स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरेसँगै आइतबारदेखि एकीकृत कारोबार सुरु गरेको छ। प्राप्तिपछि दुवै संस्था अब स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडकै नामबाट सञ्चालनमा आएका छन्। दुई संस्थाको एकीकरणसँगै स्वरोजगार लघुवित्तको पुँजी, शाखा सञ्जाल, सदस्य संख्या तथा कारोबारको आकार उल्लेख्य रूपमा विस्तार भएको छ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा स्वरोजगार लघुवित्तका अध्यक्ष ज्ञानेन्द्रप्रसाद पाण्डे र विन नेपाल लघुवित्तका कार्यवाहक अध्यक्ष कुमारराज जोशीले संयुक्त रूपमा एकीकृत कारोबारको शुभारम्भ गरेका हुन्।
प्राप्तिपछि स्वरोजगार लघुवित्तको चुक्ता पुँजी करिब ९७ करोड ९९ लाख रुपैयाँ पुगेको छ। प्राप्ति प्रक्रियाअघि स्वरोजगार लघुवित्तको चुक्ता पुँजी करिब ८९ करोड ५६ लाख रुपैयाँ थियो भने विन नेपालको चुक्ता पुँजी करिब ८ करोड ४३ लाख रुपैयाँ रहेको थियो। दुवै संस्थाको पुँजी एकीकृत भएपछि नयाँ संस्थाको चुक्ता पुँजी १ अर्ब रुपैयाँको नजिक पुगेको हो।
एकीकृत कारोबारसँगै संस्थाको शाखा सञ्जाल पनि विस्तार भएको छ। अब स्वरोजगार लघुवित्तका शाखाको कुल संख्या ११२ पुगेको छ। यसले संस्थालाई थप भौगोलिक क्षेत्रमा वित्तीय सेवा विस्तार गर्न सहज हुने अपेक्षा गरिएको छ।
त्यस्तै, एकीकृत संस्थामा सक्रिय सदस्यको संख्या १ लाख ३२ हजारभन्दा बढी पुगेको छ। संस्थामा करिब ६१९ कर्मचारी आबद्ध छन्। दुई संस्थाको संरचना एउटै भएपछि ग्राहक तथा सदस्यले एउटै संस्थामार्फत थप सहज रूपमा वित्तीय सेवा प्राप्त गर्ने आधार बनेको संस्थाले जनाएको छ।
कारोबारको आकारका हिसाबले पनि एकीकृत स्वरोजगार लघुवित्त बलियो बनेको छ। संस्थाको कुल कर्जा लगानी करिब ११ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ भने कुल बचत करिब ५ अर्ब ८८ करोड रुपैयाँ रहेको छ।
लघुवित्त क्षेत्रमा प्रतिस्पर्धा तीव्र बन्दै गइरहेका बेला दुई संस्थाबीचको प्राप्तिले स्वरोजगार लघुवित्तको वित्तीय क्षमता र बजार पहुँच बढाएको छ। पुँजी तथा स्रोतको एकीकरणसँगै संस्थाले सञ्चालन खर्च व्यवस्थापन, शाखा सञ्जालको प्रभावकारी उपयोग र ग्राहक सेवामा सुधार गर्ने अवसर पाएको छ।
संस्थाले एकीकृत संरचनामार्फत ग्रामीण क्षेत्र तथा विपन्न वर्गमा वित्तीय पहुँच थप विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ। विशेषगरी शाखा सञ्जाल र उपलब्ध स्रोतको प्रभावकारी व्यवस्थापन गर्दै सदस्यलाई सरल, सहज र पहुँचयोग्य वित्तीय सेवा उपलब्ध गराउने योजना संस्थाको छ।


