नेपाल उद्योग वाणिज्य महासंघको प्रत्यक्ष निर्वाचन सम्पन्न भएर नयाँ नेतृत्व चयन भइसके पनि महासंघभित्रको शक्ति सन्तुलन अझै पूर्ण रूपमा टुंगिएको छैन । अध्यक्ष अञ्जन श्रेष्ठसहित नयाँ कार्यसमितिले शपथ ग्रहण गरिसकेको अवस्थामा अब सबैको ध्यान वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष पदको चयनतर्फ केन्द्रित भएको छ ।
महासंघको विधानअनुसार यी दुई पद कार्यकारिणी समिति सदस्यहरूले मतदानमार्फत चयन गर्ने व्यवस्था छ । यद्यपि, पहिलो कार्यकारिणी बैठकको मिति अझै तय नभएकाले व्यवसायिक वृत्तमा नेतृत्व चयनबारे व्यापक चासो र चर्चा भइरहेको छ ।
नवनिर्वाचित अध्यक्ष अञ्जन श्रेष्ठले कार्यभार सम्हालेपछि केही पूर्वअध्यक्ष तथा व्यवसायीहरूको उपस्थितिमा आफ्नो भावी कार्यदिशा सार्वजनिक गरिसकेका छन् । तर महासंघभित्रको वास्तविक शक्ति परीक्षण भने वरिष्ठ उपाध्यक्ष चयनबाट हुने विश्लेषण भइरहेको छ ।
वरिष्ठ उपाध्यक्ष पदका लागि अध्यक्ष श्रेष्ठ निकट समूहभित्रै तीव्र प्रतिस्पर्धा देखिएको छ । जिल्लानगरतर्फका निवर्तमान उपाध्यक्ष सुरकृष्ण वैद्यलाई सबैभन्दा बलियो दाबेदारका रूपमा हेरिएको छ । निर्वाचनमा अध्यक्ष श्रेष्ठ समूहलाई जिल्लानगर क्षेत्रबाट उल्लेखनीय सफलता दिलाउन वैद्यले महत्वपूर्ण भूमिका खेलेको भन्दै अध्यक्षको प्राथमिकतामा उनी परेको बताइन्छ ।
यस्तै, निवर्तमान कोषाध्यक्ष भरत आचार्य, पूर्वउपाध्यक्ष रामचन्द्र संघई तथा किशोर प्रधानले पनि वरिष्ठ उपाध्यक्ष पदमा दाबी प्रस्तुत गरिरहेका छन् । अध्यक्ष श्रेष्ठ समूहले महासंघको कुल कार्यकारिणी सदस्यमध्ये करिब ८० प्रतिशत सदस्य आफ्नो पक्षमा निर्वाचित भएको दाबी गरेको छ । विशेषगरी जिल्लानगर र एशोसिएट समूहमा यस समूहले झन्डै क्लिन स्वीप गरेपछि निर्णय प्रक्रियामा अध्यक्ष समूहको प्रभाव बलियो देखिएको छ ।
व्यवसायिक वृत्तमा भरत आचार्य र रामचन्द्र संघईलाई पनि महत्वपूर्ण दाबेदारका रूपमा हेरिएको छ । एशोसिएट समूहमा अध्यक्ष श्रेष्ठ पक्षलाई बलियो जित दिलाउन उनीहरूले खेलेको भूमिकाका कारण अध्यक्षमाथि उनीहरूमध्ये एकलाई जिम्मेवारी दिन दबाब रहेको चर्चा छ । साथै, निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकाल निकट व्यवसायीहरू पनि यी दुई नेताप्रति सकारात्मक देखिएकाले महासंघभित्र सहमतिको वातावरण बनाउन सहज हुने विश्लेषण गरिएको छ ।
अर्कोतर्फ, केही पूर्वअध्यक्षहरूले भने वरिष्ठताको आधारमा किशोर प्रधानलाई वरिष्ठ उपाध्यक्ष बनाइनुपर्ने धारणा राखेका छन् । अध्यक्ष श्रेष्ठलाई निर्वाचनमा निर्णायक साथ दिएको भन्दै प्रधानको पक्षमा पनि आन्तरिक समर्थन बढिरहेको बताइन्छ ।
यसैबीच, कोषाध्यक्ष पदमा भने अम्बिका पौडेलको सम्भावना बलियो देखिएको छ । लगातार तीन कार्यकाल एशोसिएट सदस्यमा लोकप्रिय मतसहित निर्वाचित हुँदै आएका पौडेलप्रति अध्यक्ष अञ्जन श्रेष्ठ र निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकाल दुवै सकारात्मक रहेको बताइएको छ । त्यसैले उनलाई सर्वसम्मत रूपमा चयन गर्ने तयारी भइरहेको महासंघ निकट स्रोतको दाबी छ ।
हाल महासंघको पदाधिकारी समितिमा अध्यक्ष अञ्जन श्रेष्ठ, निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकाल, जिल्लानगर उपाध्यक्ष कृष्णप्रसाद शर्मा, एशोसिएट उपाध्यक्ष प्रबलजंग पाण्डे तथा बस्तुगत समूहका उपाध्यक्ष नरेशलाल श्रेष्ठ रहेका छन् । अब वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयनसँगै महासंघको आठ सदस्यीय पदाधिकारी समिति पूर्ण हुनेछ ।
व्यवसायीहरूका अनुसार आगामी पहिलो कार्यकारिणी बैठकले महासंघभित्रको आगामी शक्ति समीकरण, सहकार्यको शैली तथा नेतृत्वको कार्यदिशा स्पष्ट पार्नेछ ।


