Banijya News

घरजग्गा बजारमा पुनः चहलपहल, कारोबार मूल्य १८३ अर्ब नाघ्यो

1
1.0K Shares

नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले सार्वजनिक गरेको ‘घरजग्गा कारोबारको प्रवृत्ति तथा वर्तमान स्थिति’ सम्बन्धी प्रतिवेदनले देशको घरजग्गा बजारमा उल्लेखनीय सुधार देखिएको निष्कर्ष निकालेको छ। आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रयमाससम्मको तथ्याङ्कअनुसार घरजग्गा किनबेच, कारोबारको मूल्य, राजस्व संकलन तथा अधिकांश स्थानीय तहमा हुने कारोबारमा उल्लेखनीय वृद्धि देखिएको हो। अघिल्लो वर्षको सुस्त बजारको तुलनामा यस वर्ष घरजग्गा क्षेत्रमा पुनः चहलपहल बढेको प्रतिवेदनले देखाएको छ।

प्रतिवेदनअनुसार समीक्षा अवधिमा राष्ट्रियस्तरमा घरजग्गा कारोबार सङ्ख्या अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.४२ प्रतिशतले वृद्धि भएको छ। गत वर्ष यही अवधिमा कारोबार सङ्ख्या ४.५२ प्रतिशतले घटेको थियो। यसले घरजग्गा बजारमा लगानीकर्ता र सर्वसाधारणको विश्वास क्रमशः फर्किन थालेको संकेत गरेको राष्ट्र बैंकको विश्लेषण छ।

कारोबारको प्रकृतिअनुसार लिखतपारितअन्तर्गत हुने कारोबार ०.६२ प्रतिशतले वृद्धि भएको छ भने राजीनामा कारोबार १२.१७ प्रतिशतले बढेको छ। यससँगै कारोबार भएको कुल क्षेत्रफल पनि १.६० प्रतिशतले विस्तार भएको प्रतिवेदनमा उल्लेख छ। समीक्षा अवधिमा देशभर १८३ अर्ब ९० करोड रुपैयाँ बराबरको घरजग्गा किनबेच भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यो रकम १०० अर्ब ७ करोड रुपैयाँ मात्रै रहेको थियो। यसरी एक वर्षको अवधिमा घरजग्गा कारोबारको मूल्यमा झण्डै दोब्बर वृद्धि भएको देखिएको छ।

घरजग्गा कारोबार बढेसँगै सरकारको राजस्व संकलनमा पनि सकारात्मक प्रभाव परेको छ। प्रतिवेदनअनुसार घरजग्गा कारोबारबाट उठ्ने राजस्व २३.७२ प्रतिशतले बढेको छ। त्यस्तै पुँजीगत लाभकर संकलनमा ३१.४२ प्रतिशतको उल्लेखनीय वृद्धि भएको छ। कारोबार विस्तारले सरकारी राजस्व वृद्धिमा प्रत्यक्ष योगदान दिएको राष्ट्र बैंकले जनाएको छ।

यद्यपि घरजग्गा क्षेत्रमा प्रवाह हुने बैंक तथा वित्तीय संस्थाको कर्जा वृद्धिदर भने केही सुस्त देखिएको छ। अघिल्लो वर्ष ७.५२ प्रतिशत रहेको कर्जा वृद्धिदर समीक्षा अवधिमा घटेर ५.५५ प्रतिशतमा सीमित भएको प्रतिवेदनले देखाएको छ। यसले बजारमा कारोबार बढे पनि कर्जाको विस्तार अपेक्षाकृत कम गतिमा भएको संकेत गरेको छ।

महानगरपालिकाहरूको अवस्थाले घरजग्गा बजारमा अझ सकारात्मक संकेत दिएको छ। देशका छवटै महानगरपालिकामा कारोबार सङ्ख्या, क्षेत्रफल तथा कारोबार मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। विशेषगरी काठमाडौं महानगरपालिका सबै सूचकमा अग्रस्थानमा देखिएको छ। काठमाडौंमा कुल कारोबार सङ्ख्या १०८.४२ प्रतिशतले बढेको छ भने कारोबार भएको कुल क्षेत्रफल ११९.८९ प्रतिशतले विस्तार भएको छ। कारोबारको कुल मूल्यमा भने २२३.१२ प्रतिशतको अत्यधिक वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ।

काठमाडौंपछि पोखरा महानगरपालिकामा कारोबार सङ्ख्या ८२.१५ प्रतिशतले बढेको छ। ललितपुर महानगरपालिकामा ७३.८१ प्रतिशत, वीरगञ्ज महानगरपालिकामा ३१.०७ प्रतिशत, भरतपुर महानगरपालिकामा २९.२१ प्रतिशत तथा विराटनगर महानगरपालिकामा २७.९२ प्रतिशतले कारोबार वृद्धि भएको देखिएको छ। यसले देशका प्रमुख शहरी क्षेत्रमा घरजग्गा बजार पुनः सक्रिय बन्दै गएको संकेत गरेको छ।

उपमहानगरपालिकाहरूको अवस्थाले पनि बजारमा सुधार आएको पुष्टि गरेको छ। कलैया उपमहानगरपालिका बाहेक अन्य सबै उपमहानगरपालिकामा कारोबार सङ्ख्या बढेको प्रतिवेदनले देखाएको छ। बुटवल उपमहानगरपालिकामा कारोबार सङ्ख्या सबैभन्दा धेरै ५६.७९ प्रतिशतले बढेको छ भने कलैयामा ६.९५ प्रतिशतले घटेको छ।

कारोबार भएको कुल क्षेत्रफलका आधारमा हेर्दा कलैया र नेपालगञ्ज बाहेक सबै उपमहानगरपालिकामा वृद्धि देखिएको छ। तुलसीपुर उपमहानगरपालिकामा क्षेत्रफल ४२.७४ प्रतिशतले बढेको छ भने नेपालगञ्जमा ६८.२९ प्रतिशतले घटेको छ। यद्यपि कारोबारको कुल मूल्य भने देशका ११ वटै उपमहानगरपालिकामा वृद्धि भएको छ। तुलसीपुरमा कारोबार मूल्य १३४.४६ प्रतिशतले बढ्दै सबैभन्दा उच्च वृद्धि भएको प्रतिवेदनले जनाएको छ।

प्रदेशगत विश्लेषणले पनि घरजग्गा बजारमा मिश्रित तर सकारात्मक अवस्था देखाएको छ। कारोबार भएको कुल क्षेत्रफलका आधारमा गण्डकी प्रदेशमा सबैभन्दा धेरै २४.८४ प्रतिशतको वृद्धि भएको छ। विपरीत रूपमा मधेस प्रदेशमा ९.३३ प्रतिशतले क्षेत्रफल घटेको छ। तर कारोबारको कुल मूल्य भने सातवटै प्रदेशमा बढेको देखिएको छ। बागमती प्रदेशमा सबैभन्दा धेरै १३१.५२ प्रतिशतले कारोबार मूल्य बढेको छ भने मधेस प्रदेशमा सबैभन्दा कम २२.६७ प्रतिशतको वृद्धि भएको छ।

राजीनामा कारोबारका आधारमा पनि बागमती प्रदेश अग्रस्थानमा रहेको छ। यस प्रदेशमा यस्तो कारोबार ३३.०१ प्रतिशतले बढेको छ। मधेस प्रदेशमा भने राजीनामा कारोबार ४.७९ प्रतिशतले घटेको छ। बाँकी सबै प्रदेशमा सकारात्मक वृद्धि देखिएको राष्ट्र बैंकले जनाएको छ।

जग्गाको आकारका आधारमा गरिएको विश्लेषणले सातवटै प्रदेशमा साढे दुई आनादेखि १० आनासम्मका प्लटहरूको कारोबार सबैभन्दा धेरै भएको देखाएको छ। अघिल्लो वर्ष मधेस प्रदेशमा २० आनाभन्दा ठूला जग्गाको कारोबार बढी हुने गरेकोमा यस वर्ष भने साना तथा मध्यम आकारका प्लटप्रति आकर्षण बढेको प्रतिवेदनले देखाएको छ। यसले आवासीय प्रयोजनका लागि हुने खरिद बढ्दै गएको संकेत गरेको विश्लेषकहरूको भनाइ छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनले घरजग्गा बजारमा देखिएको सुधारलाई समग्र आर्थिक गतिविधि विस्तारसँग पनि जोडेर हेरेको छ। बजारमा देखिएको विश्वासको पुनःस्थापना, कारोबार मूल्यमा आएको उल्लेखनीय वृद्धि, राजस्व संकलनमा सुधार तथा प्रमुख शहरी क्षेत्रमा बढ्दो लगानीले घरजग्गा क्षेत्र पुनः चलायमान बन्दै गएको संकेत गरेको छ। यद्यपि कर्जा प्रवाहको वृद्धिदर अपेक्षाकृत कम रहेकाले आगामी दिनमा वित्तीय पहुँच, लगानी वातावरण र आर्थिक गतिविधिको अवस्थाले घरजग्गा बजारको दीर्घकालीन दिशालाई थप प्रभावित गर्ने अपेक्षा गरिएको छ।

739508941_4454792441427765_7685886239628309145_n

739252441_1041168401779870_4245753333877676942_n

1

Scroll to Top