जेन जी प्रदर्शनबाट निजी क्षेत्रका उद्योग व्यवसाय र लगानीमा पुगेको क्षतिको सम्बोधन गर्न अर्थमन्त्री रामेश्वर खनालले आज अर्थ मन्त्रालयमा निजी क्षेत्रका प्रतिनिधिमूलक संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूसँग छलफल तथा अन्तर्क्रिया गरेका छन्। नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर्स अफ कमर्स, नेपाल उद्योग परिसंघ, नेपाल अटो डिलर्स एसोसिएसन, चौधरी ग्रुप र भाटभटेनी ग्रुपलगायतका उद्योगी व्यवसायीहरूको सहभागिता रहेको उक्त छलफलमा निजी क्षेत्रले नवनियुक्त अर्थमन्त्रीलाई बधाई तथा शुभकामना दिँदै उद्योग व्यवसायको सुरक्षा, प्रवर्द्धन र लगानी प्रोत्साहनका लागि सरकारको प्रतिबद्धताको अपेक्षा गरेको छ।
प्रदर्शनका क्रममा उद्योग व्यवसायमा भएका क्षतिका लागि कर सहुलियत, सहुलियतपूर्ण कर्जा र बिमा रकमको शीघ्र भुक्तानी जस्ता मागहरू राखिएको छ। यसका साथै, निजी क्षेत्रलाई सरकार, राजनीतिक दल, पत्रकार र नागरिक समाजले हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन आउनुपर्ने विषयमा पनि जोड दिइएको थियो।
अर्थसचिव श्री घनश्याम उपाध्यायले दशैं बाहेकका सार्वजनिक बिदामा पनि बैंक र भन्सार खुला रहने तथा पहिरोका कारण अवरुद्ध तातोपानी नाका जोड्ने सडक खुलाउन सरकारले प्रयास गरिरहेको जानकारी दिए।
अर्थमन्त्रीको प्रतिबद्धता र आगामी कदम
अर्थमन्त्री श्री रामेश्वर खनालले थापाथलीको अटो सेक्टर, कोटेश्वरको भाटभटेनी सुपरस्टोर, अन्नपूर्ण र कान्तिपुर मिडिया हाउस तथा ट्राफिक प्रहरी कार्यालयका क्षतिग्रस्त संरचनाहरूको अवलोकन गरेको जानकारी दिँदै निजी क्षेत्रका समस्याहरूसँग आफू सुपरिचित रहेको बताए। उनले सार्वजनिक र निजी क्षेत्रमा पुगेको क्षतिको पुनर्निर्माणका लागि कोष खडा गर्ने निर्णय भइसकेको र उद्योग व्यवसायीका समस्यालाई सरकारको समस्या मानेर समाधानका लागि “collaborative approach” अपनाइने प्रतिबद्धता व्यक्त गरे।
कर नीति र मौद्रिक नीतिबाट दिन सकिने सहुलियतका लागि सरकार सकारात्मक रहेको र अब उप्रान्त सेवा प्रवाहमा सुधार ल्याएर नागरिकले सरकारको अनुहार सार्वजनिक सेवाका माध्यमबाट अनुभूत गर्न सक्ने गरी कार्यरत सबै कर्मचारीहरूलाई निर्देशन दिइएको अर्थमन्त्री खनालले बताए।


