Banijya News

सरकारले १० अर्बको पाँचवर्षे विकास ऋणपत्र जारी गर्दै, ब्याजदर बोलकबोलबाट तय हुने

1
1.1K Shares

सरकारले आन्तरिक स्रोतबाट वित्तीय आवश्यकता व्यवस्थापन गर्न १० अर्ब रुपैयाँ बराबरको पाँच वर्षे विकास ऋणपत्र निष्कासन गर्ने भएको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ‘विकास ऋणपत्र–२०८८’ नाममा उक्त ऋणपत्र बिक्री गर्न लागेको हो। सरकारका लागि आवश्यक आन्तरिक स्रोत जुटाउने उद्देश्यले ऋणपत्र बोलकबोल प्रक्रियाबाट निष्कासन गर्न लागिएको हो।

कार्यालयका अनुसार ऋणपत्र खरिद गर्न इच्छुक लगानीकर्ताले भदौ २४ गते बुधबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म अनलाइनमार्फत बोल पेश गर्न सक्नेछन्। ऋणपत्रको निष्कासन भने भदौ २५ गते बिहीबार हुनेछ। निष्कासन भएको पाँच वर्षपछि अर्थात् २०८८ भदौ २५ गते लगानीकर्तालाई साँवा फिर्ता गरिनेछ।

कुल १० अर्ब रुपैयाँमध्ये ८५ प्रतिशत हिस्सा प्रतिस्पर्धात्मक बोलकबोलका लागि छुट्याइएको छ। यसअनुसार ८ अर्ब ५० करोड रुपैयाँ प्रतिस्पर्धी लगानीकर्ताबाट संकलन गरिनेछ। बाँकी १ अर्ब ५० करोड रुपैयाँ अप्रतिस्पर्धी बोलदाताका लागि छुट्याइएको छ। अप्रतिस्पर्धी समूहबाट तोकिएको रकम पूर्ण रूपमा माग नभए बाँकी रकम प्रतिस्पर्धी बोलदातामार्फत बिक्री गरिने व्यवस्था छ।

ऋणपत्रमा बैंक तथा वित्तीय संस्था, गैरबैंकिङ वित्तीय संस्था, विभिन्न कम्पनी तथा फर्मसँगै सर्वसाधारणले समेत लगानी गर्न पाउनेछन्। तर नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले अप्रतिस्पर्धी समूहमा सहभागी हुन पाउने छैनन्।

लगानीकर्ताले कम्तीमा ५ लाख रुपैयाँदेखि आवेदन दिन सक्नेछन्। त्यसपछि आवेदन रकम ५ लाख रुपैयाँले पूर्ण भाग जाने गरी बढाउनुपर्नेछ। अधिकतम लगानी भने निष्कासन गरिएको कुल रकमको सीमाभित्र रहनुपर्नेछ।

यस ऋणपत्रको ब्याजदर पहिले नै तोकिने छैन। प्रतिस्पर्धी बोलकबोलबाट प्राप्त प्रस्तावका आधारमा ब्याजदर निर्धारण हुनेछ। लगानीकर्ताले प्रस्ताव गरेका दरलाई कमदेखि बढी क्रममा राखेर कट–अफ दर तय गरिनेछ। सो दर वा त्यसभन्दा कम दरमा प्रस्ताव गर्ने सफल लगानीकर्तालाई एउटै ब्याजदरमा ऋणपत्र उपलब्ध गराइने व्यवस्था छ। ऋणपत्रबाट प्राप्त ब्याज अर्धवार्षिक रूपमा भुक्तानी हुनेछ र ब्याज आम्दानीमा प्रचलित कानुनअनुसार कर लाग्नेछ।

ऋणपत्र खरिदका लागि सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको डोम्स (DOMS) प्रणाली प्रयोग गर्नुपर्नेछ। बैंक तथा वित्तीय संस्थाबाहेकका बोलदाताले आफूले माग गरेको रकमको २.५० प्रतिशत बराबरको धरौटी रकम नेपाल राष्ट्र बैंकमा तोकिएको विकास ऋणपत्र आवेदन खातामा जम्मा गर्नुपर्नेछ। सो रकम जम्मा गरेको प्रमाणसमेत तोकिएको समयभित्र कार्यालयमा पठाउनुपर्नेछ।

बोलकबोलमा सफल हुने लगानीकर्ताले बाँकी रकम ऋणपत्र निष्कासन हुने दिन भदौ २५ गते दिउँसो १ बजेसम्म बुझाइसक्नुपर्नेछ। यसरी संकलित रकम सरकारले सार्वजनिक वित्त व्यवस्थापन तथा विकाससम्बन्धी आवश्यकतामा परिचालन गर्नेछ।

विकास ऋणपत्रलाई लगानीकर्ताले आवश्यक पर्दा बैंक तथा वित्तीय संस्थामा कर्जाका लागि धितोका रूपमा समेत प्रयोग गर्न सक्नेछन्। साथै, ऋणपत्र निष्कासनपछि यसको कारोबार दोस्रो बजारमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) तथा डोम्स प्रणालीमार्फत गर्न सकिने सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ।

1

Scroll to Top