Banijya News

उपत्यकाभित्र २५.९६ प्रतिशतसम्म बढ्यो सवारी भाडा

1
1.1K Shares

बागमती प्रदेश सरकारले प्रदेशभित्र सञ्चालन हुने सवारी साधनको भाडादर समायोजन गर्दै नयाँ दर सार्वजनिक गरेको छ। श्रम, रोजगार तथा यातायात मन्त्रालयको निर्णयअनुसार पेट्रोलियम पदार्थबाट सञ्चालन हुने सवारी साधनका लागि नयाँ भाडादर राजपत्रमा प्रकाशित गरिएको हो।

प्रदेश भाडा निर्धारण तथा समायोजन सम्बन्धी नियमावली २०७८, बजार मूल्यको उतारचढाव तथा प्रचलित आर्थिक ऐनलाई आधार बनाएर यसअघि २०८० भदौ ७ गतेदेखि लागू भाडादर पुनरावलोकन गरी नयाँ दर तय गरिएको मन्त्रालयले जनाएको छ।

नयाँ व्यवस्थाअनुसार काठमाडौँ उपत्यकाभित्र सञ्चालन हुने यात्रुवाहक सार्वजनिक सवारी साधनको भाडा २५.९६ प्रतिशतले वृद्धि गरिएको छ। यस्तै, पेट्रोलियमबाट सञ्चालन हुने ट्याक्सी सेवामा १२.३९ प्रतिशत, उपत्यका बाहिरका यात्रुवाहक सवारीमा १७.३५ प्रतिशत र मालवाहक सवारी साधनमा २६.७९ प्रतिशतले भाडा बढाइएको छ।

तर, विद्युतीय सवारी साधनको भाडादरमा कुनै परिवर्तन गरिएको छैन। यात्रुवाहक विद्युतीय सवारी तथा ट्याक्सी सेवामा २०७९ वैशाख १ गतेदेखि लागू भाडादर नै यथावत राखिएको मन्त्रालयले स्पष्ट पारेको छ। प्रदेश सरकारले बढ्दो इन्धन मूल्य र सञ्चालन खर्चलाई ध्यानमा राख्दै भाडादर समायोजन गरिएको जनाएको छ।

1

Scroll to Top