Banijya News

गोदाममा राखिएको अन्न धितो राखेर बैंक ऋण, किसान र साना व्यापारीलाई नयाँ राहत

1
1.0K Shares

नेपालमा पहिलो पटक गोदाममा भण्डारण गरिएको अन्नलाई धितो मानेर बैंकबाट कर्जा प्रवाह गर्ने व्यवस्था सुरु गरिएको छ । नेपाल वेयरहाउजिङ कम्पनी र लक्ष्मी सनराइज बैंकबीचको सहकार्यमा सुरु भएको यो प्रणालीले किसान तथा साना व्यापारीलाई वित्तीय पहुँच विस्तार गर्ने अपेक्षा गरिएको छ ।

नेपाल वेयरहाउजिङ कम्पनीका महाप्रबन्धक नरेन्द्रप्रसाद भट्टका अनुसार गोदाममा राखिएको अन्नको आधारमा ‘वेयरहाउस रिसिप्ट फाइनान्सिङ’ अर्थात् गोदामघर रसिदमार्फत कर्जा उपलब्ध गराउने अभ्यास नेपालमा पहिलो पटक वाणिज्य बैंकमार्फत लागू गरिएको हो । बैंकले शारदा छिन्नमस्ता ट्रेडर्सको पहिलो कर्जा स्वीकृत गरेसँगै औपचारिक रूपमा यो सेवा सुरु भएको उनले जानकारी दिए ।

भट्टका अनुसार विकसित देशहरूमा यस्तो प्रणाली सामान्य अभ्यास भए पनि नेपालमा स्पष्ट नीतिगत व्यवस्था नहुँदा हालसम्म प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेको थिएन । यसअघि सहकारी, गैरसरकारी संस्था तथा अन्तर्राष्ट्रिय संस्थाको सीमित सहकार्यमा साना स्तरमा यस्ता प्रयास भए पनि वाणिज्य बैंकको प्रत्यक्ष सहभागितामा सञ्चालन गरिएको यो पहिलो मोडल हो ।

यस प्रणालीअन्तर्गत किसान वा व्यापारीले आफ्नो अन्न नेपाल वेयरहाउजिङ कम्पनीको गोदाममा भण्डारण गर्नुपर्छ । भण्डारणपछि कम्पनीले गोदामघर रसिद जारी गर्छ । यही रसिदलाई धितो मानी लक्ष्मी सनराइज बैंकले अन्नको बजार मूल्यको ७० प्रतिशतसम्म कर्जा उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

हाल व्यक्तिगत ग्राहकले अधिकतम १५ लाख रुपैयाँ र संस्थागत ग्राहकले २ करोड रुपैयाँसम्म कर्जा पाउने व्यवस्था छ । उदाहरणका लागि, १ हजार मेट्रिक टन अन्न भण्डारण गर्ने सर्तमा १ करोड रुपैयाँ कर्जा स्वीकृत भएमा आधा अन्न भण्डारण गर्दा ५० लाख रुपैयाँ उपलब्ध हुन्छ भने बाँकी अन्न थपेपछि थप रकम निकासा हुने व्यवस्था रहेको बैंकले जनाएको छ ।

कर्जा चुक्ता गरेपछि मात्र धितो फुकुवा हुने र त्यसपछि मात्रै अन्न बिक्री वा निकासी गर्न पाइने व्यवस्था छ । ग्राहकले किस्ताबन्दीमा कर्जा लिन र तिर्न सक्ने सुविधा पनि राखिएको छ ।

कृषि क्षेत्रमा यस्तो अभ्यासले विशेषगरी किसान र साना व्यापारीलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ । नेपालमा बाली उत्पादनको समयमा बजारमा अन्नको अत्यधिक आपूर्ति हुने भएकाले मूल्य घट्ने समस्या देखिने गरेको छ । त्यसका कारण किसानले कम मूल्यमा उत्पादन बेच्नुपर्ने बाध्यता रहँदै आएको छ ।

अब भने किसानले तुरुन्तै अन्न बिक्री गर्नुपर्ने दबाबबाट राहत पाउने विश्वास गरिएको छ । उनीहरूले गोदाममा अन्न सुरक्षित राखेर बैंकबाट कर्जा लिन सक्नेछन् र बजार मूल्य अनुकूल भएपछि मात्रै अन्न बिक्री गर्न सक्नेछन् ।

साना व्यापारीले पनि यसबाट प्रत्यक्ष लाभ पाउने अपेक्षा गरिएको छ । पूँजी अभावका कारण किसानबाट खरिद गरेको अन्न तत्काल ठूला व्यापारीलाई बेच्नुपर्ने अवस्था हट्न सक्ने व्यवसायीहरूको भनाइ छ ।

यद्यपि, नेपालमा वेयरहाउस रिसिप्ट फाइनान्सिङसम्बन्धी स्पष्ट नीति नहुँदा प्रक्रिया केही जटिल बनेको नेपाल वेयरहाउजिङ कम्पनीको भनाइ छ । हाल बैंकहरूले यसलाई चालु पूँजी कर्जाको मापदण्डभित्र राखेर कार्यान्वयन गरिरहेका छन् ।

महाप्रबन्धक भट्टले नेपाल राष्ट्र बैंकले स्पष्ट नीतिगत व्यवस्था गरेमा यस्तो कर्जा थप सहज, सरल र प्रभावकारी हुने बताए । साथै, भविष्यमा कमोडिटी बजार सञ्चालनमा आएपछि गोदामघर रसिद प्रणाली अझ महत्वपूर्ण बन्ने र कृषि व्यापारलाई आधुनिक तथा व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

1

Scroll to Top