शुक्रबार विभिन्न सञ्चारमाध्यमका समाचार कक्षबाट पक्राउ परेका सबै पत्रकार रिहा भएका छन्। सञ्चारमन्त्री विक्रम तिमल्सिनाले पक्राउ परेका पत्रकारहरू रिहा भइसकेको जानकारी दिएका हुन्।
शुक्रबार सादा पोसाकमा खटिएका प्रहरीले विभिन्न सञ्चारमाध्यमका कार्यालयमा प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिएका थिए। नेपाल प्रेस डटकमका पत्रकार विश्वमणि सुवेदी, मोटिभेट न्युजका अध्यक्ष तथा प्रधान सम्पादक शोभराज बराल र डीएनए अनलाइनका पत्रकार धीरज बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
पत्रकारहरूलाई समाचार कक्षबाटै पक्राउ गरिएको घटनाले सञ्चार क्षेत्र तथा विभिन्न सरोकारवालामाझ व्यापक विरोध र आलोचना भएको थियो। प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप भएको भन्दै पत्रकार महासंघ, प्रेस काउन्सिललगायत विभिन्न पक्षले घटनाप्रति आपत्ति जनाएका थिए।
घटनाको चौतर्फी विरोध भएपछि प्रधानमन्त्री बालेन्द्र शाहले पक्राउ परेका सबै पत्रकारलाई तत्काल रिहा गर्न निर्देशन दिएका थिए। प्रधानमन्त्रीको निर्देशनपछि प्रहरीले नियन्त्रणमा लिएका पत्रकारहरूलाई रिहा गरेको हो।
यसैबीच सञ्चारमन्त्री विक्रम तिमल्सिनाले सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध रहेको बताएका छन्। उनले प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारिता लोकतन्त्रका आधारस्तम्भ भएको उल्लेख गर्दै सरकारले सञ्चारमाध्यमको स्वतन्त्रता र पत्रकारको व्यावसायिक अधिकारको सम्मान गर्ने स्पष्ट पारेका छन्।
समाचार सामग्रीका विषयमा असहमति वा विवाद उत्पन्न भएमा त्यसको समाधान कानुनी प्रक्रिया र सम्बन्धित निकायमार्फत खोजिनुपर्ने आवाजसमेत उठेको छ। विशेषगरी पत्रकारलाई समाचार कक्षबाटै नियन्त्रणमा लिने कार्यले प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र पत्रकारको सुरक्षासम्बन्धी बहसलाई पुनः सतहमा ल्याएको छ।


