Banijya News

असोज ८ मा राष्ट्रसंघ महासभालाई प्रधानमन्त्री बालेनले सम्बोधन गर्ने

1
1.1K Shares

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आगामी असोज ८ गते अर्थात् सेप्टेम्बर २४ मा संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्ने भएका छन्। नेपालको अनुरोधपछि संयुक्त राष्ट्रसंघले वक्ताहरूको सूची संशोधन गर्दै प्रधानमन्त्री शाहका लागि उक्त मिति तय गरेको हो।

न्यूयोर्कस्थित नेपाली स्थायी नियोगबाट परराष्ट्र मन्त्रालय हुँदै प्राप्त संशोधित तालिका प्रधानमन्त्री सचिवालयमा पुगेपछि अमेरिका भ्रमणको तयारी अघि बढाइएको छ। यसअघि महासभामा नेपालको प्रतिनिधित्व गर्दै परराष्ट्रमन्त्री शिशिर खनालले सम्बोधन गर्ने तयारी थियो।

भोटेकोशी बाढीबाट भएको ठूलो मानवीय तथा भौतिक क्षतिपछि प्रधानमन्त्री आफैं महासभामा जाने निर्णय भएको बताइएको छ। महासभामा शाहले जलवायु परिवर्तन, बढ्दो प्राकृतिक विपत्ति, जलवायु न्याय र क्षतिपूर्तिको विषयलाई प्राथमिकताका साथ उठाउने अपेक्षा गरिएको छ। नेपालजस्ता जलवायु जोखिममा रहेका मुलुकले भोगिरहेको क्षतिको अन्तर्राष्ट्रिय समुदायले जिम्मेवारी लिनुपर्ने विषयमा उनले जोड दिन सक्नेछन्।

प्रधानमन्त्रीको यो भ्रमण उहाँ प्रधानमन्त्री बनेपछिको पहिलो विदेश भ्रमण समेत हुनेछ। न्यूयोर्क बसाइ छोटो राख्ने तयारी भए पनि विभिन्न देशका सरकार तथा राष्ट्रप्रमुखसँग द्विपक्षीय भेटवार्ताको सम्भावना छ।

महासभामा ११८ देशका प्रतिनिधि सम्बोधनका लागि सूचीकृत भइसकेका छन्। प्रधानमन्त्री शाह सहभागी भएपछि परराष्ट्रमन्त्री खनालले अन्य द्विपक्षीय तथा साइडलाइन बैठकको नेतृत्व गर्ने सम्भावना छ।

तर भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट हुने विषय अझै निश्चित छैन। त्यस्तै चिनियाँ राष्ट्रपति सी जिन्पिङ सोही समयमा अमेरिकाको भ्रमणमा रहे पनि महासभामा सहभागी हुने कार्यक्रम नरहेकाले न्यूयोर्कमा भेटवार्ताको सम्भावना सीमित देखिएको छ।

भोटेकोशी विपद्पछि पनि उद्धार तथा राहत जारी रहेकाले प्रधानमन्त्रीको अमेरिका भ्रमणलाई छोटो र मुख्यतः महासभाको सम्बोधनमा केन्द्रित गर्ने तयारी गरिएको छ।

1

Scroll to Top