धादिङको कृष्णभिर क्षेत्रमा गएको पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएपछि काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यासको आपूर्तिमा समस्या देखिएको छ। वैकल्पिक मार्ग प्रयोग गरेर ग्यास ढुवानी गर्नुपर्ने अवस्था सिर्जना भएपछि ग्यास उद्योगीहरूले अतिरिक्त ढुवानी खर्चको भार उपभोक्तामाथि सा र्दै प्रतिसिलिन्डर १०५ रुपैयाँ ३८ पैसा मूल्य वृद्धि गरेका छन्।
नेपाल एलपी ग्यास उद्योग संघले १८ भदौमा सम्पन्न वार्षिक साधारणसभाको निर्णयअनुसार काठमाडौं उपत्यकामा लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको जनाएको छ। यससँगै नेपाल आयल निगमले तोकेको २ हजार ६० रुपैयाँको खुद्रा मूल्य बढेर अब एक सिलिन्डर ग्यासको मूल्य २ हजार १ सय ६५ रुपैयाँ ३८ पैसा पुगेको छ। ग्यास उद्योगीहरूका अनुसार पहिरोका कारण काठमाडौंका उद्योगसम्म सिधै ग्यास बुलेट सञ्चालन गर्न नसकिएपछि तराईका उद्योगमा ग्यास रिफिल गरेर अन्य माध्यमबाट उपत्यकामा ल्याउनुपर्ने बाध्यता उत्पन्न भएको छ। यसले ढुवानी खर्च उल्लेखनीय रूपमा बढाएको उनीहरूको दाबी छ।
नेपाल एलपी ग्यास उद्योग संघका पूर्वअध्यक्ष शिवप्रसाद घिमिरेका अनुसार विगतमा एउटा बुलेटबाट करिब १ हजार २५० सिलिन्डर ग्यास काठमाडौं ल्याउन सकिन्थ्यो। तर अहिले ग्यासलाई तराई क्षेत्रमा पुनः बोटलिङ गरी साना सवारी साधनमार्फत ढुवानी गर्नुपर्दा लागत अत्यधिक बढेको छ। उनका अनुसार वास्तविक ढुवानी खर्च प्रतिसिलिन्डर करिब १८० रुपैयाँ पुगेको भए पनि उपभोक्तामाथि त्यसको केही भाग मात्रै अर्थात् १०५ रुपैयाँ ३८ पैसा थप गरिएको हो।
उद्योगीहरूले मूल्य वृद्धि नेपाल आयल निगमसँगको सहमतिअनुसार गरिएको दाबी गरेका छन्। नेपाल ग्यास उद्योगका सञ्चालक गोकुल भण्डारीका अनुसार ग्यासको खरिद मूल्य बढेको होइन, ढुवानी लागत बढेकाले उपभोक्ता मूल्य समायोजन गरिएको हो। उनले निगमले उद्योगसम्मको सामान्य ढुवानी लागत मात्र समेट्ने र अतिरिक्त दूरीका कारण लाग्ने खर्च उद्योगीहरूले उठाउन पाउने व्यवस्था रहेको बताए। भण्डारीका अनुसार निगमले काठमाडौंसम्मको सम्पूर्ण ढुवानी खर्च समावेश नगरेपछि उद्योगीहरूलाई अतिरिक्त लागत आफैं व्यवस्थापन गर्नुपर्ने अवस्था आएको हो। उनका अनुसार वास्तविक खर्च प्रतिसिलिन्डर २०० रुपैयाँभन्दा बढी भए पनि प्रचलित व्यवस्था अनुसार १०५ रुपैयाँभन्दा बढी उपभोक्ताबाट उठाउन नमिल्ने भएकाले उद्योगीहरूले केही लागत आफैं व्यहोर्नुपरेको छ।
यता नेपाल आयल निगमले भने मूल्य वृद्धिको विषयमा आफ्नो धारणा सार्वजनिक गर्दै उद्योगबाट ५० किलोमिटर दूरीसम्मका लागि मात्र ग्यासको मूल्य निर्धारण गर्ने गरेको स्पष्ट पारेको छ। निगमका प्रवक्ता मनोज ठाकुरले ५० किलोमिटरभन्दा बढी दूरीमा ग्यास ढुवानी गर्दा लाग्ने अतिरिक्त खर्च उद्योगीहरूले ढुवानी भाडाका रूपमा उपभोक्तासँग लिन पाउने व्यवस्था विगतदेखि नै लागू रहेको बताए।
उनले ग्यास उद्योगीहरूले निगमको अनुमति बिना नयाँ शुल्क लगाएको भन्ने आरोप अस्वीकार गर्दै यो कुनै नयाँ अभ्यास नभएको बताए। उनका अनुसार देशका अन्य क्षेत्रमा पनि यही व्यवस्था लागू हुँदै आएको छ र दूरीअनुसार अतिरिक्त ढुवानी खर्च जोड्ने अधिकार उद्योगीहरूलाई छ।
कृष्णभिर पहिरोले सिर्जना गरेको यातायात अवरोधका कारण आपूर्ति प्रणाली प्रभावित भइरहेका बेला ग्यासको मूल्य वृद्धि भएपछि उपभोक्तामा थप आर्थिक भार परेको छ। मूल्य समायोजन अस्थायी हो वा दीर्घकालीन, भन्ने विषय भने सडक अवस्था र ढुवानी व्यवस्थाको सहजतासँग जोडिएको देखिएको छ।


