Banijya News

सार्वजनिक निष्काशनमा नयाँ मापदण्ड : सेबोनले गर्‍यो आईपीओ योग्यताको निर्देशिका सार्वजनिक

1
1.0K Shares

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले पूँजी बजारलाई थप व्यवस्थित, पारदर्शी र विश्वसनीय बनाउने उद्देश्यका साथ “सार्वजनिक निष्काशनको सामान्य योग्यता सम्बन्धी निर्देशिका, २०८३” को मस्यौदा सार्वजनिक गरेको छ। बोर्डले उक्त मस्यौदामाथि सरोकारवाला पक्षहरूबाट राय, सुझाव तथा प्रतिक्रिया संकलन गर्न सार्वजनिक सूचना जारी गरेको हो।

बोर्डका अनुसार निर्देशिकाको मुख्य उद्देश्य सार्वजनिक निष्काशन (आईपीओ) का लागि योग्य, पारदर्शी र दिगो संस्थाहरूको छनोट सुनिश्चित गर्नु हो। साथै लगानीकर्ताको हित संरक्षण, सुशासनको प्रवर्द्धन, वित्तीय अनुशासनको विकास तथा पूँजी बजारमा निष्पक्ष र विश्वासिलो सार्वजनिक निष्काशन प्रणाली स्थापना गर्नु पनि यसको प्रमुख लक्ष्य रहेको छ।

यो पहल नेपाल सरकार, अर्थ मन्त्रालयले २०८३ भदौ २९ गते सार्वजनिक गरेको “पूँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३” अन्तर्गत समेटिएका कार्यक्रमहरूको कार्यान्वयनको प्रारम्भिक चरणका रूपमा अघि बढाइएको बोर्डले जनाएको छ। कार्ययोजनाको पहिलो बुँदामा उल्लेखित कार्यक्रम कार्यान्वयन गर्न निर्देशिका तयार गरिएको हो।

प्रस्तावित निर्देशिका सर्वसाधारणमा धितोपत्र निष्काशन गर्न चाहने संगठित संस्थाहरू, पब्लिक कम्पनीमा रूपान्तरण भई सार्वजनिक निष्काशन गर्ने तयारीमा रहेका संस्थाहरू तथा प्रचलित कानुनबमोजिम सार्वजनिक निष्काशनको अनुमति प्राप्त अन्य निकायहरूमा लागू हुने व्यवस्था गरिएको छ।

निर्देशिकामा आईपीओ जारी गर्न चाहने संस्थाहरूका लागि आवश्यक सामान्य तथा वित्तीय योग्यता निर्धारण गरिएको छ। त्यस्तै संस्थागत सुशासनसम्बन्धी मापदण्ड, संस्थापक शेयरधनी, सञ्चालक समिति तथा व्यवस्थापनको योग्यता र जिम्मेवारीसम्बन्धी स्पष्ट प्रावधानहरू पनि समेटिएका छन्। सूचना प्रवाह, विवरणपत्र प्रकाशन, ड्यु डिलिजेन्स तथा पेशागत उत्तरदायित्वसम्बन्धी व्यवस्थालाई समेत प्राथमिकता दिइएको छ।

यसका अतिरिक्त सार्वजनिक निष्काशनबाट प्राप्त रकमको उपयोग, त्यसको अनुगमन, निष्काशनपछिका दायित्व, नियामकीय अनुपालना तथा निरीक्षणसम्बन्धी विषयहरूलाई पनि निर्देशिकाले समेटेको छ। नियम उल्लंघन हुने अवस्थाका लागि कसुर, दण्ड तथा प्रशासनिक कारबाहीसम्बन्धी प्रावधानहरू समेत प्रस्ताव गरिएको छ।

बोर्डले मस्यौदामाथि सम्बन्धित सबै पक्षबाट सुझाव प्राप्त गर्न सूचना प्रकाशन भएको मितिदेखि सात दिनको समय दिएको छ। इच्छुक व्यक्ति, संस्था तथा अन्य सरोकारवालाले आफ्नो राय वा सुझाव बोर्डको आधिकारिक इमेल ठेगाना support@sebon.gov.np मा पठाउन सक्नेछन्।

सेबोनले पूँजी बजार सुधार र विकाससँग सम्बन्धित सरकारी कार्ययोजनाका कार्यक्रमहरू तोकिएको समयसीमाभित्र कार्यान्वयन गर्न आफू प्रतिबद्ध रहेको जनाएको छ। बोर्डका अनुसार प्रस्तावित निर्देशिका लागू भएपछि सार्वजनिक निष्काशन प्रक्रिया थप व्यवस्थित, पारदर्शी, समयसापेक्ष र अन्तर्राष्ट्रिय अभ्यासअनुकूल बन्ने अपेक्षा गरिएको छ।

1

Scroll to Top