Banijya News

विश्वकर्मा जयन्ती आज : शिल्प, प्रविधि र सिर्जनाका देवताको विशेष आराधना

1
1.0K Shares

देशभर आज विश्वकर्मा जयन्ती तथा विश्वकर्मा पूजा श्रद्धा, भक्ति र उत्साहका साथ मनाइँदै छ। प्रत्येक वर्ष कन्या सङ्क्रान्तिका दिन मनाइने यो पर्व विशेषगरी उद्योग, कलकारखाना, निर्माण क्षेत्र, यातायात, मेकानिकल तथा प्राविधिक पेशामा संलग्न व्यक्तिहरूका लागि महत्वपूर्ण मानिन्छ। धार्मिक मान्यताअनुसार यही दिन भगवान विश्वकर्माको जन्म भएको विश्वास गरिने भएकाले यस पर्वलाई विश्वकर्मा जयन्तीका रूपमा पनि मनाउने परम्परा रहेको छ।

आजको दिन विभिन्न उद्योग, व्यवसाय, कार्यशाला, ग्यारेज, निर्माणस्थल तथा कारखानाहरूमा विशेष पूजा–आराधना गरिन्छ। श्रमिक, प्राविधिक, इन्जिनियर, चालक, मिस्त्री तथा विभिन्न पेशाकर्मीहरूले आफूले प्रयोग गर्ने उपकरण, मेसिन, सवारीसाधन तथा औजारहरूको पूजा गरेर भगवान विश्वकर्माको आशीर्वाद प्राप्त गर्ने विश्वास राख्छन्। यस अवसरमा कलकारखाना र कार्यस्थलहरूलाई आकर्षक ढंगले सजाइने तथा सामूहिक रूपमा पूजा आयोजना गरिने चलन छ।

धार्मिक विश्वासअनुसार विश्वकर्मा पूजाका दिन औजार, मेसिन तथा उपकरणको विधिपूर्वक पूजा गरेमा ती लामो समयसम्म सुरक्षित रहने, कामका क्रममा समस्या नआउने र कार्यक्षमता वृद्धि हुने मान्यता रहिआएको छ। यही कारणले आजको दिन उद्योग तथा निर्माण क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूका लागि विशेष महत्व राख्ने गर्दछ।

काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा भगवान विश्वकर्माका मूर्ति तथा तस्वीरहरूलाई विशेष रूपमा सजाएर पूजा गरिएको छ। कतिपय स्थानमा बालुवा, माटो वा अन्य सामग्रीबाट विश्वकर्माका प्रतिमा निर्माण गरी पूजा गरिन्छ। पूजा सम्पन्न भएपछि ती मूर्तिहरूलाई वाग्मतीको मुहानस्थल सुन्दरीजल वा अन्य पवित्र जलाशयमा लगेर विसर्जन गर्ने परम्परा पनि रहिआएको छ।

हिन्दू धार्मिक ग्रन्थहरूमा भगवान विश्वकर्मालाई सृष्टिका महान शिल्पकार, वास्तुकार तथा प्रविधिका अग्रदूतका रूपमा वर्णन गरिएको छ। धार्मिक कथाअनुसार भगवान शिवले ब्रह्मा र विष्णुलाई क्रमशः सृष्टि र पालनको जिम्मेवारी प्रदान गरेका थिए। त्यसपछि सृष्टिको संरचना र निर्माण कार्यलाई व्यवस्थित गर्न ब्रह्माले आफ्ना वंशज देवशिल्पी विश्वकर्मालाई आदेश दिएका थिए। यही कारण विश्वकर्मालाई देवताहरूका वास्तुकार तथा निर्माणकला विशेषज्ञका रूपमा सम्मान गरिन्छ।

पौराणिक मान्यताअनुसार विश्वकर्माले स्वर्गलोक, मध्यलोक र पाताललोकको निर्माण गरेका थिए। उनलाई विश्वकै पहिलो इन्जिनियर तथा वास्तुविद् पनि मान्ने गरिन्छ। ऋग्वेदमा समेत उनको महत्वलाई विशेष रूपमा उल्लेख गरिएको छ, जहाँ उनका गुण, क्षमता र योगदानको वर्णन गर्ने ११ वटा ऋचाहरू समावेश छन्।

धार्मिक ग्रन्थहरूमा वर्णन गरिएका उनका अनुपम सिर्जनामध्ये सत्ययुगको स्वर्गलोक, त्रेतायुगको सुनौलो लंका, द्वापरयुगको द्वारिका नगरी तथा कलियुगको जगन्नाथ मन्दिरका भव्य संरचनाहरू प्रमुख मानिन्छन्। यिनै कारण भगवान विश्वकर्मा सिर्जना, निर्माण, शिल्पकला, विज्ञान र प्रविधिका प्रतीकका रूपमा पूजनीय बनेका छन्।

परम्परा र आधुनिक प्रविधिबीचको सम्बन्धलाई उजागर गर्ने विश्वकर्मा पूजा आज पनि श्रम, सीप, सिर्जना र प्रगतिप्रतिको सम्मानको पर्वका रूपमा देशभर उल्लासपूर्वक मनाइँदै छ।

1

Scroll to Top