बिचौलिया इनम सापकोटासँगको कथित कनेक्सन सार्वजनिक चर्चामा आएपछि प्रधानन्यायाधीश डा. मनोज शर्माले सर्वोच्च अदालतका सबै न्यायाधीश सहभागी हुने फूल कोर्ट बैठक बोलाएका छन्।
सर्वोच्च अदालतका न्यायाधीशहरूलाई शुक्रबार बिहान बैठकमा उपस्थित हुन सूचना जारी गरिएको छ। सर्वोच्च अदालतका एक अधिकृतले नेपाललाइभलाई दिएको जानकारीअनुसार प्रधानन्यायाधीश शर्माको निर्देशनमा बैठक बोलाइएको हो।
बैठकको औपचारिक एजेण्डामा भने ‘समसामयिक विषयमा छलफल’ उल्लेख गरिएको छ। तर, पछिल्लो समय चर्चामा आएको बिचौलिया इनम सापकोटासँगको सम्बन्ध र त्यसले न्यायालयको प्रतिष्ठामा पार्न सक्ने प्रभावका विषयमा छलफल हुन लागेको हो वा अन्य कुनै प्रशासनिक विषय बैठकको केन्द्रमा रहने हो भन्नेबारे स्पष्ट पारिएको छैन।
फूल कोर्ट सर्वोच्च अदालतका प्रधानन्यायाधीशसहित सबै न्यायाधीश सहभागी हुने प्रशासनिक प्रकृतिको बैठक हो। अदालतको कामकारबाही, प्रशासनिक व्यवस्थापन तथा समसामयिक संस्थागत विषयमा छलफल गर्न यस्तो बैठक बोलाउने गरिन्छ।
शुक्रबारको बैठकमा प्रधानन्यायाधीश डा. शर्मासहित सर्वोच्च अदालतका अन्य न्यायाधीशहरूको समेत सहभागिता रहने बताइएको छ।
यद्यपि, बैठकको वास्तविक उद्देश्य र छलफलका सम्भावित विषयबारे सर्वोच्च अदालत प्रशासनले औपचारिक रूपमा विस्तृत जानकारी दिएको छैन।
पछिल्लो घटनाक्रमका बीच बोलाइएको फूल कोर्ट बैठकलाई न्यायालयभित्रको समसामयिक अवस्थाबारे छलफल गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ। बैठकपछि यस विषयमा थप तथ्य सार्वजनिक हुने अपेक्षा गरिएको छ।


