चाडपर्वसँगै जाडो मौसम सुरु भएपछि बजारमा अण्डाको माग बढेको छ। मागमा वृद्धि भएसँगै नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको समर्थन होलसेल मूल्य बढाएको छ। सङ्घले बिहीबार पोखरामा बसेको बैठकबाट अण्डाको नयाँ समर्थन मूल्य निर्धारण गरेको हो।
यसअघि कात्तिक ६ गते काठमाडौंमा बसेको सङ्घको बैठकले अण्डाको समर्थन मूल्य तय गरेको थियो। तर, बजारमा माग बढ्दै गएपछि उक्त मूल्य निर्धारण भएको छ दिनमै पुनः परिमार्जन गरिएको सङ्घले जनाएको छ।
सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार नयाँ मूल्यअनुसार एक्सएल, ठूलो र मिडियम अण्डाको प्रतिपेटी मूल्यमा २०० रुपैयाँ वृद्धि गरिएको छ। त्यस्तै, सानो अण्डाको मूल्य प्रतिपेटी १०० रुपैयाँ बढाइएको छ।
नयाँ समर्थन मूल्यअनुसार १४.५ देखि १४.८ किलो तौल भएको एक्सएल अण्डाको मूल्य प्रतिपेटी ३ हजार ७०० रुपैयाँबाट बढाएर ३ हजार ९०० रुपैयाँ पु¥याइएको छ। यसअघि ठूलो आकारको अण्डाको मूल्य प्रतिपेटी ३ हजार ६०० रुपैयाँ रहेकामा अब ३ हजार ८०० रुपैयाँ कायम गरिएको छ। ठूलो अण्डाको तौल १३.५ देखि १३.८ किलोसम्म रहेको छ।
त्यसैगरी, १२.५ देखि १२.८ किलो तौल भएको मिडियम अण्डाको समर्थन मूल्य प्रतिपेटी ३ हजार ५०० रुपैयाँबाट बढाएर ३ हजार ७०० रुपैयाँ निर्धारण गरिएको अध्यक्ष पोखरेलले जानकारी दिए।
सानो आकारको अण्डाको मूल्यमा भने प्रतिपेटी १०० रुपैयाँ वृद्धि गरिएको छ। ११ किलोभन्दा माथि तौल भएको सानो अण्डाको मूल्य यसअघि ३ हजार १०० रुपैयाँ रहेकामा अब ३ हजार २०० रुपैयाँ कायम गरिएको छ।


