देशको पछिल्लो सुरक्षा अवस्था, सुनसरी घटनालगायत समसामयिक राष्ट्रिय चुनौतीबारे समीक्षा गर्न राष्ट्रिय सुरक्षा परिषद्को बैठक आज बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहान ११ः३० बजे बैठक बोलाइएको हो।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा देशभरको शान्ति–सुरक्षा, सीमा सुरक्षा, विपद् व्यवस्थापन, आन्तरिक सुरक्षा चुनौती तथा संवेदनशील घटनापछि अपनाउनुपर्ने रणनीतिबारे विस्तृत छलफल हुनेछ। विशेषगरी सुनसरीमा हालै विकसित घटनाक्रम, त्यसको सुरक्षा प्रभाव र भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक कदमबारे परिषद्ले समीक्षा गर्ने तयारी गरेको छ।
संविधानको भाग–२८ अनुसार राष्ट्रिय सुरक्षा परिषद्मा प्रधानमन्त्री, रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, नेपाल सरकारका मुख्य सचिव तथा नेपाली सेनाका प्रधान सेनापति सदस्य रहने व्यवस्था छ। रक्षा सचिवले परिषद्को सदस्य–सचिवका रूपमा जिम्मेवारी निर्वाह गर्छन्।
परिषद्ले नेपाली सेनाको परिचालन वा नियन्त्रणसम्बन्धी विषयमा सरकारलाई सिफारिस गर्ने, सेनाको आधुनिकीकरण तथा सुदृढीकरणका लागि आवश्यक नीति र कार्ययोजना तयार गर्ने, सुरक्षा निकायका लागि आवश्यक हातहतियार तथा उपकरणसम्बन्धी मापदण्ड निर्धारण गर्ने र राष्ट्रिय सुरक्षा तथा प्रतिरक्षासम्बन्धी दीर्घकालीन नीति निर्माणमा सरकारलाई सुझाव दिने संवैधानिक जिम्मेवारी पाएको छ।
यसपटकको बैठकमा साइबर सुरक्षा, सीमा क्षेत्रमा हुने अवैध गतिविधि, प्राकृतिक विपद्को जोखिम तथा सुरक्षा निकायबीचको समन्वयलाई थप प्रभावकारी बनाउने विषय पनि प्राथमिकतामा पर्ने सरकारी स्रोतले जनाएको छ। आवश्यक परे सुरक्षा संयन्त्रलाई थप सक्रिय बनाउने, सूचना आदानप्रदानलाई व्यवस्थित गर्ने र संवेदनशील क्षेत्रमा निगरानी बढाउने विषयमा समेत निर्णय हुन सक्ने अपेक्षा गरिएको छ।
सुरक्षा विश्लेषकहरूले पछिल्ला घटनाक्रमले राष्ट्रिय सुरक्षा संयन्त्रबीच अझ प्रभावकारी समन्वयको आवश्यकता देखिएको बताएका छन्। यस्तो अवस्थामा आजको परिषद् बैठकबाट मुलुकको शान्ति–सुरक्षा सुदृढ बनाउने स्पष्ट रणनीति र कार्ययोजना तय हुने अपेक्षा गरिएको छ।


