सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभामा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद इन्जिनियर दीपक कुमार साह उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बनेका छन्। तत्कालीन मन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएपछि प्रधानमन्त्री बालेन शाहले साहलाई उनको स्थानमा मन्त्री नियुक्त गरेका हुन्।
प्राविधिक पृष्ठभूमि, उच्च शैक्षिक योग्यता र जलविद्युत् क्षेत्रमा लामो व्यावसायिक अनुभव भएका साहको मन्त्री पदमा प्रवेशलाई विशेष चासोका साथ हेरिएको छ। उद्योग तथा वाणिज्य क्षेत्रसँग प्रत्यक्ष जोडिएका नीति निर्माणमा उनको प्राविधिक र व्यवस्थापकीय अनुभव कत्तिको प्रभावकारी हुन्छ भन्ने विषय अब परीक्षणको चरणमा पुगेको छ।
साहले सन् १९९९ मा त्रिभुवन विश्वविद्यालयअन्तर्गतको प्रतिष्ठित इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसबाट मेकानिकल इन्जिनियरिङमा प्रथम श्रेणीमा स्नातक गरेका थिए। त्यसपछि उनले आफ्नो व्यावसायिक यात्रा ऊर्जा तथा जलविद्युत् क्षेत्रतर्फ अघि बढाएका थिए। हालै सन् २०२५ मा नेपाल खुला विश्वविद्यालयबाट ‘नेचुरल रिसोर्स डेभलपमेन्ट’ विषयमा प्रथम श्रेणीमै स्नातकोत्तर उपाधि हासिल गरेका छन्।
प्राकृतिक स्रोतको विकास र उपयोगसँग सम्बन्धित विषयमा हासिल गरेको पछिल्लो शैक्षिक योग्यताले पनि साहको विज्ञताको दायरा फराकिलो बनाएको देखिन्छ। विशेषगरी नेपालमा उपलब्ध प्राकृतिक स्रोतको दिगो परिचालन, ऊर्जा उत्पादन तथा औद्योगिक विकासबीचको सम्बन्धलाई नीतिगत तहमा जोड्न उनको प्राविधिक ज्ञान उपयोगी हुन सक्ने अपेक्षा गरिएको छ।
राजनीतिमा सक्रिय हुनुअघि साहले जलविद्युत् क्षेत्रमा करिब २३ वर्ष काम गरेका थिए। ऊर्जा क्षेत्रको विकास, आयोजना व्यवस्थापन र प्राविधिक विषयमा लामो समय काम गरेका कारण उनी इन्जिनियर तथा ऊर्जा क्षेत्रका अनुभवी व्यक्तिका रूपमा परिचित छन्। यही पृष्ठभूमिका कारण संसद्मा रहँदा पनि उनले ऊर्जा, पूर्वाधार र विकाससँग सम्बन्धित विषयमा प्राविधिक तथ्य र तर्कका आधारमा आफ्नो धारणा राख्दै आएका थिए।
साहको राजनीतिक यात्रा पनि विभिन्न चरण पार गर्दै अघि बढेको देखिन्छ। उनले सर्वोदय पार्टी र जनस्वराज पार्टीको अध्यक्षको जिम्मेवारी सम्हालेका थिए। त्यसपछि सिके राउत नेतृत्वको जनमत पार्टीमा उपाध्यक्षको भूमिका निर्वाह गर्दै राजनीतिमा आफ्नो प्रभाव विस्तार गरेका थिए।
पछिल्लो राजनीतिक समीकरणमा उनले राष्ट्रिय स्वतन्त्र पार्टी रोजे। २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सुनसरी–४ बाट रास्वपाको उम्मेदवारका रूपमा निर्वाचित भएपछि उनको राजनीतिक यात्रा नयाँ चरणमा प्रवेश गरेको हो।


