अमेरिका र इरानबीच पुनः वार्ताको प्रयास भइरहेका बेला खाडी क्षेत्रमा तनाव फेरि उत्कर्षमा पुगेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै देश संवादका लागि सहमत भएको दाबी गरे पनि अघिल्लो महिनाको युद्धविराम अब समाप्त भइसकेको घोषणा गरेका छन्। हालै कतार र साउदी अरेबियानजिक व्यावसायिक तेल ट्याङ्करहरूमाथि इरानी आक्रमण र त्यसको जवाफमा अमेरिकाले गरेको हवाई हमला तथा इरानद्वारा अमेरिकी सैन्य अड्डालक्षित मिसाइल प्रहारले क्षेत्रको सुरक्षा स्थितिलाई थप नाजुक बनाएको छ।
आवश्यक परे अमेरिका इरानविरुद्ध पुनः सैन्य कारबाहीका लागि पूर्ण रूपमा तयार रहेको ट्रम्पले चेतावनी दिएका छन्। यसैबीच, अमेरिकी सञ्चारमाध्यमहरूले इरानले ट्रम्पको हत्या गर्ने षड्यन्त्र रचेको दाबी गरेपछि राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रथ सोसल मार्फत कडा आक्रोश व्यक्त गरेका छन्।
उनले यदि इरानले अमेरिकी राष्ट्रपतिमाथि आक्रमण गर्ने धम्कीलाई व्यवहारमा उतारेमा हजारौँ मिसाइलमार्फत तत्काल रणनीतिक लक्ष्यहरूमा व्यापक जवाफ दिइने चेतावनी दिएका छन्। इरान सरकारले यसमा आधिकारिक प्रतिक्रिया नजनाए पनि हालै दिवङ्गत भएका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीईको अन्त्येष्टिमा सहभागी प्रदर्शनकारीहरूले ट्रम्प र अमेरिकाविरुद्ध चर्को नाराबाजी गरेका छन्।
हाल दुई देशबीचको मुख्य विवादको केन्द्र विश्वकै महत्त्वपूर्ण व्यापारिक कडी मानिने ‘होर्मुज जलमार्ग’ बनेको छ, जहाँबाट विश्वको करिब २० प्रतिशत तेल ओसारपसार हुने गर्दछ। अमेरिकाले उक्त जलमार्गमा इरानले गर्ने हस्तक्षेप बन्द गरी सुरक्षित आवागमनको सार्वजनिक प्रतिबद्धता जनाउनुपर्ने अडान राख्दै आएको छ।
यही विवादका बीच इरानी विदेशमन्त्री अब्बास अराघची छलफलका लागि ओमान पुगेका छन्। राष्ट्रपति ट्रम्पले वार्ताको पहल इरानले नै गरेको जिकिर गरे पनि इरानी पक्षले भने त्यस दाबीलाई अस्वीकार गरिरहेको छ।


