Banijya News

रिलायन्स स्पिनिङ मिल्सलाई आईपीओ निष्कासनको अनुमति

1
1.1K Shares

झन्डै डेढ वर्षअघि रोकिएको रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको शेयरको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) अघि बढाउन नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । मङ्सिर १६ गते विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई पत्र पठाउँदै बोर्डले आईपीओ प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो ।

कम्पनीलाई बुक बिल्डिङ विधिबाट आईपीओका लागि दिइएको अनुमतिमा विवाद आएपछि बोर्डले तत्काललाई उक्त प्रक्रिया रोक्ने निर्णय गरेको थियो । त्यसअघि विघटित प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले आईपीओ प्रक्रिया रोक्न बोर्डलाई निर्देशन दिएको थियो ।

पाटन उच्च अदालतले पछि निश्चित प्रक्रिया पुर्याई आईपीओ खुला गर्न आदेश दिएको थियो ।

बोर्डका एक उच्च अधिकारीले अदालतको आदेश पालना गर्दै आईपीओ प्रक्रिया अघि बढाउन मंगलवार विक्री प्रबन्धकलाई पत्र पठाइएको जानकारी दिए । ‘बोर्डले पहिला नै अनुमति दिइसकेको कम्पनीको आईपीओ सम्बन्धमा गुनासो आएपछि सार्वजनिक लेखा समितिले तत्काल रोक्न निर्देशन दिएको थियो,’ ती अधिकारीले भने । ‘उक्त आईपीओ सम्बन्धमा पाटन उच्च अदालतमा परेको रिट खारेज भई अदालतले समेत निष्कासनका लागि बाटो खुला गरिदिएकाले बोर्डले सोहीबमोजिम गर्न निर्देशन दिएको हो ।

उक्त आईपीओविरुद्ध हरिबहादुर केसीसहित चार जनाले २०८१ असार २५ गते उच्च अदालत पाटनमा रिट दायर गरेका थिए । उक्त रिट उच्च अदालत पाटनले कात्तिक २१ गते खारेज गरेको हो । कम्पनीले बुक बिल्डिङ विधिबाट आफ्नो जारी पूँजी १ अर्ब ९० करोड रुपैयाँको १० दशमलव १४ प्रतिशतले हुन आउने १९ करोड २६ लाख ६० हजार रुपैयाँ बराबरको १९ लाख २६ हजार ६०० कित्ता शेयर निष्कासन गर्न अनुमति पाइसकेको छ । कम्पनीले संस्थागत लगानीकर्ता र सर्वसाधारणलाई शेयर निष्कासन गर्न धितोपत्र बोर्डबाट अनुमति लिई योग्य संस्थागत लगानीकर्तालाई शेयर बाँडफाँट समेत गरिसकेको छ ।

२०८० पुस १९ गते योग्य संस्थागत लगानीकर्ताका लागि शेयर निष्कासन गर्न अनुमति पाएको कम्पनीले माघ १० गतेदेखि १४ गतेसम्म बोलकबोल प्रक्रियाबाट आवेदन माग गरी माघ १५ गते बाँडफाँट गरेको हो । योग्य संस्थागत लगानीकर्तामा प्रतिकित्ता ९१२ रुपैयाँ अन्तिम मूल्य कायम गरी ७ लाख ७० हजार ६४० कित्ता शेयर बाँडफाँट भएको छ । योग्य संस्थागत लगानीकर्ताले खरीद गरेको मूल्यभन्दा १० प्रतिशत कम मूल्य (प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसा)मा सर्वसाधारण लगानीकर्तामा ११ लाख ५५ हजार ९६० कित्ता शेयर निष्कासन गर्न बोर्डले २०८१ असार १२ गते अनुमति दिएको थियो । सर्वसाधारणमा विक्री गर्ने कुल कित्तामध्ये पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि २०८१ असार २७ गतेदेखि १ लाख १५ हजार ५९६ कित्ता विक्री गर्ने मितिसमेत तय भएको अवस्थामा १ दिनअघि बोर्डले निष्कासन रोक्न निर्देशन दिएको थियो । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणमै प्रश्न उत्पन्न भएपछि कम्पनीको आईपीओ विवादमा परेको थियो ।

कम्पनीले चालू आर्थिक वर्ष (आव) को पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गर्न बाँकी छ । गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार अघिल्लो वर्षको सोही अवधिसम्मको तुलनामा कम्पनीको खुद नाफा ८४५ दशमलव ५१ प्रतिशत बढेको छ ।

अघिल्लो वर्ष ९ अर्ब २० करोड रुपैयाँभन्दा धेरै सञ्चालनबाट आम्दानी गरेको कम्पनीले गतवर्ष त्यस्तो आम्दानी १० अर्ब २३ करोड रुपैयाँ नघाएको छ । वित्तीय खर्च भने अघिल्लो वर्ष ४७ करोड २६ लाख रुपैयाँभन्दा बढी र गतवर्ष ४३ करोड ५८ लाख रुपैयाँभन्दा बढी छ । कम्पनीले गतवर्ष विक्री खर्च भने अघिल्लो वर्षभन्दा गत वर्ष ५ प्रतिशत बढी गरेको छ । अघिल्लो वर्ष ८ अर्ब ३४ करोड रुपैयाँभन्दा बढी भएको विक्री खर्च गतवर्ष ८ अर्ब ७५ करोड ८३ लाख रुपैयाँ नाघेको छ । आम्दानी बढ्दा कम्पनीको सञ्चालन नाफा करीब ८० प्रतिशत बढेको छ । अघिल्लो वर्ष ५७ करोड २७ लाख रुपैयाँभन्दा बढी रहेको सञ्चालन नाफा गतवर्ष १ अर्ब ३ करोड रुपैयाँभन्दा माथि छ ।

1

Scroll to Top