प्रभु इन्स्योरेन्सका अध्यक्ष राजेन्द्र मल्लले बिमा क्षेत्रमा देखिने जोखिम व्यवस्थापनलाई न्यूनिकरण गर्न कम्पनीले विशेष ध्यान दिएको बताएका छन् । वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले संस्थागत सुशासन, आन्तरिक नियन्त्रण प्रणाली सुदृढ गर्दै आधुनिक प्रविधिमा आधारित सेवा विस्तारमा जोड दिइएको जानकारी दिए ।
कम्पनीले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट ९.१५७९ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । अध्यक्ष मल्लका अनुसार कम्पनीले दिगो सफलता हासिल गर्न अल्पकालीन तथा दीर्घकालीन रणनीति अवलम्बन गरेको छ । सूचना प्रविधिलाई आधुनिक बीमाको आधारशिला मान्दै छिटो, सहज र विश्वसनीय सेवा प्रदान गर्ने नीति अपनाइएको उनले बताए ।
साथै व्यवसाय विस्तार, मानव संसाधन विकास, कर्मचारी तालिम, ब्रान्डिङ तथा नीति–नियमको पूर्ण कार्यान्वयनमार्फत कम्पनीलाई प्रतिस्पर्धी बनाउने लक्ष्य राखिएको छ । यसै वर्ष कम्पनीले थाइल्याण्डको बैंककमा आयोजित ‘इमर्जिङ एसिया अवार्ड’मा दुई विधामा सफलता हासिल गरेको पनि उनले जानकारी दिए ।
कठिन बजार परिस्थितिका बीच कम्पनीले खर्च नियन्त्रण र परिणाममुखी नीतिमा ध्यान दिएको मल्लको भनाइ छ । उनले कर्मचारीलाई संस्थाको मुख्य आधार मान्दै प्रोत्साहन र तालिममार्फत कार्यक्षमता अभिवृद्धि गरिएको बताए । बिमा क्षेत्रमा चुनौतीका बाबजुद कम्पनीले लाभांश वितरण गर्न सफल भएको भन्दै उनले आगामी दिनमा अझ विश्वसनीय र सुदृढ संस्था बन्ने प्रतिबद्धता व्यक्त गरे ।


