Banijya News

टुक्रे आयोजना नराख्ने, स्वर्णीमले कस्तो ल्याउँदैछन् बजेट ?

1
1.1K Shares

फागुन २१ को निर्वाचनपछि झण्डै ५० प्रतिशत लोकप्रिय मतसहित सत्तामा पुगेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ को नीति तथा कार्यक्रम र बजेटलाई आफ्नो कार्यक्षमताको पहिलो ठूलो परीक्षा बनाएको छ । युवा प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले सुशासन, पूर्वाधार विस्तार र आर्थिक पुनरुत्थानलाई केन्द्रमा राखेर बजेट तयारी तीव्र बनाइरहेको छ भने अर्थमन्त्री स्वर्णीम वाग्लेले यसलाई नेपालको “आर्थिक प्रस्थान विन्दु” बनाउने दाबी गरेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले केही दिनमै संसद्मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी भइरहेका बेला प्रधानमन्त्री कार्यालयले आम नागरिकबाट सुझाव संकलन गर्न छुट्टै पोर्टलसमेत सञ्चालनमा ल्याएको छ। सरकारको दाबी छ—यसपटकको बजेट परम्परागत वितरणमुखी नभई परिणाममुखी हुनेछ। तर जनतामा उत्साहसँगै आशंका पनि उस्तै छन्, किनकि सात दशक लामो बजेट इतिहासमा धेरै सरकारले समृद्धि, रोजगारी र विकासका सपना बाँडे पनि ती अधिकांश घोषणामै सीमित भएका छन्।

यसपटक भने परिस्थिति फरक रहेको दाबी सरकारले गरिरहेको छ। जेनजी आन्दोलनको राजनीतिक ऊर्जा, युवा नेतृत्व, विश्व बैंकका पूर्वअर्थशास्त्री अर्थमन्त्री, बलियो जनादेश र व्यापक जनअपेक्षाले सरकारलाई फरक ढंगले काम गर्न दबाब दिएको छ। यही कारण आगामी बजेटलाई धेरैले “विश्वास पुनःस्थापनाको दस्तावेज” का रूपमा हेर्न थालेका छन्।

तर सरकारसामु चुनौती कम छैनन्। सीमित आन्तरिक स्रोत, विश्वव्यापी आर्थिक मन्दी, मध्यपूर्वमा चर्किएको युद्ध र बदलिँदो भू–राजनीतिक अवस्थाले वैदेशिक ऋण तथा अनुदानको सम्भावना कमजोर बनाएको छ। राजस्व संकलन अपेक्षाअनुसार बढ्न सकेको छैन भने सार्वजनिक ऋणको भार पनि बढिरहेको छ। यस्ता कठिन परिस्थितिबीच सरकारले ठूला पूर्वाधार आयोजना र आर्थिक सुधारलाई सन्तुलित ढंगले अघि बढाउनुपर्ने चुनौती सामना गरिरहेको छ।

सरकारले आगामी बजेटमा विशेषगरी सडक तथा पुल पूर्वाधारलाई प्राथमिकतामा राखेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मुख्य राजमार्गहरूको स्तरोन्नति र निर्माण सम्पन्नलाई शीर्ष प्राथमिकतामा राखेको छ भने शहरी विकास मन्त्रालयले ग्रामीण सडक र पुल विस्तारलाई जोड दिएको छ।

मन्त्रालयका अधिकारीहरूका अनुसार यसपटक “टुक्रे आयोजना” मा बजेट नछर्ने नीति लिइएको छ। विगतमा सांसदहरूको दबाबमा साना–साना सडक र स्थानीय योजनामा बजेट विभाजन हुँदा राष्ट्रिय प्राथमिकताका आयोजना प्रभावित हुने गरेका थिए। गत वर्ष तीन करोड रुपैयाँभन्दा कम लागतका आयोजना नराख्ने घोषणा भए पनि अन्तिम समयमा धेरै आयोजना समावेश भएका थिए। यसपटक भने भौतिक पूर्वाधार मन्त्रालयले मुख्य राजमार्ग र राष्ट्रिय महत्वका सडकलाई मात्रै प्राथमिकता दिने संकेत गरेको छ।

पूर्व–पश्चिम राजमार्ग सरकारको मुख्य प्राथमिकतामा परेको छ। झापादेखि दाङको धानखोलासम्म सडक विस्तारको काम ऋण तथा अनुदान सहयोगमा अघि बढिसकेको छ। राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्ने केही खण्डमा डिजाइन अन्तिम चरणमा छ। आगामी बजेटमा सुदूरपश्चिमको गड्डाचौकीदेखि कर्णाली पुलसम्मको खण्ड फराकिलो बनाउन पर्याप्त बजेट विनियोजन गर्ने तयारी गरिएको छ। बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा भने तत्काल ट्राफिक चाप कम भएकाले विस्तारलाई प्राथमिकता नदिइने संकेत गरिएको छ।

भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालले बुटवल–पोखरा सडक विस्तारलाई पनि उच्च प्राथमिकतामा राखेका छन्। सिद्धार्थ राजमार्ग साँघुरो हुँदा यात्रुहरूले लामो समय सास्ती खेप्दै आएका छन्। गत वर्ष पनि यो सडक विस्तारको घोषणा गरिएको थियो, तर प्रस्तावित चिनियाँ ऋण महँगो पर्ने देखिएपछि स्रोत सुनिश्चित हुन सकेको थिएन। अहिले सरकार वैकल्पिक वित्तीय स्रोत खोजिरहेको छ।

सरकारले काठमाडौं–तराई द्रुतमार्गलाई चक्रपथसँग जोड्ने नयाँ योजना पनि अघि बढाएको छ। नेपाली सेनाले ललितपुरको फर्सिडोलसम्म सडक निर्माण गर्ने र त्यसपछि सडक विभागले रिङरोडसम्म जोड्ने तयारी गरेको सरकारी अधिकारीहरूले बताएका छन्। त्यस्तै चिनियाँ अनुदानमा बन्न लागेको कलंकी–बसुन्धरा सडक विस्तारलाई तीव्र गतिमा अघि बढाउने नीति लिइएको छ। केही दिनअघि मात्रै नेपाल सरकार र चिनियाँ प्रतिनिधिबीच आयोजना अघि बढाउने समझदारीमा हस्ताक्षर भइसकेको छ।

नीति तथा कार्यक्रममा नागढुंगा र सिद्धबाबा सुरुङमार्ग सञ्चालनमा ल्याउने, नागढुंगा–मुग्लिन सडक सम्पन्न गर्ने तथा चितवन–बुटवल सडक निर्माण अन्तिम चरणमा पु¥याउने योजना पनि समेटिने भएको छ।

यद्यपि “टुक्रे आयोजना नराख्ने” सरकारी दाबीबीच राजनीतिक दबाब भने कायमै देखिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले सबै १६५ निर्वाचन क्षेत्रमा केही न केही सडक आयोजना समावेश गर्न निर्देशन दिएपछि शहरी विकास मन्त्रालय र स्थानीय पूर्वाधार विकास विभाग त्यसैमा केन्द्रित भएका छन्। विभागले तयार गरेको सडक सूचीमा सांसदहरूले मन्त्रीसँग छलफल गरिरहेका छन्।

स्थानीय पूर्वाधार विकास विभागका महानिर्देशक अशोक कुमार साहका अनुसार दुई राजमार्गबीच जोड्ने सडक, औद्योगिक क्षेत्र जोड्ने सडक, पर्यटकीय सडक तथा बस्तीलाई बजारसँग जोड्ने सडकलाई निर्वाचन क्षेत्रका आधारमा छनोट गरिनेछ। उनका अनुसार आगामी वर्ष सडकभन्दा बढी पुल निर्माणमा जोड दिइनेछ। देशभर एक लाख किलोमिटरभन्दा बढी सडक पुगे पनि अधिकांश ग्रामीण क्षेत्रमा पक्की पुल नहुँदा वर्षायाममा यातायात पूर्ण रूपमा अवरुद्ध हुने गरेको छ। यही समस्यालाई ध्यानमा राख्दै सरकारले यसपटक ग्रामीण सडकलाई पुलमार्फत बाह्रै महिना सञ्चालनयोग्य बनाउने योजना अघि सारेको छ।

‘गाउँ–गाउँमा सडक पुगे पनि पुल नहुँदा जनताले ठूलो सास्ती खेप्नुपरेको छ,’ महानिर्देशक साहले भने, ‘यसपटक विगतका वर्षभन्दा धेरै गुणा बढी पुल निर्माणको योजना बनाइएको छ। केन्द्र सरकारले निर्माण गर्ने ठाउँमा आफैं बनाउँछ, अन्यत्र प्रदेश र स्थानीय तहलाई सशर्त अनुदान दिने तयारी छ।’

यसबीच राष्ट्रिय योजना आयोगले विभिन्न आठ सडक आयोजनाका लागि बहुवर्षीय स्रोत सहमतिका निम्ति अर्थ मन्त्रालयमा सिफारिस गरेको छ। आयोगले धनगढी–खुटिया–दिपायल–चैनपुर–उरैभन्ज्याङ सडक, खुलालु–सल्लिसल्ला सडक तथा त्यसअन्तर्गतका पुल, कर्णाली कोरिडोरको हिल्सा–सिमकोट खण्ड, भेरी कोरिडोरअन्तर्गतका सडक तथा पुल र रोल्पास्थित सहिद मार्गजस्ता परियोजनालाई प्राथमिकतामा राखेको छ।

भौतिक पूर्वाधार मन्त्रालयबाट मात्रै करिब नौ अर्ब ९० करोड रुपैयाँ बराबरका बहुवर्षीय आयोजना प्रस्ताव गरिएको छ। यस्तै शहरी विकास मन्त्रालयअन्तर्गत ५३ आयोजनाका लागि तीन अर्ब ८१ करोड रुपैयाँ बराबरको स्रोत सहमति मागिएको छ। पूर्वाधारसँगै स्वास्थ्य क्षेत्रका केही आयोजना पनि प्राथमिकतामा परेका छन्। राष्ट्रिय योजना आयोगले नरदेवी आयुर्वेद चिकित्सालय, लगनखेलस्थित मानसिक अस्पताल, अछाम जिल्ला अस्पताल तथा प्राकृतिक तथा वैकल्पिक चिकित्सा सेवा सहितको १०० शय्याको आयुर्वेद अस्पताल भवन निर्माणका लागि स्रोत सहमतिका निम्ति अर्थ मन्त्रालयमा सिफारिस गरिसकेको छ।

सरकारले आगामी बजेटलाई आर्थिक सुधार, पूर्वाधार विस्तार र सुशासनको संयुक्त अभियानका रूपमा प्रस्तुत गर्न खोजिरहेको छ। तर जनताको अपेक्षा अत्यन्त उच्च भएकाले परिणाम देखाउन सरकारमाथि ठूलो दबाब छ। विगतमा जस्तै घोषणामै सीमित हुने हो भने जनविश्वास चाँडै कमजोर हुन सक्छ। तर यदि सरकार साँच्चै टुक्रे राजनीति त्यागेर दीर्घकालीन आर्थिक र पूर्वाधार सुधारमा केन्द्रित भयो भने स्वर्णीम वाग्लेले भनेझैं आगामी बजेट नेपालको “आर्थिक प्रस्थान विन्दु” बन्न सक्ने सम्भावना भने अझै बाँकी छ। नेपालमा योजनाबद्ध बजेट प्रणालीको सुरुवात २०१३ सालमा सुवर्ण समशेरले ल्याएको पाँच करोड रुपैयाँको बजेटबाट भएको मानिन्छ। अहिले बजेटको आकार करिब १९ खर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ। यो अवधिमा नेपालले राणा शासनदेखि पञ्चायत, बहुदल र गणतन्त्रसम्मका राजनीतिक परिवर्तन देख्यो। विश्व बैंकमा काम गरेका अर्थशास्त्रीदेखि राजनीतिक पृष्ठभूमिका नेतासम्म अर्थमन्त्री बने। तर प्रतिव्यक्ति आय अझै १४–१५ सय डलरको हाराहारीमै सीमित छ। बेरोजगारी, गरिबी र वैदेशिक पलायन अझै चुनौतीका रूपमा उभिएका छन्।

1

Scroll to Top