भारतको हैदराबादस्थित निजी अन्तरिक्ष कम्पनी स्काइरुट एरोस्पेसले नयाँ इतिहास रचेको छ। सिङ्गापुरको सार्वभौम कोष जीआईसी र सिलिकन भ्यालीस्थित शेर्पालो भेन्चर्सबाट ६ करोड डलर बराबरको नयाँ लगानी भित्रिएसँगै स्काइरुट भारतको पहिलो एक अर्ब डलरभन्दा बढी मूल्याङ्कन भएको निजी अन्तरिक्ष कम्पनी बनेको हो। पछिल्लो लगानीपछि कम्पनीको कुल मूल्याङ्कन १.१ अर्ब डलर पुगेको जनाइएको छ।
कम्पनीले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार हालसम्म स्काइरुटले कुल १६ करोड डलरभन्दा बढी लगानी जुटाइसकेको छ। विश्व चर्चित लगानी व्यवस्थापन कम्पनी ब्ल्याकरकले समेत यस चरणको कोष सङ्कलनमा सहभागिता जनाएको छ। निजी अन्तरिक्ष उद्योगमा विश्वव्यापी चासो बढिरहेका बेला स्काइरुटले प्राप्त गरेको यो सफलता भारतको अन्तरिक्ष क्षेत्रका लागि महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
स्काइरुटले सन् २०२२ मा भारतको पहिलो निजी रूपमा विकसित रकेट प्रक्षेपण गरेर चर्चा बटुलेको थियो। अहिले कम्पनीले आफ्नो पहिलो निजी कक्षीय रकेट ‘विक्रम–१’ को प्रक्षेपणको तयारी गरिरहेको छ। यो रकेट सफलतापूर्वक प्रक्षेपण भएमा भारतको निजी अन्तरिक्ष उद्योगमा नयाँ युग सुरु हुने अपेक्षा गरिएको छ।
भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन इसरोले पछिल्ला केही कक्षीय प्रक्षेपणमा चुनौती सामना गरिरहेका बेला स्काइरुटजस्ता निजी कम्पनीको उदयलाई भारतको अन्तरिक्ष क्षेत्रको विस्तार र प्रतिस्पर्धात्मक क्षमतासँग जोडेर हेरिएको छ। भारतीय अन्तरिक्ष सङ्घका महानिर्देशक अवकाशप्राप्त लेफ्टिनेन्ट जनरल एके भट्टले स्काइरुटमा आएको नयाँ लगानीले भारतको अन्तरिक्ष उद्योगप्रति अन्तर्राष्ट्रिय लगानीकर्ताको विश्वास बढेको बताएका छन्। उनका अनुसार विश्वका ठूला लगानीकर्ताहरूको सहभागिताले भारतलाई अन्तरिक्ष प्रविधि र व्यावसायिक प्रक्षेपण बजारमा नयाँ शक्तिका रूपमा स्थापित गर्न सहयोग पुग्नेछ।
सन् २०१८ मा स्थापना भएको स्काइरुटले सन् २०२० मा भारत सरकारले निजी क्षेत्रका लागि अन्तरिक्ष उद्योग खुला गरेपछि तीव्र गति लिएको हो। कम्पनी इसरोसँग प्रक्षेपण तथा परीक्षण सुविधा प्रयोग गर्ने सम्झौता गर्ने पहिलो निजी स्टार्टअप बनेको थियो। त्यसयता स्काइरुटले प्रविधि विकास, परीक्षण र व्यावसायिक विस्तारमा निरन्तर काम गर्दै आएको छ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा सह–संस्थापक पवन कुमार चन्दनाले रकेट प्रक्षेपण क्षमता सीमित देश र कम्पनीहरूसँग मात्र रहेको भन्दै यो प्रविधि रणनीतिक तथा आर्थिक दुवै हिसाबले अत्यन्त महत्त्वपूर्ण भएको बताए। उनका अनुसार स्काइरुटको सफलताले भारतमा थप विदेशी लगानी आकर्षित गर्नेछ र नयाँ प्रविधिमा आधारित उद्योग विस्तारमा योगदान पुग्नेछ।
यसैबीच, गुगलका प्रारम्भिक लगानीकर्तामध्ये एक तथा शेर्पालो भेन्चर्सका संस्थापक राम श्रीराम स्काइरुटको सञ्चालक समितिमा सामेल हुने भएका छन्। कम्पनीले प्राप्त नयाँ लगानीलाई विक्रम–१ को प्रक्षेपण सङ्ख्या बढाउन, उत्पादन क्षमता विस्तार गर्न तथा आगामी पुस्ताको ‘विक्रम–२’ रकेट विकासलाई तीव्र बनाउन उपयोग गर्ने जनाएको छ। अन्तरिक्ष क्षेत्रमा निजी क्षेत्रको बढ्दो सहभागितासँगै स्काइरुट भारतको प्रविधि तथा नवप्रवर्तनको नयाँ प्रतीकका रूपमा उदाइरहेको विश्लेषण गरिएको छ।


