नेपाली कांग्रेसले पार्टी र नेतृत्वलाई लक्षित गरी विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा सार्वजनिक भइरहेका समाचार र आरोपप्रति आपत्ति जनाउँदै ती सामग्री निराधार र भ्रम फैलाउने उद्देश्यले प्रकाशित गरिएको दाबी गरेको छ। पार्टी सभापति गगनकुमार थापाको सचिवालयले विज्ञप्ति जारी गर्दै यस्ता समाचारले पार्टीको आधिकारिकता र नेतृत्वबारे अनावश्यक भ्रम सिर्जना गर्न खोजेको जनाएको हो।
सचिवालयका अनुसार सरकारले पछिल्लो समय गरेका स्वतन्त्रताविरोधी गतिविधि तथा विभिन्न घटनाबाट जनताको ध्यान अन्यत्र मोड्न प्रतिपक्षी दललाई लक्षित गरेर सुनियोजित रूपमा भ्रम फैलाउने प्रयास भइरहेको छ। कांग्रेसले यस्ता गतिविधिलाई राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको आरोप लगाउँदै पार्टी र नेतृत्वविरुद्धका अपुष्ट समाचारलाई तथ्यका रूपमा प्रस्तुत नगर्न सम्बन्धित सञ्चारमाध्यम तथा पक्षहरूलाई सचेत गराएको छ।
विज्ञप्तिमा पार्टीको विशेष महाधिवेशन विधान र प्रचलित कानुनअनुसार सम्पन्न भएको उल्लेख गरिएको छ। विशेष महाधिवेशनबाट भएका निर्णय तथा नेतृत्वको आधिकारिकतासम्बन्धी विषय निर्वाचन आयोग र अदालतका निर्णयबाट पुष्टि भइसकेको कांग्रेसको दाबी छ। त्यस्तै, संविधान, प्रचलित कानुन, पार्टी विधान तथा सर्वोच्च अदालतको आदेशका आधारमा हालै सम्पन्न १५औँ महाधिवेशनले पार्टीको संस्थागत प्रक्रिया र संगठनात्मक संरचनालाई थप मजबुत बनाएको सचिवालयले जनाएको छ।
कांग्रेसले लोकतन्त्र, नागरिक स्वतन्त्रता, जनअधिकार र विधिको शासनका पक्षमा आफू निरन्तर प्रतिबद्ध रहेको पनि स्पष्ट पारेको छ। सरकारका गतिविधि लोकतान्त्रिक मूल्य र मान्यताविपरीत देखिएमा त्यसको सशक्त प्रतिवाद गर्ने पार्टीको भनाइ छ।
यसैबीच, बिचौलियासँग जोडिएका विषय तथा त्यससँग सम्बन्धित सबै प्रकरणमा गहिरो, निष्पक्ष र प्रमाणमा आधारित अनुसन्धान हुनुपर्ने कांग्रेसले दोहोर्याएको छ। अनुसन्धानबाट दोषी ठहर हुने जोकोहीलाई कानुनअनुसार कारबाही गर्नुपर्ने उल्लेख गर्दै त्यसका लागि सरकारलाई पार्टीको पूर्ण साथ र समर्थन रहने विज्ञप्तिमा जनाइएको छ।
तर अनुसन्धानका क्रममा नेपाल प्रहरीको छापसहितका कागजात, तथ्य तथा कथित बयानहरू छानिछानी सार्वजनिक भइरहेको घटनाप्रति कांग्रेसले चिन्ता व्यक्त गरेको छ। अनुसन्धानसँग सम्बन्धित सामग्री यसरी सार्वजनिक हुँदा अनुसन्धानको निष्पक्षता र विश्वसनीयतामाथि प्रश्न उठ्ने सचिवालयको ठहर छ। यसले प्रमाण लुकाउने वा नष्ट गर्ने तथा अनुसन्धान प्रक्रियालाई प्रभावित पार्ने प्रयास भइरहेको हो कि भन्ने आशङ्कासमेत जन्माएको विज्ञप्तिमा उल्लेख छ।
कांग्रेसले अनुसन्धान चयनात्मक रूपमा अघि बढाइएको हो कि भन्ने प्रश्न पनि उठाएको छ। अनुसन्धानमा संलग्न निकायभित्रकै व्यक्तिहरूको भूमिकासम्बन्धी विषय सार्वजनिक भइरहेका बेला सबै पक्षमाथि समान ढङ्गले छानबिन हुनुपर्ने उसको माग छ। अनुसन्धान गर्ने निकाय र त्यसमा संलग्न व्यक्तिहरूको भूमिका पनि पारदर्शी हुनुपर्ने पार्टीको भनाइ छ।
सचिवालयले कुनै पनि प्रकारको निष्पक्ष अनुसन्धानबाट पार्टी पछि नहट्ने स्पष्ट पार्दै अपुष्ट आरोप, राजनीतिक पूर्वाग्रह र भ्रामक प्रचारका आधारमा कसैलाई दोषी करार गर्ने प्रवृत्ति स्वीकार्य नहुने जनाएको छ। अनुसन्धानलाई निष्पक्ष, विश्वसनीय र प्रभावकारी बनाउन नेपाली कांग्रेसको संसदीय दलले समेत आवश्यक निर्णय गरिसकेको विज्ञप्तिमा उल्लेख छ।


