Banijya News

रसुवा बाढीपछि ४०३ नेपाली तथा विदेशी पर्यटक सम्पर्कविहीन, भारतीय पर्यटक सबैभन्दा धेरै

1
1.0K Shares

रसुवामा आएको भीषण बाढीपछि ठूलो संख्यामा नेपाली तथा विदेशी पर्यटक सम्पर्कविहीन भएको विवरण सार्वजनिक भएको छ । नेपाल पर्यटन बोर्डले बुधबार साँझसम्म संकलन गरेको प्रारम्भिक विवरणअनुसार रसुवामा रहेका ४०३ जना नेपाली तथा विदेशी पर्यटक परिवार, सम्बन्धित व्यक्ति वा निकायको सम्पर्कमा आएका छैनन् । सम्पर्कविहीनमध्ये ३४१ जना विदेशी र ६२ जना नेपाली पर्यटक रहेका छन् ।

पर्यटन बोर्डका अनुसार सम्पर्कविहीन विदेशी पर्यटकमध्ये सबैभन्दा ठूलो संख्या भारतीय नागरिकको रहेको छ । भारतका १३३ जना पर्यटक हालसम्म सम्पर्कमा आएका छैनन् । त्यसपछि अमेरिकाका ४७, अस्ट्रेलियाका ३४, बेलायतका ३३, क्यानडाका २४ र मलेसियाका १९ जना पर्यटक सम्पर्कविहीन रहेको प्रारम्भिक विवरणमा उल्लेख छ ।

त्यस्तै, युक्रेनका ७, सिंगापुरका ६, दक्षिण अफ्रिकाका ६, न्युजिल्यान्डका ५, जापानका ५, जर्मनीका ४ र फ्रान्सका ३ जना पर्यटक सम्पर्कमा नआएको बोर्डले जनाएको छ । आयरल्यान्ड, नेदरल्यान्ड्स, रुस र स्पेनका दुई–दुई जना तथा बेलारुस, फिनल्यान्ड, हंगेरी, इजरायल, लिथुआनिया, पोर्चुगल र फिलिपिन्सका एक–एक जना पर्यटक सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ ।

पर्यटन बोर्डले सार्वजनिक गरेको विवरणअनुसार सम्पर्कमा नआएका ४०३ जनामध्ये २०३ जना पुरुष र २०० जना महिला छन् । उनीहरू अहिलेसम्म सुरक्षित अवस्थामा रहेको वा दुर्घटनामा परेको भन्ने यकिन जानकारी प्राप्त भइसकेको छैन । बाढी प्रभावित क्षेत्रमा सञ्चार सम्पर्क विच्छेद हुनु, सडक तथा पुलमा क्षति पुग्नु र कतिपय स्थानमा उद्धार टोलीसमेत सहज रूपमा पुग्न नसक्नुका कारण पर्यटकहरूको अवस्थाबारे तत्काल जानकारी लिन कठिन भइरहेको छ ।

बुधबार साँझ ५ बजेसम्म प्राप्त विवरणअनुसार रसुवाको मलबरी होटलबाट मात्रै ५२ जना विदेशी र १३ जना नेपाली सम्पर्कमा नआएको जानकारी पर्यटन बोर्डमा पुगेको थियो । यो विवरण प्रारम्भिक भएकाले प्रभावित क्षेत्रमा रहेका होटल, ट्रेकिङ एजेन्सी, स्थानीय प्रशासन, प्रहरी तथा अन्य निकायबाट थप विवरण प्राप्त भएपछि सम्पर्कविहीन पर्यटकको संख्या बढ्न वा घट्न सक्ने बोर्डले जनाएको छ ।

रसुवा नेपालका प्रमुख पर्यटकीय गन्तव्यसँग जोडिएको जिल्ला हो । लाङटाङ, गोसाइँकुण्ड तथा तिब्बतसँग जोडिने रसुवागढी क्षेत्र विदेशी तथा नेपाली पर्यटकको नियमित आवागमन हुने क्षेत्र हुन् । बाढीले यी क्षेत्रमा जाने सडक, पुल, होटल तथा अन्य पूर्वाधारमा क्षति पुर्‍याएपछि पर्यटकको उद्धार तथा सुरक्षित स्थानमा स्थानान्तरण चुनौतीपूर्ण बनेको छ ।

 

1

Scroll to Top