Banijya News

हुम्ला–बाजुरा सीमा विवाद चर्किँदा सरकारलाई ध्यानाकर्षण

1
1.1K Shares

हुम्ला र बाजुरा जिल्लाबीच लामो समयदेखि जारी सीमा विवाद चर्किँदै जाँदा संघीय संसदमा यस विषयले गम्भीर ध्यानाकर्षण पाएको छ। प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समयमा बोल्दै विभिन्न सांसदहरूले सरकारसँग तत्काल पहल गरेर विवाद समाधान गर्न माग गरेका छन्। उनीहरूले सीमा विवादका कारण कर्णाली राजमार्ग अवरुद्ध हुँदा आम नागरिकले भोग्नुपरेको समस्या तत्काल समाधान गर्न आग्रह गरेका हुन्।

सांसद जयपति रोकायाले हुम्ला–बाजुरा सीमा विवादले कर्णाली राजमार्ग पूर्ण रूपमा प्रभावित भएको भन्दै सरकारको ध्यानाकर्षण गराए। उनले राजमार्ग अवरुद्ध हुँदा बिरामी, परीक्षा दिन जाने विद्यार्थी तथा अत्यावश्यक कामका लागि आवतजावत गर्ने सर्वसाधारण मारमा परेको बताए। “यस्तो संवेदनशील विषयलाई सरकारले गम्भीरतापूर्वक लिएर वार्ता र संवादमार्फत तत्काल समाधान खोज्नुपर्छ,” उनले जोड दिए।

त्यस्तै, सांसद केपी खनालले रानीसिंह क्षेत्रको सीमा विवादका क्रममा धनगढी उपमहानगरपालिकाका प्रमुख गोपी हमालसहितको टोलीमाथि भएको दुव्र्यवहारप्रति आपत्ति जनाए। उनले साइपाल क्षेत्र जडीबुटी र वन्यजन्तुको महत्वपूर्ण स्रोत भएको उल्लेख गर्दै त्यहाँ वर्षौंदेखि भइरहेको अवैध तस्करी नियन्त्रण गर्न खोज्दा समस्या उत्पन्न भएको बताए। उनले सो क्षेत्रमा प्रहरी चौकी स्थापना गरी सुरक्षाको व्यवस्था गर्न तथा प्राकृतिक स्रोतको संरक्षणमा सरकार गम्भीर हुनुपर्ने धारणा राखे।

सांसद जनकराज गिरीले जेठ ४ गते हिमाली गाउँपालिका–३ मा भएको साङ्घातिक आक्रमणप्रति सरकारको ध्यानाकर्षण गराए। उक्त घटनामा प्रहरी सहायक निरीक्षक महेश धामी र प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापासहितका व्यक्तिहरू घाइते भएको उल्लेख गर्दै उनले दोषीमाथि कारबाही र शान्ति सुरक्षाको प्रत्याभूति गर्न माग गरे। साथै, उनले सीमा विवादलाई दीर्घकालीन रूपमा समाधान गर्न स्पष्ट नीति आवश्यक रहेको बताए।

बैठकमा अन्य समसामयिक विषय पनि उठाइएका थिए। सांसद निस्कल राईले प्रतिपक्ष दलले सरकारलाई सदनप्रति उत्तरदायी बनाउन खोज्दा पनि सरकारले संसद्को मर्यादा पालना नगरेको आरोप लगाए। उनले संसदीय परम्परालाई कमजोर पार्ने गतिविधि रोक्न सरकारलाई आग्रह गरे।

त्यसैगरी, सांसद अशोक चौधरीले इटहरीमा जेनजी आन्दोलनका क्रममा दमकल र एम्बुलेन्समा भएको क्षतिप्रति चिन्ता व्यक्त गर्दै तत्काल नयाँ सवारीसाधनको व्यवस्था गर्न माग गरे। उनले आपतकालीन सेवामा कुनै पनि अवरोध हुन नदिन सरकार सतर्क रहनुपर्ने बताए।

ऊर्जा क्षेत्रमा देखिएका समस्याबारे पनि सांसदहरूले आवाज उठाएका छन्। सांसद वासना थापाले दैलेखको गुराँस गाउँपालिका–७ मा करेन्ट लागेर घाइते भएका एक युवकको उदाहरण दिँदै नेपाल विद्युत् प्राधिकरणको लापरवाहीप्रति प्रश्न उठाइन्। उनले यस्ता घटनाको पुनरावृत्ति रोक्न आवश्यक सुधार गर्न माग गरिन्। सांसद शोभा खनालले गोरखाका केही पालिकामा विद्युत् आपूर्तिमा समस्या रहेको उल्लेख गर्दै समाधानका लागि प्राधिकरणको ध्यानाकर्षण गराइन्।

1

Scroll to Top