उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले कृषि सिँचाइ, खानेपानी तथा घरायसी प्रयोजनमा प्रयोग हुने विद्युतमा सरकारले १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
घिसिङले शनिबार सामाजिक सञ्जालमार्फत अत्यावश्यक सेवाका क्षेत्रमा उपभोक्तालाई सहुलियत दिनुपर्नेमा थप करको भार थोपर्नु उचित नभएको बताएका हुन्। उनका अनुसार यसअघि सिँचाइको विद्युत् महसुल प्रतियुनिट ७ रुपैयाँबाट घटाएर करिब २ रुपैयाँ तथा सामुदायिक खानेपानी लिफ्टिङको महसुल ९ रुपैयाँबाट ४ रुपैयाँ २० पैसा कायम गरिएको थियो।
घरायसी उपभोक्ताले ग्यास अभावको समस्या झेलिरहेका बेला सरकारले विद्युतीय चुल्हो अर्थात् इन्डक्सनको प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने घिसिङको भनाइ छ। तर, त्यसको विपरीत घरायसी विद्युत् उपभोक्तामाथि समेत कर लगाउनु विडम्बनापूर्ण भएको उनले टिप्पणी गरेका छन्।
उनले देशमा उत्पादन भएको विद्युत् खेर जाने अवस्था रहँदा पनि नागरिकले खाना पकाउने ग्यासका लागि लाइन बस्नुपर्ने अवस्थाप्रति प्रश्न उठाएका छन्।
घिसिङले सामान्य उपभोक्ता र कृषकलाई थप करको भार दिनुभन्दा ठूला उद्योगबाट ‘डेडिकेटेड’ तथा ‘ट्रंक लाइन’ प्रयोग गरेबापत उठ्न बाँकी अर्बौँ रुपैयाँ बक्यौता असुल गर्न सरकारले प्राथमिकता दिनुपर्ने बताएका छन्।
कुलमानले लेखेको छन्
सरकारले कृषकको सिचाई गर्ने विधुत र जनताले पिउने खानेपानी लिफ्ट गर्ने विधुतमा झन् १३ प्रतिशत भ्याट लगाएछ । हामीले सिचाईको महशुल डिमाण्ड चार्ज छुट गरेर ७ रूपैंयाबाट करिव २ रूपैंया प्रति युनिट र सामुदायिक खानेपानी लिफ्टको डिमाण्ड चार्ज छुट गरेर ९ रूपैंयबाट करिव ४ रूपैंया २० पैसा प्रति युनिट कायम गरेका थियौं । कृषि सिचाईको लागि बिधुत निशल्कै गर्दा पनि हुन्छ । यस्ता अत्यावश्यक क्षेत्रमा सहुसियत दिनु पर्नेमा उल्टै १३ प्रतिशत भ्याट लगाउने सरकारको कदम गलत छ । कृषकको मल, वीउ, ज्याला र कृषि यन्त्रको भाडा आदि सवैको भाउ बढेको बढै छ । त्यसमाथि विधुतमा पनि भ्याट । तर उत्पादित वस्तुको मुल्य अझ घटाएर वेच्नु परेको छ । कृषकले लिफ्ट सिंचाई नगरी खेति गर्न सकिदैन । गाउगाउमा पानी लिफ्ट नगरी खानेपानी पिउन कठिन छ ।
यस्तै घरघरमा ग्यास अभाव छ । यस्तो वेलामा विधुतमा सहुलियत दिएर ईन्डक्सन चुल्हो बाल्न प्रोत्साहन गर्नु पर्नेमा उल्टै घरायसी ग्राहकलाई पनि विधुतमा भ्याट । ग्यास सिलिण्डर होईन अव ईन्डक्सन चुल्हो बांड्ने स्किम सरकारले ल्याउनु पर्छ । देशमा उत्पादित विधुत खेर फाल्ने अनि ग्यासमा लाईन लगाउने। यो कस्तो विडम्वना । हाम्रो विधुतीय पूर्वाधार जति ईन्डक्सन वाले पनि जति गाडी चार्ज गरे पनि धान्ने अवस्थामा छ । केही प्राविधिक समस्या आए पनि तत्काल समाधान गर्न सक्ने क्षमता प्राधकरणले विकास गरिसकेको छ । मेरो घरमा भान्सा र गाडी सवै विधुतबाटै चल्छ । अव सवैको घरघर विधुतबाट चलाऔं । देश आत्म निर्भर अर्थतन्त्रतर्फ अगाडि बढ्छ । विदेशी मुद्र संचिति बढ्छ ।
तसर्थ सरकारले विधुतमा लगाएको भ्याट तत्काल फिर्ता लिन जोड्दार माग गर्दछौं । यस्को सट्टा डेडिकेटेड र ट्रंक लाईनको अर्वौंको वक्यौता उठाउन त्तकाल कदम चालियोस् ।
Shared post