हिमालयन रिइन्स्योरेन्स कम्पनीमा एक साता नपुग्दै नेतृत्व तहमा फेरि उथलपुथल भएको छ। गत असार २ गते मात्रै कायममुकायम (कामु) प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी सम्हालेका मुकेशकुमार कपुरले पदभार ग्रहण गरेको सातौँ दिनमै (असार ८ गते) आफ्नो पदबाट राजीनामा दिएका छन्।
विगत पाँच वर्षदेखि सोही कम्पनीमा कार्यरत कपुरले यति छोटो अवधिमै किन राजीनामा बुझाए भन्ने कुरा आधिकारिक रूपमा सार्वजनिक नगरिए पनि यसको भित्री कारण सम्पत्ति शुद्धीकरण विभागको अनुसन्धानसँग जोडिएको बुझिएको छ।
यसअघिकी सीईओ उपासना पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएपछि कम्पनीले कपुरलाई तत्कालका लागि संस्थाको कमान्ड सुम्पेको थियो। तर, कपुर आफैँ पनि सम्पत्ति शुद्धीकरण विभागको अनुसन्धानको घेरामा परेका छन्। स्रोतका अनुसार कामु सीईओको जिम्मेवारी पाएलत्तै विभागले उनलाई बयानका लागि बोलाएपछि दबाबमा परेर उनले अप्रत्याशित रूपमा राजीनामा दिएका हुन्। यसरी शीर्ष नेतृत्व तहका अधिकारीहरू लगातार कानुनी झमेलामा परेपछि हिमालयन रिइन्स्योरेन्सको सुशासनमाथि नै गम्भीर प्रश्न उठेको छ।


