Banijya News

हिमालयन रिइन्स्योरेन्सलाई पुनर्बीमा कारोबार गर्न रोक

1
1.0K Shares

नेपाल बीमा प्राधिकरणले हिमालयन रिइन्स्योरेन्स लिमिटेडलाई नयाँ पुनर्बीमा व्यवसाय गर्न रोक लगाएको छ । प्राधिकरणले आज बिहीबार सार्वजनिक सूचना जारी गर्दै बीमा ऐन, २०७९ को दफा १३६ को उपदफा (१) बमोजिम कम्पनीलाई नयाँ पुनर्बीमा कारोबार नगर्न निर्देशन दिएको हो ।

प्राधिकरणले कम्पनीलाई पुनर्बीमा दाबी भुक्तानी गर्ने कार्य र यसअघि भएका पुनर्बीमा व्यवसायका लागि रेट्रोसेसन सम्बन्धी कार्य बाहेक आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म नयाँ पुनर्बीमा व्यवसाय गर्न रोक लगाएको छ ।

प्राधिकरणले वैशाख २९ गतेको निर्णयअनुसार उक्त व्यवस्था लागू गरिएको जनाएको छ । बीमा ऐनको दफा १३६ को उपदफा (४) बमोजिम सार्वजनिक सूचना जारी गर्दै सम्बन्धित सबै सरोकारवालालाई जानकारी गराइएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार, कम्पनीले पूर्वबीमा दाबी भुक्तानीसम्बन्धी दायित्व पूरा नगरेपछि यस्तो निर्णय गरिएको हो । यद्यपि, पुनर्बीमा दाबी भुक्तानी गर्ने कार्य र यसअघि भए गरेका पुनर्बीमा व्यवसायका लागि रेट्रोसेसन गर्ने कार्य भने गर्न पाउने प्राधिकरणले स्पष्ट पारेको छ ।

यसअघि प्राधिकरणले हिमालयन रि–इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सहित पाँच जना उच्च व्यवस्थापन अधिकारीसँग स्पष्टीकरण सोधेको थियो । कम्पनी सञ्चालनका क्रममा आर्थिक अनियमितता भएको आशंकापछि नियामकले जवाफ मागेको हो ।

सम्पत्ति शुद्धीकरण विभागले पनि फागुन २८ गते प्राधिकरणलाई पत्राचार गर्दै व्यवसायी दीपक भट्टसँग सम्बन्धित सेयर खरिद प्रक्रियामा ३ अर्ब ८१ करोड रुपैयाँभन्दा बढी रकम दुरुपयोग भएको आशंकामा छानबिन गर्न निर्देशन दिएको थियो । उक्त रकम नेपाल पुनर्बीमा कम्पनीसहित विभिन्न कम्पनीको सेयर खरिदमा प्रयोग भएको आशंका गरिएको छ ।

1

Scroll to Top