सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले नयाँ बोनसदर सार्वजनिक गरेको छ। कम्पनीले गत आर्थिक वर्षको बीमांकीय मूल्यांकन प्रतिवेदनको आधारमा नयाँ बोनसदर सार्वजनिक गरेको हो।
नयाँ बोनसदर अनुसार कम्पनीले सावधिक जीवन बीमा योजना (रेगुलर) मा बीमा अवधि अनुसार न्यूनतम ३५ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म प्रति हजारका दरले बोनस दिने भएको छ। यता सावधिक जीवन बीमा योजना (एकल) मा न्यूनतम ३५ रुपैयाँदेखि अधिकतम ६५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ।
त्यसैगरी त्रिपल सावधिक बीमा योजनामा न्यूनतम २० रुपैयाँदेखि अधिकतम ३० रुपैयाँसम्म, दम्पत्ति सावधिक बीमा योजनामा न्यूनतम २० रुपैयाँदेखि अधिकतम ३० रुपैयाँसम्म र सावधिक तथा आजीवन बीमा योजनामा न्यूनतम ३५ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस दिनेछ।
त्यस्तै कम्पनीले अग्रिम भुक्तानी योजनामा न्यूनतम ३२ रुपैयाँदेखि अधिकतम ४२ रुपैयाँसम्म, वार्षिक अग्रिम भुक्तानी योजनामा न्यूनतम १९ रुपैयाँदेखि अधिकतम २१ रुपैयाँसम्म, मुद्दति सुरक्षण बीमा योजना–नियमित शुल्कका सबै बीमा अवधिमा समान २४ रुपैयाँ बोनस दिनेछ।
यता मुद्दति सुरक्षण बीमा योजना–एकल शुल्कका सबै बीमा अवधिमा समान ५४ रुपैयाँ, १५ वर्षे अग्रिम भुक्तानी योजनाका सबै बीमा अवधिमा समान ४१ रुपैयाँ, २० वर्षे अग्रिम भुक्तानी योजनामाका सबै अवधिमा समान ४५ रुपैयाँ र रूपान्तरित वार्षिक अग्रिम भुक्तानी योजनाका सबै बीमा अवधिमा पनि समान ३० रुपैयाँ बोनस बीमितले पाउने भएका छन्।
कम्पनीले सामूहिक सावधिक बीमा योजनाका सम्पूर्ण बीमा अवधिमा समान २० रुपैयाँ, सावधिक तथा आजीवन बीमा योजनामा न्यूनतम ३० रुपैयाँदेखि अधिकतम ६० रुपैयाँसम्म, सावधिक बीमा योजनामा न्यूनतम ३० रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म, सीमित भुक्तानी सावधिक बीमा योजनामा ४० रुपैयाँदेखि ६५ रुपैयाँसम्म, बाल सावधिकको एउटा बीमा योजनामा २२ रुपैयाँदेखि ४५ रुपैयाँसम्म र अर्को बीमा योजनामा २० रुपैयाँदेखि ३४ रुपैयाँसम्म बोनस दिनेछ।
यो बोनसदर मृत्यु दाबी, समर्पण दाबी, चुक्ता मूल्य दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी र चालू बीमालेखहरूमा पनि लागू हुने कम्पनीले जनाएको छ।


