Banijya News

व्यावसायिक भ्रमणमा काठमाडौं अग्रस्थान, शीर्ष १० जिल्लामा मकवानपुर र रुपन्देहीपछि मोरङ

1
1.0K Shares

नेपालमा आन्तरिक व्यावसायिक भ्रमण (बिजनेश भिजिट) का लागि सबैभन्दा धेरै रोजिने जिल्ला काठमाडौं बनेको छ। राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको आन्तरिक पर्यटन सर्वेक्षण प्रतिवेदनअनुसार आर्थिक, औद्योगिक तथा प्रशासनिक गतिविधिको केन्द्रका रूपमा रहेको काठमाडौंले कुल व्यावसायिक भ्रमणको झन्डै ४४ प्रतिशत हिस्सा ओगटेको छ।

प्रतिवेदनले २०८१ असोजदेखि २०८२ भदौसम्मको अवधिमा देशभर तीन लाख ९४ हजार ३७७ वटा आन्तरिक व्यावसायिक भ्रमण भएको देखाएको छ। तीमध्ये एक लाख ७३ हजार २८३ वटा भ्रमण काठमाडौंमा केन्द्रित भएका छन्, जुन कुल व्यावसायिक भ्रमणको ४३.९३ प्रतिशत हो। सरकारी कार्यालय, निजी क्षेत्रका मुख्यालय, वित्तीय संस्था तथा व्यापारिक गतिविधिको केन्द्र भएकाले काठमाडौं व्यवसायिक यात्राको प्रमुख गन्तव्य बनेको प्रतिवेदनले संकेत गरेको छ।

व्यावसायिक भ्रमणको सूचीमा दोस्रो स्थान मकवानपुरले हासिल गरेको छ। समीक्षा अवधिमा मकवानपुरमा ३० हजार व्यावसायिक भ्रमण भएको छ, जसको हिस्सा ७.६१ प्रतिशत रहेको छ। हेटौंडा औद्योगिक क्षेत्र, उत्पादनमूलक उद्योग तथा मध्य नेपालको व्यापारिक केन्द्रका रूपमा विकास हुँदै गएको कारण मकवानपुरमा व्यवसायिक आवतजावत बढेको विश्लेषण गरिएको छ।

तेस्रो स्थानमा रहेको रुपन्देहीमा २९ हजार ७९४ वटा व्यावसायिक भ्रमण भएको छ। कुल भ्रमणमा यसको हिस्सा ७.५५ प्रतिशत रहेको छ। उद्योग, व्यापार, सेवा क्षेत्र तथा अन्तर्राष्ट्रिय विमानस्थलको उपस्थितिले रुपन्देहीलाई व्यावसायिक गतिविधिको महत्वपूर्ण केन्द्र बनाएको छ। धार्मिक तथा पर्यटकीय महत्वसँगै व्यापारिक अवसर विस्तार भएकाले पनि त्यहाँ व्यावसायिक भ्रमण उल्लेख्य रहेको देखिएको छ।

उद्योग तथा उत्पादन क्षेत्रका लागि परिचित मोरङ चौथो स्थानमा परेको छ। समीक्षा अवधिमा मोरङमा २९ हजार २९८ वटा व्यावसायिक भ्रमण भएको छ, जुन कुल भ्रमणको ७.४३ प्रतिशत हो। विराटनगर औद्योगिक करिडोर तथा पूर्वी नेपालको प्रमुख व्यापारिक केन्द्र भएकाले मोरङमा व्यावसायिक आवागमन निरन्तर उच्च रहेको प्रतिवेदनले देखाएको छ।

पाँचौं स्थानमा रहेको चितवनमा २२ हजार ७४३ वटा व्यावसायिक भ्रमण भएको छ। यसको हिस्सा ५.७७ प्रतिशत रहेको छ। कृषि, उद्योग, स्वास्थ्य सेवा, होटल व्यवसाय तथा पर्यटनको केन्द्रका रूपमा चितवनले व्यावसायिक यात्रुलाई आकर्षित गरिरहेको छ।

छैटौं स्थानमा सुर्खेत परेको छ। कर्णाली प्रदेशको प्रमुख व्यापारिक केन्द्रका रूपमा विकसित हुँदै गएको सुर्खेतमा समीक्षा अवधिमा १५ हजार ६२१ वटा व्यावसायिक भ्रमण भएको छ। कुल भ्रमणमा यसको हिस्सा ३.९६ प्रतिशत रहेको छ। जडीबुटी, कृषि उत्पादन, सरकारी सेवा तथा प्रदेशस्तरीय प्रशासनिक गतिविधिका कारण सुर्खेतमा व्यवसायिक यात्रा बढ्दो क्रममा रहेको देखिएको छ।

सातौं स्थानमा कास्की रहेको छ। पर्यटनको प्रमुख गन्तव्य पोखरा अवस्थित कास्कीमा १४ हजार ६७३ वटा व्यावसायिक भ्रमण भएको छ, जुन कुल भ्रमणको ३.७२ प्रतिशत हो। पर्यटनसँगै होटल, बैंकिङ, शिक्षा र सेवा क्षेत्र विस्तार हुँदै जाँदा व्यावसायिक गतिविधि पनि बढिरहेको प्रतिवेदनले उल्लेख गरेको छ।

आठौं स्थानमा कैलाली रहेको छ, जहाँ समीक्षा अवधिमा १३ हजार ८३४ वटा व्यावसायिक भ्रमण भएको छ। यसको हिस्सा ३.५१ प्रतिशत छ। सुदूरपश्चिम प्रदेशको व्यापारिक केन्द्रका रूपमा धनगढीको विकाससँगै व्यावसायिक आवागमन बढेको देखिन्छ।

नवौं स्थानमा कञ्चनपुर परेको छ। त्यहाँ ११ हजार ५०८ वटा व्यावसायिक भ्रमण भएको छ, जुन कुलको २.९२ प्रतिशत हो। सीमा व्यापार, कृषि तथा सेवा क्षेत्रका गतिविधिले कञ्चनपुरमा व्यवसायिक यात्रा बढाउन सहयोग गरेको प्रतिवेदनले जनाएको छ।

शीर्ष १० को सूचीमा झापा दशौं स्थानमा रहेको छ। समीक्षा अवधिमा झापामा ६ हजार ४३४ वटा व्यावसायिक भ्रमण भएको छ, जसको हिस्सा १.६३ प्रतिशत रहेको छ। पूर्वी नेपालको प्रमुख व्यापारिक नाकासँग जोडिएको झापामा कृषि, उद्योग, व्यापार तथा सेवा क्षेत्रको विस्तारसँगै व्यावसायिक गतिविधि पनि क्रमशः बढ्दै गएको प्रतिवेदनले औंल्याएको छ।

राष्ट्रिय तथ्यांक कार्यालयको प्रतिवेदनले नेपालमा आर्थिक गतिविधि केन्द्रित भएका, औद्योगिक विकास भएका तथा सेवा क्षेत्र विस्तार भएका जिल्लाहरूमा आन्तरिक व्यावसायिक भ्रमण उल्लेखनीय रूपमा केन्द्रित रहेको देखाएको छ। यसले देशभित्रको आर्थिक चलायमान अवस्था, व्यापारिक सम्बन्ध र आन्तरिक बजारको विस्तारलाई समेत प्रतिबिम्बित गरेको विश्लेषण गरिएको छ।

1

Scroll to Top