Banijya News

बिमाका बिरामीलाई बाहिर औषधि खरिद नगराउन निर्देशन

1
1.1K Shares

स्वास्थ्य बिमा बोर्डले उपचार गराउन आएका बीमितलाई अस्पताल बाहिर औषधि खरिद नगराउन सबै अस्पताल (स्वास्थ्य संस्था)लाई निर्देशन गरेको छ । बोर्डका सूचना अधिकारी विकेश मल्लले सबै अस्पताललाई परिपत्र जारी गर्दै बीमितलाई बाहिर औषधि पसलमा औषधि तथा औषधिजन्य सामग्री खरिद नगराउन निर्देशन दिएको जानकारी दिए । बीमितसँग केही स्वास्थ्य संस्थाले प्याकेजमा गरिने उपचारमा औषधि बाहिर खरिद गराउने पाइएकोले त्यस्ता नगर्न/नगराउन सबै अस्पताललाई परिपत्र गरिएको उनले बताए ।

अस्पतालले बीमितसँग बिमा सेवाका विभिन्न प्याकेजभित्र समावेश हुने औषधि तथा औषधिजन्य सामग्री सोही अस्पताल तथा बाहिरका औषधि पसलबाट नगदमा खरिद गर्न लगाउने गरेका छन् । सूचना अधिकारी मल्लले बिरामीलाई बाहिरका औषधि पसलबाट औषधि खरिद गर्न लगाउने अस्पताललाई स्वास्थ्य बिमा ऐन २०७५, स्वास्थ्य बिमा नियमावली २०७५ तथा प्रचलित निर्देशिका र कार्यविधि विपरीत रहेको भन्दै त्यस्ता अस्पताललाई स्वास्थ्य बिमा नियमावली २०७५को नियम १८ को उपनियम (१) को खण्ड (क) बमोजिम कारबाही गरिनेसमेत बताए ।

स्वास्थ्य बिमा कार्यक्रममा अन्तर्गत पाँच जना परिवारसम्मका लागि तीन हजार ५०० बराबरको योगदानको आधारमा एक लाख सम्मको स्वास्थ्य सेवा सुविधा उपलब्ध गराइन्छ । यस्तै थप प्रति सदस्य ७०० का दरले योगदान रकम थपिँदै जाने र प्रति सदस्य २० हजार बराबरको सेवा सुविधा थपिने प्रावधान रहेको छ ।

1

Scroll to Top