Banijya News

प्रम बालेनको सीमासम्बन्धी विवादास्पद अभिव्यक्तिः विभिन्न दल र समूहको प्रदर्शन

1
1.0K Shares

प्रधानमन्त्री बालेन्द्र शाहले भारतसँगको सीमा विवादबारे दिएको अभिव्यक्तिको प्रदर्शनमा काठमाडौंको माइतीघरमा विभिन्न दल, तीन भ्रातृ संगठन र समूहले प्रदर्शन गरेका छन् । नेकपा (एमाले), काँग्रेसनिकट भ्रातृ संगठन तरुण दल, संयुक्त विद्यार्थी संगठनलगायतले विरोध प्रदर्शन गरेका हुन् ।

प्रधानमन्त्री शाहले आइतबार संसदमा बोल्दै भारतले मात्र नभई नेपालले पनि भारतको सीमा मिचेको कुरा आफूले प्रधानमन्त्री भएपछि थाहा पाएको बताएका थिए । त्यस क्रममा उनले भनेका थिए, ‘तपाईंहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाएँ– भारतले नेपालको जग्गा मात्र हैन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ ।’ उक्त भनाइ सार्वजनिक भएपछि संसदभित्र र बाहिर चर्को बहस र असन्तोष देखिएको छ । उनको सो अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेको छ । संसद् अवरुद्ध भएको छ भने सडकमा विभिन्न दलआबद्ध संगठन र समूहले प्रदर्शनसमेत गरेका छन् ।

राष्ट्रियसभाको बैठकमा प्रम शाहलाई पदबाट राजीनामा गर्न र माफी माग्नुपर्ने अडान नेपाली काँग्रेस, नेकपा एमाले, नेकपालगायतले राखेपछि बैठक नै स्थगन भएको छ । प्रतिनिधिसभामा समेत प्रमको भनाइप्रति तिव्र आलोचना भइरहेको छ ।

काँग्रेसले प्रधानमन्त्री बालेन शाहलाई नेपालले भारतको जग्गा मिचेको तथ्य सार्वजनिक गर्न २४ घण्टे अल्टिमेटम नै दिएको छ । राष्ट्रियसभा बैठकमा सोमबार काँग्रेसले २४ घण्टाभित्र नेपाल सरकारले भारतको कुन–कुन ठाउँमा जग्गा मिचेको छ जानकारी गराउन माग गरेको हो । अन्ततः राष्ट्रियसभाको सोमबारको बैठक नै स्थागित हुन पुगेको छ ।

1

Scroll to Top