बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तर्जुमाका लागि निकै नै ठोस र परिवर्तनकारी नीति अघि सार्दै परम्परागत बजेट निर्माण शैलीलाई पूर्ण रूपमा विस्थापन गर्ने संकेत गरेको छ। आगामी जेठ १५ गतेभित्र नयाँ योजनाको सूची तयार गरिसक्ने समयसीमा तोकेको मन्त्रालयले बजेटलाई यथार्थपरक, व्यवस्थित र परिणाममुखी बनाउने तयारी अन्तिम चरणमा पुर्याएको छ। मन्त्रालयले आगामी बजेट तर्जुमाको क्रममा तीन मुख्य सर्त अघि सार्दै ‘आयोजना बैंक’ बाहिरका कुनै पनि योजनालाई समावेश नगर्ने स्पष्ट नीति लिएको छ। विगतका वर्षहरूमा जथाभावी योजना थप्ने र स्रोत छर्ने प्रवृत्तिलाई रोक्न यसपटक मन्त्रालय निकै कडा रूपमा प्रस्तुत भएको देखिन्छ।
हेटौंडामा आयोजित चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक समीक्षा कार्यक्रममा मन्त्रालयले मातहतका १९ वटा कार्यालयमार्फत योजना छनोट र कार्यान्वयनलाई परिणाममुखी बनाउने तयारी गरेको जानकारी गराएको छ। मन्त्री डा. दिनेशचन्द्र देवकोटाका अनुसार नयाँ योजना थप्ने भन्दा पनि निर्माण भइसकेका संरचनाको संरक्षणलाई पहिलो प्राथमिकतामा राखिएको छ। उनले एउटा रोचक उदाहरण दिँदै भनेका छन् कि १० करोडको पुलको पिलर बगाउन लाग्दा २० लाख खर्च गरेर त्यसलाई जोगाउनुको सट्टा ४० करोडको नयाँ पुल माग्दै हिँड्ने काम अब राज्यले गर्ने छैन। यसरी राज्यले निर्माण गरिसकेका सम्पत्तिको संरक्षण गर्नु मन्त्रालयको पहिलो धर्म भएको उनको तर्क छ।
मन्त्रालयले अघि सारेका तीन सर्तहरूमा निर्माण भइसकेका संरचनाको मर्मतसम्भार, दुर्गम क्षेत्रको प्राथमिकता र पूर्वाधारसँगै ‘हरित उद्यम’को प्रवर्द्धनलाई मुख्य आधार बनाइएको छ। मन्त्री देवकोटाले सुगम सहर र दुर्गम गाउँको आवश्यकता फरक हुने बताउँदै पहाडी तथा हिमाली जिल्लाका विकट बस्तीहरूमा ठूला पुलभन्दा झोलुङ्गे पुल र बेलीब्रिज निर्माणलाई जोड दिनुपर्ने धारणा राखेका छन्। त्यस्तै, थामी, चेपाङ, बोटे, माझी बस्ती वा अन्य सीमान्तकृत समुदायको वास्तविक आवश्यकतालाई सम्बोधन गर्ने गरी प्राविधिकहरूले नै योजना प्रस्ताव गर्नुपर्ने उनको स्पष्ट निर्देशन रहेको छ।
योजना छनोटको प्रक्रियालाई थप पारदर्शी र अनुशासित बनाउन मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहठ्ठाले आगामी बजेटमा समावेश हुने सबै आयोजनालाई ‘आयोजना बैंक’मा अनिवार्य प्रविष्ट गर्नुपर्ने बताएका छन्। यदि कुनै पनि योजना आयोजना बैंकमा प्रविष्ट छैन भने त्यसले बजेट नपाउने उनको दाबी छ। विगतमा राम्रा कार्यक्रमको बजेट काटेर अनावश्यक कार्यक्रमहरू थप्ने प्रवृत्तिले विकास निर्माणमा पारेको नकारात्मक प्रभावलाई औंल्याउँदै सचिव मरहठ्ठाले आफ्नो बजेट सिलिङभित्र रहेर प्रभावकारी र परिणाम दिने आयोजना मात्रै अघि बढाउन निर्देशन दिएका छन्। यसबाहेक, उनले आर्थिक अनुशासनमा जोड दिँदै बेरुजु फर्छ्यौटलाई कर्मचारीको वृत्ति विकाससँग जोड्ने कानुनी व्यवस्था आउन लागेको चेतावनीसमेत दिएका छन्। समायोजन वा खारेज भएका कार्यालयहरूको बेरुजु एक हप्ताभित्र नयाँ कार्यालयमा हस्तान्तरण गर्नुपर्ने उनको निर्देशन छ।
यस आर्थिक वर्षको हालसम्मको वित्तीय प्रगतिको अवस्थालाई हेर्दा भने चुनौतीहरू कायमै रहेको देखिन्छ। मन्त्रालयको आर्थिक प्रशासन महाशाखाका प्रमुख श्रीराम पुडासैनीका अनुसार चालु आर्थिक वर्षमा कुल २२ अर्ब ३६ करोड ४५ लाख रुपैयाँ बजेटमध्ये हालसम्म जम्मा ६ अर्ब ८० करोड ८९ लाख रुपैयाँ (अर्थात् ३०.४५ प्रतिशत) मात्रै खर्च भएको छ। इन्धनको मूल्यवृद्धि लगायत बाह्य कारणले लागत बढ्दा योजना कार्यान्वयनमा अपेक्षित प्रगति हासिल गर्न चुनौती देखिएको उनको भनाइ छ। यता, यातायात पूर्वाधार निर्देशनालयका प्रमुख नविन कुमार सिंहले योजना छनोट र कार्यान्वयनमा एकरूपता ल्याउन मापदण्ड बनाउनुपर्ने र नीतिगत सुधारमा जोड देनाुपर्ने आवश्यकता औंल्याएका छन्।
समीक्षा कार्यक्रममा मातहतका पूर्वाधार तथा सहरी विकास कार्यालयहरूले चालु वर्षको प्रगति, रुग्ण आयोजनाको अवस्था, बजेट खर्च र आगामी वर्षका सुधारका उपायबारे प्रस्तुति दिएका थिए। मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार व्यवस्थापकीय क्षमतातर्फ पूर्वाधार विकास कार्यालय रामेछाप, बजेट कार्यान्वयनमा सिन्धुली र बेरुजु फर्छ्यौटमा मकवानपुर उत्कृष्ट देखिएका छन्। यसरी बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले अख्तियार गरेको यो नयाँ नीतिले आगामी दिनमा स्रोतको अपव्यय रोक्ने र विकासलाई वास्तविक आवश्यकतामा आधारित बनाउनेमा सरोकारवालाहरू निकै आशावादी देखिएका छन्।


