सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी)लाई १२ करोड रुपैयाँभन्दा बढी आर्थिक नोक्सानी पुर्याई गैरकानुनी लाभ लिएको आरोपमा नेपाल प्रहरीले संस्थानका तत्कालीन महाप्रबन्धकसहित आठ जनालाई पक्राउ गरेको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले आपराधिक विश्वासघात तथा सङ्गठित अपराधमा संलग्न रहेको आरोपमा तत्कालीन महाप्रबन्धक सञ्जीव झासहित आठ जनालाई पक्राउ गरेको हो। उनीहरूलाई जिल्ला अदालत काठमाडौंको अनुमति लिएर पक्राउ गरिएको सिआइबीले जनाएको छ।
पक्राउ पर्नेमा तत्कालीन महाप्रबन्धक झासहित संस्थानका जुनियर टेक्निकल असिस्टेन्ट विजयकुमार यादव, भक्तपुर चिस्यान केन्द्रका तत्कालीन प्रमुख मनहरी शर्मा र चनौली चिस्यान केन्द्रका तत्कालीन प्रमुख रामकेवल राय रहेका छन्।
त्यसैगरी, धुलो दूध कारखाना हेटौँडामा कार्यरत जीतेन्द्रकुमार यादव, नवलपुर चिस्यान केन्द्रका नवीनराय यादव, माडी चिस्यान केन्द्रका शिवनन्दन राय तथा माडी चिस्यान केन्द्रका प्रमुख वीखबहादुर भण्डारी पनि पक्राउ परेका छन्।
सिआइबीका सहप्रवक्ता एवं प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा पूर्वयोजना र आपसी मिलेमतोमा विभिन्न समूह खडा गरी सङ्गठित सञ्जालका रूपमा संस्थानलाई आर्थिक नोक्सानी पुर्याएको खुलेको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानले उक्त कार्यबाट संस्थानलाई १२ करोड १३ लाख ४३ हजार रुपैयाँ बराबरको प्रत्यक्ष आर्थिक हानि भएको र सोही बराबरको गैरकानुनी लाभ लिएको देखाएको छ। संस्थानको आर्थिक कारोबार तथा व्यवस्थापनसँग सम्बन्धित गतिविधिमा योजनाबद्ध रूपमा अनियमितता गरिएको आशंकामा प्रहरीले अनुसन्धान अघि बढाएको हो।
सिआइबीले पक्राउ परेका व्यक्तिहरूमाथि मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत आपराधिक विश्वासघात गर्न नहुने कसुर तथा सङ्गठित अपराध निवारण ऐन, २०७० अन्तर्गतको कसुरमा अनुसन्धान गरिरहेको जनाएको छ।


