछिल्लो वित्तीय विवरणलाई आधार मान्नुपर्ने सुझावसमेत अर्थले दिएको छ । यी प्रक्रियाहरू पूरा नगरी शेयर संरचना परिवर्तन गर्नु जोखिमपूर्ण हुने निष्कर्ष अर्थ मन्त्रालयको रहेको छ ।
यस विषयमा प्राधिकरणले अर्थ मन्त्रालयको रायअनुसार काम गर्दा आईपीओ निष्कासनमा थप समय लाग्ने जनाएको छ । प्राधिकरणका अनुसार, भर्खरै सुझाव प्राप्त भएकाले सबै विषय यकिन गर्न र डीडीए प्रतिवेदन तयार पार्न थप अध्ययन र समय आवश्यक पर्नेछ । प्राधिकरणको टोलीले विस्तृत प्रतिवेदन तयार पारेर बोर्डमा पठाएपछि मात्र प्रक्रिया अघि बढ्ने देखिएको छ ।
प्राधिकरणले आफ्नो अधिकृत पूँजी करिब ३०० अर्ब पु¥याएर त्यसको १० प्रतिशत शेयर बिक्री गर्ने र करिब ६० अर्ब रुपैयाँ सङ्कलन गर्ने लक्ष्य राखेको थियो । इक्रा नेपालबाट डबल ए प्लस रेटिङ पाएको प्राधिकरणले शेयरको बुक भ्यालु १२५ रुपैयाँ कायम गरी त्यसमा प्रिमियम थप्ने तयारी गरेको भए पनि पुनर्संरचना र कानुनी प्रक्रियाको जटिलताका कारण सर्वसाधारणले शेयरका लागि अझै केही समय कुर्नुपर्ने देखिन्छ ।


