Banijya News

टेट्रिसले पत्ता लगायो विगतको आघातको सामना गर्न मद्दत गर्न सक्ने अध्ययन

1
1.1K Shares

आधुनिक चिकित्सा विज्ञान र मनोविज्ञानको क्षेत्रमा डिजिटल प्रविधिको प्रयोगबारे अनेकौँ बहस हुने गरेका छन् । हालै बेलायत र स्वीडेनका अनुसन्धानकर्ताहरूले गरेको एउटा विशेष अध्ययनले भिडियो गेम टेट्रिस लाई केवल मनोरञ्जनको साधन मात्र नभई मानसिक आघात कम गर्ने एक शक्तिशाली औषधिको रूपमा प्रस्तुत गरेको छ ।

अध्ययन विशेष गरी ती व्यक्तिहरूमा केन्द्रित थियो, जसले आफ्नो कार्यक्षेत्रमा गम्भीर मानसिक चोटको सामना गरेका थिए । टेलिग्राफ र स्काई न्युज जस्ता प्रतिष्ठित सञ्चार माध्यमहरूले उल्लेख गरे अनुसार, यो विधिले मानिसको मस्तिष्कमा गढेर बसेका डरलाग्दा स्मृतिहरूलाई मेटाउन वा कम गर्न निकै प्रभावकारी भूमिका खेलेको पाइएको छ ।

अध्ययनमा करिब एक सय जना कर्मचारीहरूलाई सहभागी गराइएको थियो, जसले कोभिड–१९ महामारीको चरम अवस्थामा अग्रपंक्तिमा रहेर काम गरेका थिए । ती कर्मचारीहरूले अस्पताल र अन्य कार्यस्थलमा दैनिक रूपमा मृत्युका घटनाहरू प्रत्यक्ष देखेका थिए, जसले गर्दा उनीहरूको मस्तिष्कमा हस्तक्षेपकारी सम्झनाहरू को गहिरो छाप परेको थियो । यस्ता सम्झनाहरूले मानिसलाई अचानक विगतको पीडादायी क्षणमा पुर्‍याउने र दैनिक जीवनमा एकाग्र हुन नदिने समस्या पैदा गर्दथ्यो ।

अनुसन्धानकर्ताहरूले यी कर्मचारीहरूलाई दुई समूहमा विभाजन गरेर अध्ययन अगाडि बढाएका थिए, जसमा एक समूहलाई पारम्परिक उपचार र अर्को समूहलाई टेट्रिस खेलमा आधारित विशेष थेरापी दिइएको थियो। उपचारको प्रक्रिया निकै वैज्ञानिक र व्यावहारिक बनाइएको थियो । सहभागीहरूलाई सुरुमा उनीहरूको विगतको कुनै एउटा नमीठो वा पीडादायी घटनालाई थोरै समयका लागि सम्झन लगाइयो । प्रक्रियाले मस्तिष्कको त्यो भागलाई सक्रिय बनाउँथ्यो जहाँ पुराना स्मृतिहरू भण्डारण भएका हुन्छन् ।

त्यसलगत्तै, उनीहरूलाई टेट्रिसको एउटा विशेष संस्करण खेल्न दिइयो । मनोवैज्ञानिकहरूका अनुसार, जब हामी कुनै दृश्य सम्बन्धी चुनौतीपूर्ण कार्य (स्तै टेट्रिस खेल्ने) गर्छौँ, तब हाम्रो मस्तिष्कको भिजुअल स्पेसियल क्षमता पूर्ण रूपमा व्यस्त हुन्छ। यसले गर्दा अघि भर्खरै सक्रिय पारिएको नकारात्मक स्मृति मस्तिष्कमा पुनः सुदृढ हुन पाउँदैन र बिस्तारै त्यसको प्रभाव कम हुँदै जान्छ।

उप्साला विश्वविद्यालयकी मनोविज्ञानकी प्राध्यापक एमिली होम्स, जसले यस अध्ययनको नेतृत्व गरेकी थिइन्, उनी भन्छिन् कि विगतको एउटै मात्र क्षणिक र हस्तक्षेपकारी सम्झनाले पनि मानिसको ध्यान पूर्ण रूपमा कब्जा गर्न सक्छ । यसले मानिसलाई अनावश्यक डर, चिन्ता र अवांछित भावनाहरूको भुमरीमा फसाउँछ । होम्सका अनुसार, टेट्रिसले मस्तिष्कलाई ती दृश्यहरू प्रशोधन गर्नबाट रोक्छ, जसले गर्दा ती सम्झनाहरू पछि गएर फ्ल्यासब्याक को रूपमा बल्झिन पाउँदैनन्।

उपचार केवल खेल खेल्नु मात्र नभएर, मानिसहरूको व्यस्त जीवनमा सजिलै फिट हुन सक्ने गरी डिजाइन गरिएको एक संक्षिप्त र प्रभावकारी हस्तक्षेप हो । अनुसन्धानको नतिजाले चिकित्सकहरूलाई समेत आश्चर्यचकित बनाएको छ । चार हप्ताको छोटो अवधिमै यो विधि अपनाउने समूहमा अन्यको तुलनामा १० गुणा कम नकारात्मक सम्झनाहरू पाइएको थियो । अझ महत्वपूर्ण कुरा त के छ भने, ६ महिनापछिको फलो-अप अध्ययनमा ७० प्रतिशत सहभागीहरूले आफूलाई कुनै पनि प्रकारको पीडादायी वा हस्तक्षेपकारी सम्झना नआएको रिपोर्ट गरे ।

टेट्रिसमा आधारित यो उपचार विधि अल्पकालीन राहतका लागि मात्र नभई दीर्घकालीन मानसिक स्वास्थ्यका लागि पनि उत्तिकै प्रभावकारी छ । यसले पोस्ट-ट्रमाटिक स्ट्रेस डिसअर्डरका गम्भीर लक्षणहरूसँग जुध्न पनि बिरामीहरूलाई ठूलो मद्दत पुर्‍याएको पाइएको छ । सन् १९८४ मा रुसी सफ्टवेयर इन्जिनियर एलेक्सी पाजिटनोभले सिर्जना गरेको यो खेलको मनोवैज्ञानिक प्रभावलाई पहिले नै टेट्रिस इफेक्ट को रूपमा चिनिन्थ्यो । कतिपय मानिसहरूले घण्टौंसम्म यो खेल खेलेपछि आँखा चिम्लँदा पनि आकाशबाट ब्लकहरू खसेको वा सडकका भवनहरू सँगै मिलेको देख्ने अनुभव सुनाउँथे । यही भिजुअलु प्रभावलाई वैज्ञानिकहरूले अहिले मानसिक उपचारमा प्रयोग गरेका हुन्। यो अध्ययन सफल भएपछि विज्ञहरूले अब यसलाई ठूलो जनसमूहमा परीक्षण गर्ने आशा राखेका छन् ।

यदि यो विधि व्यापक रूपमा सफल भयो भने, युद्धग्रस्त क्षेत्रमा रहेका सैनिकहरू, ठूला दुर्घटनामा परेका व्यक्तिहरू वा गम्भीर मानसिक चोट व्यहोरेका जोकोहीका लागि यो निकै सस्तो र पहुँचयोग्य उपचार पद्धति बन्न सक्छ । अनुसन्धानले आधुनिक प्रविधिलाई सही ढङ्गले प्रयोग गर्दा मानव मस्तिष्कको जटिल समस्या समाधान गर्न सकिन्छ भन्ने नयाँ बाटो देखाएको छ । प्राध्यापक होम्सले यसलाई ूवास्तविक सफलताू को रूपमा व्याख्या गरेकी छिन् ।

यो विधिले देखाएको सकारात्मक परिणामले भविष्यमा मानसिक स्वास्थ्य उपचारका परम्परागत शैलीहरूमा परिवर्तन ल्याउन सक्ने सम्भावना बलियो बनाएको छ । मानिसहरूले आफ्नो व्यस्त कार्यतालिका बीचमै पनि थोरै समय निकालेर यो सरल खेल मार्फत आफ्ना गहिरा मानसिक चोटहरूलाई व्यवस्थापन गर्न सक्नेछन् ।

1

Scroll to Top