Banijya News

हिमपात र हिमपहिरोको जोखिम बढ्ने चेतावनी, तीन दिन पदयात्रा रोक्न अध्यागमको आग्रह

1
1.0K Shares

मुलुकका उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम बढ्ने चेतावनी जारी भएपछि अध्यागमन विभागले तीन दिनसम्म पदयात्रा गतिविधि रोक्न अनुरोध गरेको छ। सम्भावित मौसमी विपद्बाट पर्यटक तथा पदयात्रीको ज्यान जोखिममा पर्न सक्ने अवस्थालाई ध्यानमा राख्दै विभागले यस्तो आग्रह गरेको हो।

विभागका निर्देशक सूर्यप्रसाद चापागाईंले सूचना जारी गर्दै कात्तिक १२, १३ र १४ गते उच्च पहाडी तथा हिमाली क्षेत्रमा पदयात्रा नगर्न सम्बन्धित सबैलाई अनुरोध गरेका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उक्त अवधिमा ती क्षेत्रमा भारी हिमपात, हिमआँधी तथा हिमपहिरोको उच्च जोखिम रहेको चेतावनी दिएपछि विभागले सतर्कता अपनाउन आग्रह गरेको हो।

विभागका अनुसार जोखिमपूर्ण मौसमका कारण पदयात्राका क्रममा दुर्घटना हुन सक्ने सम्भावना रहेकाले पर्यटक, पदयात्री, पथप्रदर्शक तथा ट्रेकिङ एजेन्सीहरूले विशेष सावधानी अपनाउन आवश्यक छ। प्रतिकूल मौसममा यात्रा गर्दा बाटो अवरुद्ध हुने, अत्यधिक चिसोको सामना गर्नुपर्ने तथा हिमपहिरोमा पर्ने जोखिम बढ्न सक्ने भएकाले पदयात्रा स्थगित गर्नु उपयुक्त हुने विभागको भनाइ छ।

विभागले कात्तिक १२, १३ र १४ गते उच्च पहाडी तथा हिमाली क्षेत्रका निषेधित स्थानमा पदयात्राका लागि आवश्यक अनुमतिपत्र जारी नगरिने जनाएको छ। जोखिमको अवस्था कायम रहँदासम्म पदयात्रासम्बन्धी गतिविधि नियन्त्रणमा राख्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको हो।

यसअघि नै निर्धारित पदयात्रा मार्गमा प्रवेश गरिसकेका पर्यटकलाई समेत विभागले विशेष सावधानी अपनाउन आग्रह गरेको छ। पदयात्राका क्रममा रहेका पर्यटकले जथाभावी हिँडडुल नगरी सुरक्षित स्थान वा आश्रयस्थलमा बस्नुपर्ने सूचनामा उल्लेख छ। मौसम प्रतिकूल भएको अवस्थामा आफ्नो इच्छाअनुसार जोखिमपूर्ण क्षेत्रमा अघि बढ्नुको सट्टा सुरक्षित स्थानमा रहनु आवश्यक रहेको विभागले जनाएको छ।

विशेषगरी उच्च हिमाली क्षेत्रमा मौसम अचानक परिवर्तन हुन सक्ने भएकाले पदयात्रीले मौसमसम्बन्धी आधिकारिक सूचना तथा सम्बन्धित निकायको निर्देशन पालना गर्नुपर्ने हुन्छ। भारी हिमपात र हिमआँधीका कारण दृश्यता कम हुने, बाटो पहिचान गर्न कठिन हुने तथा उद्धार कार्यमा समेत समस्या आउन सक्ने भएकाले सतर्कता अपनाउन विभागले जोड दिएको छ।

मौसमको प्रतिकूलताका कारण हुन सक्ने मानवीय दुर्घटना रोक्न अग्रिम सतर्कता अपनाइएको विभागले स्पष्ट पारेको छ। विभागले ट्रेकिङ एजेन्सी, पदयात्री, पथप्रदर्शक तथा पर्यटन क्षेत्रसँग सम्बन्धित सबै सरोकारवालालाई जारी सूचनाको कडाइका साथ पालना गर्न र गराउन निर्देशन दिएको छ।

त्यस्तै, विपद्को जोखिम टरेको आधिकारिक सूचना प्राप्त नभएसम्म उच्च पहाडी तथा हिमाली क्षेत्रको यात्रा पूर्ण रूपमा स्थगित गर्न विभागले सचेत गराएको छ। जोखिमपूर्ण अवस्थामा पदयात्रा सञ्चालन गर्दा पर्यटकको सुरक्षामा गम्भीर असर पर्न सक्ने भएकाले सम्बन्धित निकायले जारी गर्ने पछिल्लो सूचना र निर्देशनलाई प्राथमिकता दिनसमेत आग्रह गरिएको छ।

1

Scroll to Top